Logo

एकताका लागि दुबै माओवादी नजिक




तिर्थराज खरेल
नेपालका कम्युनिष्ट पार्टी एक दर्जन बढी टुक्रामा विभक्त छन् । विविध तीखा शब्दका बाणले आक्रमण गरेर आफ्नै कम्युनिष्ट पार्टीभित्रका सदस्यलाई पार्टी विभाजन गर्नुपर्ने अवस्थासम्म पु¥याउँछन् । कम्युनिष्ट पार्टीको सम्बन्धमा विभाजन र बिग्रहको समाचार सुनिन अनौठो होइन । तर त्यसको ठीक उल्टो नेपालमा अहिले एकातिर कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्छ भन्ने बहस शुरु भएको छ । अर्कातिर एकीकृत नेकपा(माओवादी) र नेकपा (माओवादीकाबीच कार्यगत एकता र अन्तमा पार्टी एकता गर्नुपर्ने दुबै पार्टीका शीर्षस्थ नेताहरुको केही दिन यताका अभिव्यक्तिबाट प्रष्ट हुन्छ । केही दिन पहिले माओवादीका अध्यक्ष मोहन बैद्यले एक सार्वजनिक कार्यक्रममा दुई माओवादीबीच एकताका लागि एजेण्डा बनाएर छलफल शुरु गर्नुपर्ने बताएका थिए भने एमाओवादी अध्यक्ष प्रचण्डले पनि माओवादीसँग एकताका लागि इमान्दारपूर्वक छलफल भइरहेको बताएका थिए । हुन त नेपालका पार्टीहरुमा बोल्ने एउटा र गर्ने अर्कै प्रवृत्ति पनि छ । दुवै माओवादीले एकताको हल्ला फिँजाएर एकताको पक्षमा रहेका कार्यकर्ता र जनतालाई भ्रमित पार्न खोजेको पनि हुनसक्छ । विचार र कार्यदिशाको एजेण्डामाथि छलफल गरी एकताबद्ध रुपमा माओवादी शक्ति अघि बढ्नुपर्ने समयको माग भएको बैद्यको भनाइ छ । कतिपय माओवादी र एमाओवादीका नेताहरु दुई पार्टीवीचको एकतालाई कसैले रोक्न सक्दैन सम्मका अभिव्यक्ति समेत दिइरहेका छन् । एमाओवादीले हेटौडा महाधिवेशनभन्दा अघि बढेर पालुङटार प्लेनमको लाइनलाई लिँदै आजसम्म भइरहेका गतिविधिप्रति आत्मालोचित हुने हो भने र विचार तथा सिद्धान्त मिले मात्र एकता सम्भव हुने माओवादीको स्पष्ट धारणा रहेको उक्त पार्टीका नेतृत्वबाट पटकपटक अभिव्यक्त भइरहेको छ । दुवै माओवादीमाथि डण्डा बर्साउन शुरु भइसकेकाले गम्भीर बनेर एकताको पहल गर्न आवश्यक रहेको बैद्यको भनाइबाट माओवादीमाथि विपक्षी सत्ताधारीबाट निकट भविष्यमा संकट आउनसक्ने अनुमान लगाउन सकिन्छ । प्रचण्डले पनि नचाहँदा नचाहँदै दुई माओवादीबीचमा विभाजन आएको र जनता विभाजनको पक्षमा नरहेकोे स्वीकारेका छन् । एमाओवादीले जनयुद्ध शुरु गर्दाका अडानहरुलाई लत्याएर क्रान्तिविरोधी कित्तामा उभिन थालेकाले सम्बन्ध बिच्छेद गरी क्रान्तिका रक्षा खातिर पार्टी विभाजन भएको माओवादीको ठम्याइ थियो विभाजन ताका । नेकपा–माओवादी क्रान्तिको रक्षाको नाममा १० वर्षे जनयुद्धको विरासतबाटै जन्मेको पार्टी हो । क्रान्तिका लोभलाग्दा नाराहरु लिएर अघि बढेको यो पार्टीको चिन्तन र कार्यशैली पनि जनयुद्धको ह्याङ्ओभरबाट प्रभावित छ । दर्जनौं तर्कहरु र सैद्धान्तिक अडानसहित क्रान्तिको रक्षा गर्ने पवित्र उद्देश्यको नाममा उसले आफ्ना उग्र गतिविधिहरु सञ्चालन गरिरहेछ, यो कुराले अन्ततः जनयुद्धको पुनरावृत्तितर्फ इंगित गर्दछ ।ं युद्ध त आवश्यक हुन्छ, तर इतिहासमा सधैं युद्ध हुँदैन । क्रान्तिको रक्षाको नाममा पुस्तकपन्थी पवित्रताको वकालतले अब काम लाग्दैन । फेरि त्यही बाटोमा हिंडेर क्रान्ति पूरा हुन्छ भनेर मान्नु नै गलत हो । जनयुद्ध र जनान्दोलनका शहीद र उनीहरुका परिवारको लागि केही गर्न नसकिरहेको अवस्थामा क्रान्तिका नाममा बन्दूक पड्काएर फेरि एउटा लामो शहीदको सूची बनाउनु क्रान्ति होइन । हो, अर्थवाद र ट्रेड युनियनवाद विरुद्ध लड्नुपर्छ, तर आफैंले सञ्चालन गरेका पेचिला संघर्ष र युद्धबाट प्राप्त उपलब्धीलाई नजर अन्दाज गरेर देश र जनताको विनाशको बाटोमा लाग्नु फेरि अर्को भुल हुन्छ । के ग¥यौं मात्र होइन, एक्काइसौं शताब्दीको आवश्यकता अनुरुप अब के गर्ने भन्ने मुख्य कुरा हो ।
२०६२÷६३ सालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको मूलभावसहितको परिवर्तन दश वर्षे जनयुद्धको जगमा सञ्चालित संयुक्त जनान्दोलनबाट सम्भव भएको थियो । जनताको आम बुझाइ भनेको यो परिवर्तनका लागि तत्कालीन माओवादीको भित्री हात थियो । रक्तमुच्छेल दश वर्षे जनयुद्धको उपलब्धीको लेखाजोखा हुन गर्न नसकी वा गर्न नचाहेकै कारणले आजको अप्ठेरो परिस्थिति आएको हो एमाओवादीका लागि । पन्ध्रौं हजार शहीदहरुको बलिदान, हजारौंको बेपत्तास्थिति र गोलीका छर्रा बोकेका घाइते अपाङ्ग र लाखौं नेपालीहरुको त्याग तपस्याबाट प्राप्त आजको उपलब्धीको समाप्ति हुने बाटोमा लागिरहेको यथार्थलाई एमाओवादी बुझ्न सकिरहेको छैन ।
संसारमा कम्युनिष्टप्रतिको विश्वास उड्दै गएको आजको परिवेशमा जनताबाट अलग्गिएर पार्टी संगठन बनाउने हो र जनताका दैनिक दुःखकष्टबाट निष्पृह रहेर क्रियाकलाप सञ्चालन गर्ने हो भने कम्युनिष्टहरु स्थापित हुन सक्दैनन् जनताका माझमा । समाज बद्लिएको छ, तर माओवादी लगायतका कम्युनिष्ट पार्टीका आधारभूत कार्यक्रम, शैली र ढाँचा उही छ । मध्यम तथा निम्न वर्गीय जनताको अपेक्षा अनुरुप काम गर्न नसक्ने हो भने अबको जमानामा टिक्न गा¥हो छ । गएको संविधानसभाको चुनावमा एमाओवादीले अप्रत्याशित हार सहनुपरेको थियो भने भारतमा हालै सम्पन्न लोकसभाको चुनावमा जम्मा ११ सिट मात्र विजय हासिल गरेका छन् कम्युनिष्ट पार्टीहरुले । सन् २००४मा भारतमा कम्युनिष्ट पार्टीहरुले ४३ र सन् २००९ को आमनिर्वाचनमा २० सिटमा जित हासिल गरेका थिए । सैद्धान्तिक शुद्धतामा पूरा विश्वास गर्ने, पार्टीभित्रको फरक मतलाई नसहने र पुरानै ढाँचा र ढर्राबाट क्रान्ति सम्पन्न गर्ने कार्यदिशा पक्डेर अघि बढ्न मुस्किल छ नेपाल र भारतका कम्युनिष्टका लागि । आफ्ना कमीकम्जोरीलाई आत्मसात गरी जनताको वीचमा गई काम नगर्ने हो भने वर्षौंवर्षसम्म वामपन्थी र कम्युनिष्टहरुले नेपालमा धक्का खान्छन् ।
साँचो अर्थको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनताको महान संघर्षबाट प्राप्त परिवर्तनको महशुस हरेक गाउँबस्ती र बुकुराहरुसम्म पु¥याउन एकीकृत माओवादी र नेकपा–माओवादीले एकीकरण गर्न आवश्यक छ । चिनियाँ नेता माओले भने झैं आफ्नो टाउकोमा आफैं आगो झोस्न आवश्यक छ र आवश्यक छ क्रान्तिका रंगीन र मीठा सपना साँचेर आशै–आशमा बाँचिरहेका नेपाली जनतालाई जीवनका वास्तविक  सुनौला विपनाहरु भोग्न अभिप्रेरित गर्न । क्रान्तिका सपना बाँडेर क्रान्ति पुरा हुँदैन । दाम्रिएको पेट र चाउरिएको गाला लिएर कतिञ्जेल जनताले कम्युनिष्टतर्फ आशालु नजरले हेरिरहनु ? बन्दूक पड्काएर र क्रान्तिको कोर्स पूरा नभएको भन्दै उग्रता र हतियारमा मात्र क्रान्ति देख्नुभन्दा ठूलो अति अरु केही हुँदैन । दुवै माओवादीले जनताको भाषा बुझेर आफ्नो बाटो बदल्ने र क्रान्तिको गाथा बिरानो बन्दै गएको आजको अवस्थामा अभाव, अन्याय र विविध प्रकारका विभेदमा बाँच्न बाध्य भइरहेका नेपाली जनताका आशा र अपेक्षाहरुलाई सम्बोधन गर्न क्रान्तिका पक्षधर सबै शक्तिलाई समेटेर अगाडि जान सक्ने हो भने माओवादीहरुले नेपालमा अझै केही गर्न सक्छन् । आफ्ना कमजोरीप्रति निर्मम बन्न सक्ने हो भने र वीरतापूर्ण सशस्त्र संघर्षको तुफानी ज्वारभाटाबाट गुज्रेको फेरि स्मरण गर्ने हो भने माओवादीहरुले केही गर्न सक्ने अझै परिस्थिति छ । मुलुकका सामु उभिएका विराट चुनौति र महान् सम्भावनाको बारेमा दुवै माओवादीले घोत्लिनु आवश्यक छ र आफ्नो अस्तित्व रक्षाका लागि एकताको प्रक्रियामा जानैपर्छ । बाह्य र आन्तरिक दुवै चुनौतिको चौघेरामा थुनिएका माओवादीहरुसँग मात्र दुईटा विकल्प छन्– परिवर्तन वा क्रान्तिको लागि उभिने अथवा प्रतिक्रान्तिको भेलमा मिसिने ।  एमाओवादीभित्र झाँगिदै गएका क्रान्ति विरोधी प्रवृत्तिहरु अति नै आत्मध्वंशक छन् र तिनीहरुले यथास्थितिवाद र पश्चगमनका सांग्लाले बाँधेर जकडेर राख्छन् भन्ने कुरा एमाओवादीले बुझेमा र माओवादीले पनि समय सापेक्ष क्रान्तिकारी बिचारलाई आत्मसात गर्ने हो भने दुबै पार्टीको एकता सम्भव छ  । अहंकार र घमण्ड त्यागेर जनतासँग घुलमिल हुन जरुरी छ माओवादीहरुले । कम्युनिष्टहरु जनतासँग एकाकार हुँदैनन् भने जनताका लागि क्रान्ति कसरी हुन्छ ? सबै प्रकारका पक्षपात त्यागेर आलोचना र आत्मालोचनाको लोकतान्त्रिक विधि अवलम्बन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक लगायतका नेपाली समाजमा रहेका विभेदलाई सदाका लागि अन्त्य गर्न माओवादीहरु लागेमा मुलुकले निकास पाउन सक्छ । माओवादीहरुले पनि जडसूत्रवादलाई त्यागेर माक्र्सवादको सारतत्वलाई नेपाली माटोमा युगसापेक्ष रुपमा प्रयोग गर्न आवश्यक छ ।
फराकिलो छाती गरेर क्रान्तिका पक्षधर सबै शक्तिलाई गोलबन्द गरेर अघि जाने हो, सशस्त्र क्रान्तिबाट आएको परिवर्तनप्रतिको स्पीरिटलाई नछोडी आफूभित्रका अहम् र घमण्डलाई सन्तुलनमा राख्ने हो र जडसूत्रवादलाई त्यागेर माक्र्सवादको सारतत्वलाई नेपाली माटोमा युगसापेक्ष रुपमा प्रयोग गर्न आवश्यक छ भनेर बुझ्ने हो भने माओवादीहरुप्रतिको नेपाली जनताको आशा र अपेक्षा अझै बढेर जान्छ ।
[email protected]

प्रतिक्रिया दिनुहोस्