Logo
  चैत्र १५, २०८० बिहीबार

कम्युनिस्टले फुट्न जाने जुट्न जानेन् 



नेकपा एमाले झापाका पुराना लोकप्रिय नेता, साबिक महारानीझोडाका पूर्व गाविस उपाध्यक्ष तथा जिविस झापाका पूर्व सदस्य हुन् मणिन्द्र कार्की । तेह्रथुम जिल्लाको पोखरे–५ मा वि.सं.२०१२ जन्मिएका कार्की झापा गौरादह–६ का स्थायी बासिन्दा हुन् । दश वर्ष शिक्षण पेशासमेत अँगालेका कार्की बामपन्थी भएकै कारण पेशाबाट हटाइए । हाल नेकपा एमाले झापा जिल्ला कमिटीका सल्लाहाकार समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै गरेका कार्कीसँग सञ्चारकर्मी डण्डिराज घिमिरेले गरेको कुराकानी  :

कहिलेबाट राजनीतिमा लाग्नुभयो ?
एसएलसीसम्मको अध्ययन सकेपछि तत्कालीन नेकपा माले अन्तर्गतको विद्यार्थी संगठनबाट वि.सं.२०३२ सालदेखि राजनीतिक जीवनमा प्रवेश गरेको हुँ । विद्यार्थी राजनीति हुँदै पार्टीमा पनि सक्रिय भएँ । २०३८ साल माघ १० गते पार्टीले पार्टी सदस्यता समेत दियो । त्यसबेला झापामा नेपाल कम्युनिस्ट पार्टी मालेको पार्टी सदस्यता प्राप्त गर्ने हामी थोरै संख्यामा थियौँ । 

राजनीति के हो र कसरी आकर्षित हुनुभयो ? 
राजनीति भनेको प्रगतिशील चेतनाका साथ गरिने जनसेवा, समाज सेवा हो । तत्कालीन पञ्चायति शासन व्यवस्था र पञ्चायतका समर्थकहरुले गाउँ समाजमा गरेको ज्यादति र अन्यायको बिरुद्धमा आवाज उठाउँदा क्रमश बामपन्थी कम्युनिस्ट राजनीतितर्फ आकर्षित भइयो । विद्यार्थी राजनीति र पछि पार्टी राजनीतिमा सक्रिय हुँदा विभिन्न प्रशिक्षण तथा कार्यक्रममा कमरेड मदन भण्डारी, अमृत बोहोरा, स्थानीय नेतृत्व कालीदास श्रेष्ठ लगायतका नेताको प्रभावले सक्रियता बढ्यो । फलस्वरुप आजसम्म पनि सक्रिय छु ।

पार्टी सदस्यता प्राप्त गर्नुभएको ३४ वर्षको अन्तरालमा एमाले पार्टीको उपल्लो कुन तहसम्मको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त गर्नुभयो ? 
नेकपा एमाले पार्टी यो देशको जिम्मेवार सिर्जनशील र रचनात्मक क्षमता भएका नेता कार्यकर्ताको गतिशील पार्टी हो । श्रमजीवि जनसमुदायको आसा र भरोसाको पार्टी हो । पार्टी सदस्य भएकाले पार्टीले तोकेका विभिन्न जिम्मेवारीमा रहेर काम गरेँ । म दुई कार्यकाल २०४८ देखि ०५३ सम्म जिल्ला सदस्य भएँ । झापामा ०४६ सालको आन्दोलनको बेला हाम्रो पार्टीको पुरै झापा जिल्ला कमिटी गिरफ्तार पर्यो त्यसबेला कमरेड अमृत बोहोराको अध्यक्षतामा झापामा सात सदस्यीय विशेष जिल्ला कमिटी गठन भयो म त्यो कमिटीमा पनि जिल्ला सदस्य थिएँ । झापाको आन्दोलन त्यसबेला उत्कर्षमा पुर्याउने विशेष जिम्मेवारी त्यो कमिटीलाई थियो ।

