काठमाडौँ महानगरले अभियन्ता ‘ई:’ सँग तत्काल वार्ता गर्नुपर्छ: थापा
काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्ने बताएका छन् ।
काठमाडौँ महानगरमा फुटपाथ व्यवसायीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ई: ले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै महामन्त्री थापाले शान्तिपूर्णरूपमा उठाइएका विषयलाई महानगरले महत्त्वका साथ सुन्नुपर्ने बताएका हुन् ।
उनले सहरको अन्य आवागमनलाई असर नपर्ने गरी फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न सकिने ठाउँहरू रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्णरूपमा उठाइएका विषयलाई त अझ महत्त्वका साथ सुन्नुपर्छ । ई: लगायत साथीहरूले उठाएको मूलत: फुटपाथ व्यवसायी ‘Street Vendors’ को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन् । सँगै बसेर कुरा गरेपछि, एकअर्काको मत-दृष्टिकोण सुनेपछि/बुझेपछि एउटा उपाय निस्कन्छ नै ।
महामन्त्री थापाले काठमाडौँ महानगरले सामाजिक अभियन्ता ईः सँग तत्काल वार्ता गर्नुपर्ने पनि बताए । उनले अभियन्ता ईस् लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको पनि बताएका हुन् ।