Logo
  चैत्र १६, २०८० शुक्रबार

राजनीतिक दलको लेखा परीक्षण प्रतिवेदन जाँच गरिँदै



काठमाडौँ, २० जेठ । राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन् । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न मङ्गलबार पाँच जना विज्ञ कर्मचारीको टुङ्गो लगाएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले महालेखा परीक्षकको कार्यालयले पठाएको कर्मचारीले आइतबारदेखि आयोगमै बसेर काम थाल्ने जानकारी दिए । उनले भने, “विशेषज्ञ कर्मचारीलाई प्रमुख आयुक्त तथा आयुक्तको उपस्थितिमा उहाँहरूले गर्ने कार्यबारे सङ्क्षिप्त जानकारी गराइएको छ । आइतबारदेखि दलले बुझाएको लेखा परीक्षण प्रतिवेदनसहितको अन्य कागजात अध्ययन सुरु गर्ने छन्।”

दलको कागजात अध्ययन र जाँच गर्न आयोग परिसरमै कर्मचारीका लागि कार्यकक्षको व्यवस्थापन गरिएको छ । उनले अध्ययनका क्रममा दलले बुझाएको कागजात पुष्टि गर्ने कागजको सूची तयार गरिने बताए । टोलीले तयार गरेको सूचीका आधारमा आयोगले सम्बन्धित दलसँग कागजात माग्ने छ । आयोगमा दलले बुझाएको लेखा प्रतिवेदन र दलको कार्यालयमा रहेको लेखाको स्रेस्तासँग भिडाएर जाँच्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्