Logo

मेरो लक्ष्य मेयर मात्रै होईनः गगन पूरी



जेठ ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि बिभिन्न दलहरुले उम्मेद्वारी घोषणा गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । झापाको दमकमा भने मेयर पदका लागि सवै भन्दा अघि उम्मेद्वारी घोषणा गरेका रेवतराज पूरी गगन अहिले चुनावी प्रचारलाई तिव्र पार्ने कसरतमा छन् । अन्य दलहरुले उम्मेद्वारी घोषणमा ढिलाई गरे पनि उनले भने तुल, झण्डा, व्यानर सहित प्रचारलाई आक्रामक बनाएका छन् । ३८ वर्षिय पूरीले २०५२ सालमा नेकपा मशालबाट राजनीति शुरु गरेका हुन् भने हाल माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा क्षेत्रीय ईन्चार्जको रुपमा जिम्मेवारी सम्हालि रहेका छन् । राजनीतिक परिवर्तनका आन्दोलनमा ६ पटक पक्राउ परि सकेका उनी अब भने राजनीतिक भन्दा आर्थिक विकासका मुद्धा लिएर चुनावी मैदानमा आएको बताउँछन् । प्रस्तुत छ, पुरीसँग दमकमा मेयरको उम्मेद्वारी तथा चुनावी एजेण्डाका बिषयमा गरिएको कुराकानी ः  

दमकमा मेयरका लागि उम्मेद्वारी किन ?
छोटकरीमा भन्ने हो भने दमकको दिर्घकालि विकास र दमकलाई देशकै नमूना सहर बनाउनका लागि मेरो उम्मेद्वारी हो । यो लक्ष्य प्राप्तिका लागि केहि मेरा योजना पनि छन् । दमकमा विकास प्रति नागरिकको जुन उत्साह छ त्यसलाई समेटेर आन्तरीक श्रोत परिचालन गरि भ्रष्टार शुन्य रहित ढंगबाट गुणस्तरीय विकास निर्माण कार्य गरिने छ । यस्तै केन्द्रिय निकायबाट पहल गरि ठुला ठुला परियोजना र योजनाहरु सञ्चालन गरिने छ । यति दवा छ कि, केन्द्रिय पहुँचबाट अरु कुनै पनि मेयरले ल्याउन नसकेको बजेट म ल्याउने छु । हरेक मन्त्रालय र विकासे संस्थाहरुमा झापाका समकालिन कुनै पनि नेताहरुमा मेरो जतिको पहुँच छैन । त्यस कारण पनि केन्द्रि बजेट उच्च अंकमा ल्याउन सकिने अवस्था रहन्छ । यस्तै आन्तरीक श्रोत र केन्द्रिय बजेटले मात्र दमकको बृहतर विकास सम्भव छैन । त्यसैले बेईजीङ्, टोकियो, नयाँदिल्लि, वासिङ्टन लगायतका विश्वका समृद्ध सहरहरुसँग भगिनी सम्बन्ध (मितेरी साईनो) स्थापित गरिने छ र त्यहाँको श्रोत साधन तथा प्रविधि समेत परिचालन गरि दमकलाई अन्तर्राष्ट्रिय स्तरको सहर बनाईने छ । अर्को महत्वपूर्ण कुरा भने संसार भरि छरिएका दमकेलीहरुलाई समेटेर बृहत सम्मेलन मार्फत दमक विकास मञ्च गठन गरिने छ र त्यस मार्फत समेत दमकको बृहतर विकासका योजना सञ्चालनका लागि मेरो उम्मेद्वारी हो ।

तपाईलाई विश्वासको आधार के त ?
हो मैले आज सम्म कुनै ठुलो सामाजीक जिम्मेवारी लिएको छैन । तर मेरा कामनै मेरा विश्वासका आधार हुन् । कलिलै उमेरमा पनि मैले झापाका लागि अर्बको हाराहारीमा बजेट ल्याई सकेको छु । दमक रवि सडकमा करिव ५० करोड रुपैयाँ ल्याएर काम अन्तिम चरणमा पुगेको छ । २०६७ सालमा गिरिजाप्रसाद कोईराला र बालकृष्ण खाँड मार्फत रतुवा र मावाको कटान नियन्त्रणका लागि जनताको तटबन्धन कार्यक्रम ल्याएँ । शुरुवात बजेटनै ४ करोड रहेकोमा हाल सम्म करोडौं खर्च भईसक्यो । दमक मधुमल्ला जोड्ने र दमक आमबारीमा मावा खोलामा पक्कि पुल, दमकको नयाँ सब्जि बजार, बसपार्क मेरै पहलमा आएको हो । विकासका लागि बजेट ल्याउन मलाई जुन सुकै पार्टीको सरकार आए पनि समस्या पर्दैन । यो कुरा घाम जस्तै छर्लङ्ग छ । अर्को कुरा मेरो लक्ष्य मेयर मात्रै होईन । ५ वर्ष पछि दमकबासीहरुसँगै मैले सांसदको भोट माग्नु छ । त्यसले गर्दा पनि मैले बोलेका र प्रतिवद्धता जनाएका सवै योजना तोकिएकै समयमा पूरा गरि सवैको मन जित्नु छ । म युवा हुनुको नाताले, अन्य उम्मेद्वार भन्दा कान्छो हुनुको नाताले पनि मैले मुन्टाले टेकेर भए पनि प्रतिवद्धता पूरा गर्नु छ । मेरो जीतको आधार यिनै हुन् ।

