क्यान सचिवमा पूर्वकप्तान खड्का निर्वाचित
काठमाडौँ, ६ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्का विजयी भएका हुन् ।
क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित भएका हुन् । उनी क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुन् । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गरेका छन् ।
निर्वाचित सचिव पारसले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने विचार व्यक्त गरेका थिए । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उनको भनाइ छ ।
त्यस्तै क्यानको अध्यक्षमा चतुरबहादुर चन्द पुन: अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदम खड्का निर्विरोध निर्वाचित भएका छन्।
महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन् भने सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी पनि सर्वसम्मत चयन भएका छन् ।
अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक-एक जना सदस्य र खुला पाँच सदस्यका लागि पनि चुनाव भएको थियो । त्यसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । मधेस प्रदेशबाट माधवकुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोलाप्रथाबाट माधवकुमार कर्माचार्य विजयी भएका छन् ।
त्यस्तै गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी भए भने बागमतीमा दिवाकर घले ४६ मत ल्याएर विजयी भए । सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी भएका छन् । खुला सदस्यमा धीरेन्द्र साउद ५९ र दुर्गाराज पाठक ५४ ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै आयुष श्रेष्ठले ५१ मत प्राप्त गरे, वीरेन्द्र चन्द ३४ मत ल्याएर विजयी भए भने करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत प्राप्त गरेपछि गोलाप्रथा गर्दा महतरा विजयी भएका छन् ।
पाँच प्रदेशबाट चयन हुने एक-एक सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको थियो । खुलातर्फका पाँच जनाका लागि १३ को उम्मेदवारी परेको थियो ।