माल्दिभ्सले आफ्नो देशमा रहेका भारतीय सेना फिर्ता पठाउने प्रक्रिया थाल्यो
फाइल तस्बिर
माल्दिभ्स, ४ मङ्सिर । माल्दिभ्सका एक वरिष्ठ अधिकारीले भारतीय सैनिकलाई फर्काउने प्रक्रिया सुरु भएको बताएका छन् ।
माल्दिभ्समाा ७७ जना भारतीय सैनिक रहेको अनुमान छ । गएको सेप्टेम्बरमा चुनाव जितेका माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारतलाई आफ्नो सेना फिर्ता गर्न औपचारिकरूपमा आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा माल्दिभ्सको राष्ट्रपति कार्यालयका सार्वजनिक नीतिका उपसचिव मोहम्मद फिरोजुल अब्दुल खलिलले नयाँ सरकारले ७७ जना भारतीय सेना रहेको पत्ता लगाएको बताउँदै सबैलाई भारत फर्काउने बारे प्रक्रिया सुरु भएको बताएका हुन् ।
भारतले सहयोग दिएका हेलिकप्टर र विमानको व्यवस्थापन र मर्मतको नाममा उसका सेना माल्दिभ्समा रहँदै आएका छन् । माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतका लागि रणनीतिकरूपमा महत्त्वपूर्ण देश हो । तर अब माल्दिभ्सले कुनै पनि भारतीय थिचोमिचो नमान्ने चेतावनी दिइसकेको छ । भारतका लागि यो ठूलो झड्का हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।