तपाईले भनेका योजना त, हाम्रो पहलमा आएका हुन् भनेर अरु नेता र पार्टीको दावि छ नि ?
त्यो त स्थानीय स्तरमा गएका त्यहाँका जनतालाई सोधे हुन्छ । कसले कसको पहलमा योजना ल्याएको हो थाह भई हाल्छ नि ।

मेयरमा निर्वाचित हुनु भयो भने, के के छन् कार्यक्रम ?
कार्यक्रमहरुको सुची त लामो छ । तर खास खास केहि भन्ने हो भने निर्माणाधिन दमक रवि सडक २ वर्ष भित्रमा कालोपत्रे सहित पूरा गरि भारतको फत्तेपुर देखि चीनको घाङ्ला जोड्ने त्रिदेशिय रणनीतिक सडकको रुपमा स्थापित गरिने छ । सडककै माध्यमबाट दमकलाई विकास, पर्यटन तथा पर्यटनको ट्रान्जिट क्षेत्रको रुपमा विकास गरिने छ । १ वर्ष भित्रमा नगर भित्रका भुमिहिनहरुको समस्या समाधान गरिने छ । ५ वर्ष भित्रमा रतुवा र मावालाई तटबन्धन गरि बाहिरी चक्रपथको रुपमा विकास गरि ग्रीनबेल्ट सहितको कालोपत्रे निर्माण गरि यातायात सञ्चालन गरिने छ । अहिले ८ सय मिटर सम्म फैलिएर कटान गरि रहेको रतुवा र मावालाई ३ सय मिटरमा सिमित पारिने छ । तटबन्धन गरि निस्किएको जमिनमा औद्योगीक पार्क, चिल्ड्रेन पार्क लगायतका मनोरम स्थलको रुपमा विकास गरिने छ । विद्युतीकरणलाई अण्डरग्राउड बनाईने छ । बन्द निषेधीत सहर कार्यान्वयन गर्न आफँै लागि पर्ने छु । बृद्धभत्तालाई नगरको तर्फबाट १ हजार थप गरि घर घरमा पु¥याईने छ । यस्तै जन्म र मृत्यु दर्तालाई घरैबाट गर्न सकिने व्यवस्था मिलाईने छ ।

जित्नु भएन भने चाँहि के गर्नु हुन्छ ?
मैले मेयरको उम्मेद्वारी खोजेको मात्रै होईन, दमकलेनै मलाई खोजेको छ । त्यसैले म जीत प्रति ढुक्क छु । तर कुरा के हो भने, पार्टी मात्रै होईन व्यक्ति पनि हेरेर, जाती–पार्टी–नाता, सिद्धान्त, दर्शन नहेरि सक्षम, योग्य, क्षमतावान व्यक्तिलाई यो स्थानीय तहको चुनावमा भोट हाल्न जरुरी हुन्छ । नगरबासीसँग मेरो यहि अपिल छ । राजनीतिक क्रान्तिको चरण करिव सकियो, अब आर्थिक र विकासको क्रान्ति शुरु गर्नु छ । जहाँ सम्म हार जितको कुरा छ, माओवादी केन्द्र वा म गगन पुरीले हार्दा केहि हुँदैन । तर दमकले हार्नु हुँदैन, दमकको विकासले हार्नु हुँदैन । यो चुनावा भनेको त अबको ५० वर्ष सम्मको भाग्य निर्धारणको कुरा हो । त्यसैले सवैले पाईला मिलाउँ, सुर मिलाउँ, ७५ हजार नागरिकको विकास र समृद्धीको सपना मिलाउँ । हाम्रोलाई होईन, राम्रोलाई जिताउँ ।

प्रतिक्रिया दिनुहोस्