Logo
  चैत्र १६, २०८० शुक्रबार

नेपाल-चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल: सापकोटा



काठमाडौँ, १९ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन प्रस्ताव गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वमा चीन पुगेको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँगको भेटमा प्रधानमन्त्री दाहालको सन्देशसहित उक्त प्रस्ताव गरेका हुन् ।

सस्तो ब्याजमा नभई केही आयोजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्रीको सन्देश आफूहरुले चिनियाँ पक्षसँग राखेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपाध्यक्ष सापकोटाले जानकारी दिए । भ्रमण अगाडि आफूले प्रधानमन्त्रीसँग भेट गरेको र कुनकुन विषयमा छलफल गर्ने भनेर परामर्श लिएको उनले बताए ।

“प्रधानमन्त्रीले जुलाई अन्तिम तथा अगष्टमा चीनको भ्रमण हुन्छ भन्नुहोला, बिआरआईअन्तर्गत सस्तो व्याजमा ऋण भनिएको छ, केही योजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुन्छ भन्ने थियो”, उपाध्यक्ष सापकोटाले भने, “मैले प्रधानमन्त्री सन्देश जोड दिएर राखेँ ।”

उक्त सन्देशलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको र राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिन फिङसम्म पुर्याउने विश्वास दिलाएको उपाध्यक्ष सापकोटाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय व्यापारिक नाका निर्वाधरुपमा सञ्चालन गर्ने विषयमा पनि आफूहरुले कुरा राखेको उनको भनाइ छ । “अहिले केही नाका खुलेका छन्, तर तीनलाई व्यवस्थित र सुचारु गर्न बाँकी छ । तातोपानी, केरुङ, कोरला, यारीलगायत नाका सञ्चालन गर्न आग्रह गरेका छौँ”, उनले भने, “उहाँहरु सकारात्मक हुनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस्