Logo
  बैशाख ८, २०८१ शनिबार

फक्ताङलुङ्गमा सदन नेता र उपनेता छान्न निर्वाचन (फोटो फिचर)



झापा, ९ जेठ । सामान्यतया राजनैतिक पार्टी र संघसंस्था आदिमा निर्वाचन प्रणालीद्वारा समिति गठन गर्ने देखिन्छ तर झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरस्थित फक्ताङलुङ्ग एजुकेशन फाउन्डेसनमा निर्वाचनमार्फत सदन नेता र उपनेता चयन गरिएको छ ।

सदन नेता र उपनेता चयन गर्न मंगलबार भएको मतदानमा रातो सदनबाट ७१ मतसहित ल्यापटप चुनाव चिन्हकी प्रज्ञा लिम्बू, निलो सदनबाट १५५ मतसहित तारा चुनाव चिन्हकी नामसाङ लिम्बु, पहेंलो सदनबाट १३० मतसहित किताब चुनाव चिन्हका विशाल हेमराम र हरियो सदनबाट ९८ मतसहित घण्टी चुनाव चिन्हका रोशन बोहोरा सदन नेता निर्वाचित भएको निर्वाचन आयुक्त सुवास पौडेलले जानकारी दिए ।

त्यस्तै रातो सदनबाट १०३ मतसहित स्माहल चुनाव चिन्हकी विपेक्षा गजमेर, निलो सदनबाट ९६ मतसहित प्लन चुनाव चिन्हकी आयुष्मा भण्डारी, हरियो सदनबाट ११७ मतसहित फेन चुनाव चिन्हकी आकृति योगहाङ्ग र निलो सदनबाट ११५ मतसहित चावी चुनाव चिन्हकी नयुना चेम्जोङ सदन उपनेता निर्वाचित भएको निर्वाचन आयुक्त पौडेलले बताए ।

उक्त निर्वाचनको केन्द्र `क´ को निर्वाचन अधिकृतमा सुजता राई र केन्द्र `ख´ को निर्वाचन अधिकृतमा योगेश बराल रहेका थिए । कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा २०९ मत खसेकोमा दुई मत बदर भएको सहायक प्रिन्सिपल लक्ष्मी अधिकारीले जानकारी दिए ।

विद्यार्थीहरूमा सैद्धान्तिकका साथ व्यवहारिक शिक्षाका माध्यमबाट चौतर्फी विकास गर्ने उद्देश्यले विद्यालयमा निर्वाचन प्रक्रियाको अभ्यास गराइएको प्रिन्सिपल ओमविक्रम नेम्बाङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस्