Logo
  मंसिर १९, २०७८ आईतबार

समाजवादी क्रान्तिको कार्यदिशा



रमेश गुरागाईँ
सुगौली सन्धीदेखि नै नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक थियो । नेपालका सबै आन्दोलनको उच्च संश्लेषणको रुपमा पटाक्षेप भएको दश वर्षे महान जनयुद्धको जग र उन्नाइस दिने ऐतिहासिक जनआन्दोलनको आडमा भएको परिवर्तनसँगै नेपाली समाजको उपरी संरचनामा महत्वपूर्ण परिवर्तन भएका छन् । लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, संघीयताको घोषणा, धर्मनिरपेक्षता वा धार्मिक स्वतन्त्रता, समावेशी र समानुपातिक प्रतिनिधित्व सहितका परिवर्तन क्रान्तिकारी उपलब्धी हुन् ।
नयाँ जनवादी क्रान्तिको क्रममा सामन्तवादको राजनीतिक नेतृत्व संस्था राजतन्त्रको अन्त्य एक गुणात्मक परिवर्तन हो । नेपालको गणतान्त्रिक आन्दोलन मूलतः कम्युनिस्ट (माओवादी) आन्दोलन हो । उत्पीडित जाति र क्षेत्रका जनताको राष्ट्रिय मुक्तिको लडाइँ अघि बढिरहेको स्थितिमा आत्मनिर्णयको अधिकारको सैद्धान्तिक मान्यता र स्वायत्त प्रदेशसहितको संघीयताको घोषणाले गुणात्मक परिवर्तन व्यक्त गरेको छ । महिला, दलित र मुस्लिमका लागि विशेषाधिकार र समानुपातिक प्रतिनिधित्वको स्वीकारोक्ति आफैंमा क्रान्तिकारी परिवर्तन हुन् ।
अहिले कच्चा पदार्थ उद्योग (कृषि) उद्योगका विभिन्न शाखाबाट अलग्गिँदै गएको छ । अर्थतन्त्रका विभिन्न शाखाहरु छुट्टिने क्रम बढ्दो छ । जनसंख्याको ठूलो हिस्सा कृषिबाट अलग्गिँदै औद्योगिक र सेवा व्यवसायको क्षेत्रमा प्रवेश गरिरहेको छ । कृषिमा पनि व्यवसायीकरण र व्यापारीकरण वा पुँजीवादीकरण बढ्दो छ । कृषिमा जोनिङ प्रणाली लागू हुने सम्भावना देखापरेको छ । ठूला भूमिपति, धनी किसान, उच्च मध्यम किसान र सुदखोरहरु व्यवसायिक खेती मार्फत् पुँजीपतिवर्गमा र गरिब वा भूमिहीन किसान श्रमशक्तिको बिक्रीमार्फत् श्रमशक्तिको बिक्रीमार्फत् मजदुरवर्गमा रुपान्तरण हुँदैछन् ।
अतः स्पष्ट छ कि उपरोक्त राजनीतिक तथा आर्थिक विकाससँगै नेपाली समाजको आधार र उपरी संरचनामा यथेष्ट परिवर्तन भएको छ । त्यसैले अहिले पनि देश हिजोकै जस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नै छ भन्ने कुरा युगान्तकारी परिवर्तनलाई नदेख्ने र नबुझ्ने यान्त्रिक वा मनोगत सोच मात्र हुनेछ । वास्तवमा आज एकातिर सामन्ती अवशेष सहितको दलाल तथा नोकरशाही पुँजीवादी शक्ति र अर्कोतिर नयाँ जनवादी क्रान्तिबाट बलियो बन्दै गएको क्रान्तिकारी शक्ति आमनेसामने भएका छन् । यसकारण समाजको चरित्र अर्धसामन्तवादबाट पुँजीवादउन्मुख भएको छ । त्यसैगरी, बाह्य र आन्तरिक हस्तक्षेप विरुद्ध राष्ट्रिय शक्तिको संघर्ष चर्को बन्दै गएको छ र यो स्वाधीनताउन्मुख छ । साम्राज्यवाद भूगोल र कच्चा पदार्थको कब्जा गर्न नसकी पुँजीको प्रवाहबाट आफ्नो नियन्त्रण कायम गर्न प्रयासरत छ । त्यसैले अर्धऔपनिवेशिक स्थिति बदलिएर नवउपनिवेशवाद कायम हुन गएको छ ।
माथि उल्लेखित उपलब्धीहरुले नेपाली जनवादी क्रान्तिका आधारभूत कार्यभारहरुको महत्वपूर्ण परिपूर्तिलाई व्यक्त गरेका छन् । अब आर्थिक, राजनीतिक र साँस्कृतिक क्षेत्रमा रहेका सामन्तवादी अवशेषहरुको अन्त्य तथा सुगौली सन्धीदेखि आजसम्म रहेको अर्ध र नवऔपनिवेशिक स्थितिको पूर्ण अन्त्य गरी राष्ट्रिय स्वाधीनता हासिल गरेर नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सकिन्छ । १. आत्मनिर्भर तथा स्वाधीन अर्थतन्त्र निर्माण, २. शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र खाद्य सम्प्रभुता सहितको मौलिक अधिकार, ३. मजदुर, किसान र सुकुम्वासीको वर्गीय अधिकार, ४. क्रान्तिकारी भूमिसुधार, ५. दलित, महिला, मुस्लिमको विशेषाधिकार कार्यान्वयन, ६. आदिवासी जनजाति, मधेशी र उत्पीडित क्षेत्रको लागि पहिचानसहितको संघीयताको स्थापना, ७. रुपमा राष्ट्रिय र सारमा समाजवादी संस्कृति निर्माणको दिशावोध आदि नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार हुन् । तिनमा कम्युनिस्ट क्रान्तिकारीहरुको नेतृत्व हुनुका कारण निश्चित रुपमा समाजवादी व्यवस्थाका विशेषता पनि जोडिन्छन् ।   