तपाईं साबिक महारानीझोडा गाविसको पहिलो निर्वाचित उपाध्यक्ष तथा जिविस झापाको सदस्य समेत हुनुभयो । जनअपेक्षा अनुसारको जिम्मेवारी निर्बाह गर्नुभयो ? 
सीमित स्रोत साधनबाट साबिक महारानीझोडा गाविसलाई आर्थिक, भौतिक, सामाजिक सांस्कृतिक हिसाबले विकास र समृद्धिको पथमा अघि बढाउन हामी पूर्णरुपमा लाग्यौँ । महारानीझोडाबासीले अत्यन्तै अनुभवी र अभिभावकीय भूमिकाका अध्यक्ष स्व. देवीप्रसाद काफ्लेलाई पाएका थियौँ । म उहाँलाई स्मरण गर्न चाहन्छु । पार्टीको निर्देशन र स्थानीय आवश्यकताका प्राथमिकताको पहिचान गरेर हामीले हाम्रो जिम्मेवारी सक्रिताका साथ निर्वाहा गर्यौं । जनताका काम जनताका बीचमा सुख दुःखमा सहभागी भएर उपाध्यक्षको ५ वर्षे कार्यकाल पूरा गरियो । मेरो सामाजिक राजनीतिक जीवनको स्वर्णिम र सफल समयको रुपमा ती दिनहरुलाई स्मरण गर्न चाहन्छु । मैले जिविस झापाको सदस्य समेत भएर एक कार्यकाल काम गर्ने अवसर पनि प्राप्त गरेँ । विकास निर्माणका कार्यमा त्यस बखत हाम्रो पार्टी हस्तक्षेपकारी भुमिका निर्बाह गर्न सफल भएको थियो । पार्टीको नीति कार्यक्रमलाई गाउँ तहसम्म कार्यान्वयन गराउन जस्तैः आफ्नो गाउँ आफैँ बनाउँ र गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी जस्ता कार्यक्रममा स्थानीय तहमा हामी पूर्ण सफल थियौँ । म त्यस बखत हाम्रो पार्टी एमालेका नेता तथा तत्कालीन संसद् केपी ओलीको संसद् प्रतिनिधिको जिम्मेवारीमा समेत थिएँ । 

तपार्इं पार्टीको विभाजन पछि एमाले छाडेर माले पनि हुनुभयो हो ?
म राजनीतिकर्मी, मैले ढाँट्नु छल्नु हुँदैन । म एमाले छाडेर मालेमा गएको होइन, मलाई जबरजस्ती पठाइएको हो । पार्टीभित्र निषेधको राजनीति विकास भइसकेको थियो । त्यो निषेधले मलाई बाध्य बनायो । त्यस बखतका जिल्ला नेतृत्वहरुसँग यस विषयमा थुप्रै बहसहरु गरेँ मैले । उहाँहरुको कारण त्यो परिस्थिति सिर्जना गराइयो । पछि पार्टी भित्रको वातावरण संग्लिए पछि म पार्टी एकीकरण अगाबै पार्टीमा फर्किसकेको थिएँ । 

नेकपा एमाले पार्टी तपार्इंको विचारमा पार्टीको पथ प्रदर्शक सिद्धान्त भित्र छ छैन ?
कम्युनिस्ट पार्टी तुलनात्मक रुपमा अरु भन्दा व्यवस्थित हुनुपर्छ । एमाले पार्टी पथप्रदर्शक सिद्धान्त भित्र अधिकतम रहन प्रयासरत इतिहास बोकेको पार्टी हो । एमाले भित्रको केन्द्रबिन्दु भनेको कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद नै हो । यो व्यावहारिक तथा वैज्ञानिक छ । जबजको सिद्धान्त ठीक छ । यसको कार्यान्वयन र सञ्चालन ठीक ढंगले गर्नु पर्दछ । 

नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी नियाल्नु हुन्छ ? 
नेपालको सन्दर्भमा भन्नु पर्दा कम्युनिस्टहरु बीच फुटको राजनीति छ । कम्युनिष्टहरु नेपालमा एक हुने हो भने यहाँ कम्युनिष्टको एक छत्र शासन सम्भव छ तर बिडम्बना नेपालका कम्युनिस्टले फुट्न मात्र जानेका छन् जुट्न जानेका छैनन् ।

कम्युनिस्टले संसदीय राजनीतिक प्रक्रियामा समर्पित हुन मिल्छ ? एमाले किन चुनाबी घोषणा पत्रमा उल्लेखित शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीबाट पछि हट्यो ?
संसदीय संघर्षको रुपमा सदनलाई अघि बढाउनुपर्छ । जनताबाट अनुमोदन तथा निर्वाचित भएर जनताको पक्षमा काम गर्न संसदीय प्रक्रियालाई बिनासंकोच कार्यनीति बनाएर अघिबढ्नु पर्छ । यसले जनतासँग सम्बन्ध बलियो र जनतालाई बलियो बनाउने छ । संविधान घोषणामा त्रुटी भएको छ । सहमतीय संविधान घोषणाको कारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्रीको एजेण्डा केही समयका लागि थाँति रहेको मात्र हो । एमाले  यसबाट पछि  हटेको भने होइन । एमालेले अबको निर्वाचनमा यसैलाई एउटा मुख्य एजेण्डा बनाएर शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने गरी निर्वाचनमा जान्छ र यो सम्भव र आवश्यक पनि छ । 

तपार्इं नेकपा एमाले झापाको जिल्ला सल्लाहाकार समितिको अध्यक्ष हुनुहुन्छ । सल्लाहाकार अध्यक्षको के भूमिका हुन्छ जिल्ला पार्टीमा ? 
जिल्ला सल्लाहाकार समितिको अध्यक्ष भनेको पार्टीको जिल्ला सचिवालय सदस्यको हैसियतमा तथा भूमिकामा हुने पार्टीको विधानमा उल्लेख छ । जिल्ला पार्टीलाई ठीक ढंगले अगाडि बढाउन आवश्यक परामर्श तथा खबरदारी दुबै भूमिकामा सल्लाहाकार समिति क्रियाशील हुनेछ । समग्रमा पार्टीलाई बलियो बनाउने भूमिकामा सल्लाहाकार समिति अध्यक्षले पुर्याउनुपर्ने योगदानमा म प्रतिबद्ध भएर लागिरहेको छु । झापा पार्टी भित्रका केही अन्तर संघर्षलाई सही ढंगले व्यवस्थापन गराउन र पार्टीलाई उर्जा प्रदान गर्नगराउन मेरो भूमिका रहने छ । 

पछिल्लो केही वर्ष ०६२ सालदेखि यता झापामा तपाईंलाई एमाले पार्टीको कुनै पदीय जिम्मेवारीमा देखिएन कता हराउनु भएको थियो ? 
बिगत १० वर्ष ०६२ सालदेखि ०७२ सम्म म झापामा थिइन । जिविकोपार्जनको लागि आर्थिक क्रियाकलापमा संलग्न हुने शिलशिलामा म परिवार सहित काठमाडौँ गएँ । त्यहाँ सामान्य पार्टी सम्पर्कमा बसेर घुम्तिमा सानो खुद्रा व्यवसाय गरेर बसेँ । आर्थिक कठिनाइको कारण पछिल्ला वर्षहरुमा राजनीतिमा चाहेर पनि सक्रिय हुन सकिन । मेरो जीवनको सबैभन्दा दुःख लाग्ने र गुमाएको त्यो १० वर्ष सम्झदा पनि ज्यादै नमीठो लाग्छ । अहिले झापा फर्किएर पुन सामाजिक राजनीतिक गतिविधिमा सक्रिय छु । 

गाविस र जिविसको जिम्मेवारी सम्हाल्नु भयो । पार्टी सरकारमा छँदा गृहमन्त्रीको संसद् प्रतिनिधि पनि हुनुभयो तर पनि आर्थिक कठिनाई किन ? कमाउन मन नगरेर हो ? 
निष्ठाको र आदर्शको राजनीतिलाई स्थापित गर्नुपर्छ भनेर समाज सेवाको क्षेत्रमा निरन्तर लागेर समाजमा आफूले पुर्याएको योगदानामा म गौरव गर्छु । राजनीति पेशा होइन पैसा कमाउनलाई, यो त विशुद्ध सेवा मात्र हो । पदीय अख्तियारको दुरुपयोग गरेर अकुत सम्पति कमाउने थुप्रै छन्÷ होलान् । तर, तिनीहरु समाज र राष्ट्रका दुष्मन हुन् । राजनीति गर्नेहरु सधैँ समाज र जनता तथा देशको सारथी भएर बाँच्न सक्नुपर्छ । मैले कहिले पनि राजनीतिक पहुँचको आधारमा नीजि, पारिवारिक अर्थिक लाभ लिने चाहाना गरिन । आर्थिक रुपमा ज्यादै कठिन जीवन बाँच्दा पनि बरु पान घुम्ती पसल गरेर परिवार चलाएँ तर गलत तरिकाले सम्पति आर्जनमा लागिन । राजनीतिलाई ढाल बनाएर कमाउ धन्दामा लाग्नेबाट पार्टी जोगाउन चुनौतीपूर्ण बन्दै गएको छ । राजनीति भनेको इमान्दारिता हो ।

ओली नेतृत्वको सरकार विगठन र वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई कसरी तुलना गर्नुहुन्छ ?
बामपन्थी एकताको ओली नेतृत्वको सरकार २०७४ सम्म जानसकेको भए थुप्रै उपलब्धिहरु श्रमजीवि जनताको पक्षमा हासिल हुने थिए । किन विगठन हुनपुग्यो सम्बन्धित पक्षहरु सचेत र चनाखो हुनुपर्दथ्यो । सहमतीय सरकारका सबैले सर्त तथा सम्झौता इमान्दारिताका साथा कार्यान्वयन गर्नु पर्दथ्यो । एमालेको ओली नेतृत्वको सरकारले गम्भीर चुनौतीहरु सामना गर्दै लोकप्रिय भयो । जनताको प्यारो बन्यो । प्रचण्ड नेतृत्वको सरकार पनि जनताको पक्षमा राष्ट्रियताको पक्षमा काम गर्न सफल बनोस् । तुलना गर्ने समय अएपछि गरौँला ।
 

प्रतिक्रिया दिनुहोस्