Logo
  मंसिर १३, २०८० बुधबार

भूकम्पबाट जोगिएका ११ जनाको चिसोले लियो ज्यान



जाजरकोट, ४ मंसिर । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन् । कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो । बितेको १० दिनमा जाजरकोटमै ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गयो । कारण हो, चिसोको बास । भूकम्पका कारण घरमा क्षति पुगेपछि हजारौं जाजरकोटवासी त्रिपालमा बस्दै आएका छन् ।

ज्यान गुमाउनेमा बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह नलगाड नगरपालिका–४ का ७७ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलले ज्यान गुमाएका छन् । चार जना दम रोगी हुन् । भने ४८ वर्षीया फोक्सोको दीर्घरोगी हुन् ।

यस्तै बारेकोट गाउँपालिका–१, बयालाका ६० कर्णवीर विक, बारेकोट–६, ताँसीका ५५ वर्षीय वीरबहादुर विक र जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपालीको पनि निधन भएको छ । सुगली दमरोगी हुन् भने ६० वर्षीय र ५५ वर्षीय विकको ज्यान पखाला लागेर गएको हो ।

चिसोका कारण छेडागाड नगरपालिका–१३, थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी–४ का ५२ वर्षीय केशव भडेल र नलगाड–८, टापुकी ७० वर्षीया विष्णुकुमारी खत्रीको पनि ज्यान गएको छ ।

दमरोगी कामी र कलेजोको सिरोसिस बिरामी भडेल चिसोले मृत्यु भएको बताइएको छ । भूकम्पबाट घाइते खत्रीको आइतबार निधन भएको हो । उनको स्थानीय मेडिकलमा औषधि गराइएको थियो । खत्रीलाई आइतबार उपचारमा लिने तयारी गर्दैगर्दा मृत्यु भएको वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए ।

गत कात्तिक २४ देखि हालसम्म उनीहरूको मृत्यु भएको सम्बन्धित स्थानीय तहले जानकारी दिएका छन् । भूकम्पपछि त्रिपालमुनिको बसाइँले गर्दा दीर्घरोगी र वृद्धवृद्धाको निधन भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्