आन्दोलनका उपलब्धीलाई संस्थागत गर्दै संविधानसभाबाट जनपक्षीय संविधान निर्माण गर्नु र उत्पादन संघर्षमा जोड दिनु नै अहिलेको कार्यनीति हुन सक्दछ । यससँगै विकसित हुने नयाँ उत्पादक शक्ति र नयाँ उत्पादन सम्बन्धले नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने अनुकूलता पैदा गर्ने मात्र होइन, बरु समाजवादी क्रान्तिको बलियो आधार खडा गर्नेछ ।
नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट फड्को हान्दै नयाँ बनिसकेपछि यहाँका क्रान्तिकारीहरुले आन्तरिक रुपमा दलाल तथा नोकरशाही पुँजीवाद र बाह्य रुपमा नवउपनिवेशवाद विरुद्ध लड्नुपर्ने स्थिति सिर्जना भएको छ । यस्तो स्थितिमा अब नयाँ जनवादी क्रान्तिको रणनीति स्वतः समाजवादी क्रान्तिको रणनीतिमा बदलिएको छ । त्यसैले नयाँ जनवादी क्रान्तिको राजनीतिक र फौजी कार्यक्रम नेपालको सन्दर्भमा पछि परिसकेको यथार्थलाई आत्मसात गर्नुको विकल्प छैन ।
त्यसैगरी, पुँजीवादी जनवादी क्रान्ति पूरा भयो भन्ने नेकपा एमालेको विश्लेषण वस्तुसंगत छैन । अबको क्रान्तिको कार्यदिशा के हुने भन्ने विषयमा अलमल देखिनुले त झन् उक्त विश्लेषण बेइमानीपूर्ण देखिन्छ । माक्र्सवादका आधारभूत प्रस्थापना श्रृंखलाबद्ध परित्याग गर्दै आउनुले क्रान्तिकारी सचेत वर्ग प्रष्ट भएतापनि आम जनतामा केही भ्रमहरु रहेका थिए । नवौं महाधिवेशनपछि ती भ्रमहरु हट्दैछन् । आफ्नो लिङ्ग पहिचान भएको भनेर एमालेका नेताहरु आत्मरती लिँदैछन् तर त्यो कुन लिङ्ग हो ? भन्ने चाँही प्रष्ट गर्न सक्दैनन् । दस्तावेजमा ‘साम्यवाद’ छोडेको र उद्घाटन समारोहमा माक्र्स–लेनिनको फोटो हटाइएको विरोधमा निष्ठावान् कार्यकर्ताले जोडदार आक्रोससहति विरोध जनाएपछि मात्र ‘साम्यवाद’ शब्द राख्न र बन्दसत्रमा माक्र्स–लेनिनको फोटो राख्न एमालेका नेताहरु बाध्य बने । यसले के तथ्य स्पष्ट गर्छ भने एमाले नेताहरुको दिमागबाट साम्यवाद र माक्र्सवाद हटिसकेको छ, कार्यकर्ताको आक्रोस साम्य पार्न मात्र ती झुण्ड्याउनसम्म बाध्य छन् । अतः एमालेको वर्गपक्षधरता बुर्जुवानै हो, जो नेपाली काँग्रेसको पुच्छरबाहेक अरु हुनै सक्दैन ।
बुर्जुवावर्गको पुरानो संसदीय मोडल समेत परिमार्जन र विकासको अभावमा चल्नै नसक्ने अवस्थामा पुगेको देख्दादेख्दै पुराना मोडेलका नयाँ जनवादी र समाजवादी व्यवस्थाबाट साम्यवाद हासिल गर्न सकिन्न अर्थात् क्रान्तिको रक्षा गर्न सकिन्न । २१ औं शताब्दीको जनवादको विकास यही विषयमा केन्द्रित छ । त्यसैले ठोस परिस्थिति अनुसार क्रान्तिको मौलिक मोडल विकास गर्ने र लागू गर्ने आजको प्रमुख चुनौती हो । नयाँ जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको तयारी गर्न नयाँ मौलिक र आधारभूत नीति, कार्यक्रम, रणनीति र कार्यनीतिको विकास आजको आवश्यकता हो, जुन समाजवादी क्रान्तिको कार्यदिशा अनुरुप तय हुन्छ ।
त्यसैले जनवादी क्रान्तिको कार्यदिशालाई समाजवादी क्रान्तिको कार्यदिशासँग जोड्दै नेपाली कम्युनिस्ट आन्दोलन अघि बढाउन सकिने परिस्थिति बनेको छ । यो नै नेपाली क्रान्तिको मालेमावादी कार्यदिशा हो । यसप्रति गम्भीर हुन जरुरी छ किनकि कमरेड माओको अनुसार विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही हुनु वा नहुनुले सबै कुराको निर्धारण हुन्छ ।
अन्ततः बाह्य रुपमा भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवाद र आन्तरिक रुपमा सामन्ती अवशेष सहितको दलाल तथा नोकरशाही पुँजीवाद विरुद्ध समाजवादी क्रान्ति नै नेपाली क्रान्तिको लागि सही, उचीत र बैज्ञानिक कार्यदिशा हो । माओको तरिकाले थाल्ने र लेनिनको तरिकाले टुंग्याउने प्रवृत्ती नेपाली कम्युनिस्ट आन्दोलनको विजयको प्रवृत्ती हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस्