Logo
  मंसिर १३, २०८० बुधबार

सङ्घीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ: खड्का



कर्णाली, १० असोज । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् ।

आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुन बनाउन ढिलाइ हुँदा नागरिकले सङ्घीयताको अनुभूती गर्न नपाएको भन्दै सङ्घीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएका हुन् ।

उनले सङ्घीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले निजामति र प्रहरीसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी गरिरहेको बताएका छन् ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरी काम गरिरहेको बताए । उनले केही दिनभित्रै सुशासनसम्बन्धी कार्यक्रम घोषणा गर्न लागिएको पनि जानकारी दिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठन्धन दलको सहमतिमै चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा कार्यान्वयनका लागि सहमति जनाएको बताए । “चीनसँग भएका सहमति र सम्झौता देश हितमा छन्”, उनले भने, “गठबन्धनकै सहमतिमै प्रधानमन्त्रीले सम्झौता गर्नुभएको हो ।”

उनले विकास-निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चन हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढेको बताए । “सडकलगायतका पूर्वाधार बनाउन बनको जग्गा उपभोगमा ठूलो समस्या देखिएको छ”, उनले भने, “त्यसलाई हटाउनका लागि केही नेपाल ऐन संशोधनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौं ।”

प्रतिक्रिया दिनुहोस्