Logo
  बैशाख ७, २०८१ शुक्रबार

बेहाल शनिश्चरे–खुदुनाबारी सडक



कुमार क्षेत्री । झापा जिल्लाको शनि–अर्जुन नगरपालिका अन्तर्गत रहेको शनिश्चरे बजारले करिब सवा सय वर्ष पुरानो इतिहास बोकेको छ । शुरुका दिनमा स्थानीय गाउँलेहरुका लागि शनिबार हटिया लगाउने बन्दोबस्त गरेको जुन प्रथा छ ,त्यो अहिलेसम्म कायम नै छ । शनिबारका दिन हटिया लाग्ने भएकाले यसलाई संसारे बजार (शनिश्चरे) भन्न थालियो ।
समय क्रम संगसगै इलाम, पाँचथर र ताप्लेजुङसम्मको भरपर्दो बजारको रुपमा यो बजार स्थापित भयो । त्यतिबेला विर्तामोड थिएन । अहिले विर्तामोडले मेची अञ्चल भित्र गर्ने कारोबार शनिश्चरेले धानेको थियो । नुन, मटितेल,सख्खर र सुर्ती लगायतका समाग्रीहरु ढाकरको माध्यमबाट पहाडतिर ढुवानी हुन्थ्यो भने सुन्तोला लगायतका फलफुल र  खसीबाख्रा पहाडबाट शनिश्चरे बजार झारिन्थ्यो  । अहिले पनि घुम, चित्रा र भकारी साथै खसी बाख्रा किन्नु पर्यो भने मानिसहरु शनिश्चरे बजार नै पुग्ने गर्छन् ।
मेची अञ्चलको केन्द्रबिन्दुको रुपमा रहन सफल शनिश्चरे बजारको नाकको टुप्पामा खुदुनावारी गाविस अवस्थित छ । यो गाविस साविक पाराखोपीको एउटा वार्ड र बुधबारे गाउँको दुईवटा वार्ड समायोजन गरी वि.सं. २०३९ सालमा गठन भएको झापाकै सबैभन्दा कान्छो गाविस हो । यस गाउँमा बसोवास गर्ने सबै मानिस शिक्षा, स्वास्थ्य र हाटबजारको लागि शनिश्चरे बजारमा नै आश्रित थिए । शनिशचरे वजार मात्र होइन ,शनिश्चरे मावि पनि झापामा चानचुने थिएन । विधार्थी घनत्व थामिनसक्नु नै थियो । प्रधानाध्यापक मोहन जोशीको प्रशासन सबैले तारिफ गर्न लायक थियो । उहाँको जस्तो कुशल प्रशासनले नै गर्दा शनिश्चरे वजारको अर्को बहुमूल्य गहना शनिश्चरे माविको रुपमा उदाउन सफल भयो । शनिश्चरे माविका शिक्षक र विधार्थीहरुको छुट्टै नै पहिचान थियो जुन अरुमा कमै पाइन्थ्यो ।
अहिले त्यो अवस्था रहेन । रुपान्तरणका नाममा पोलपोटले शहरका बुद्धिजीवीहरुलाई गाउँमा हलो जोत्न अनि गाउँका खेतीपाती गर्ने मानिसलाई शहरका शैक्षिक प्रतिष्ठान सञ्चालन गर्न लगाएको सुनिएको थियो । त्यहीकारणले गर्दा पोलपोटको शासन ध्वस्त भएको थियो । व्यावहारिक रुपमा, पोलपोटकालीन क्याम्वोडियन अस्वस्थ्य राजनीतिको शिकार शनिश्चरे मावि पनि बन्न पुगेकाले धराशायी अवस्था छ । शनिश्चरेको एउटा ऐतिहासिक निधि कसरी रक्षा गर्ने भन्ने चुनौति पनि थपिएको छ । त्यस्तै क्याम्पसको पनि अवस्था जीर्ण हुन पुगेको छ ।
शनिश्चरे वजारमा एमवीवीएस डा.शंकर उप्रेतीको क्लिनिक थियो । उक्त क्लिनिकलाई डा.शंकरको हस्पिटल नै भन्ने चलन थियो र छँदैछ पनि । वजारमा अर्को क्लिनिक पनि थियो जसलाई लिम्बु डाक्टरको हस्पिटल भन्ने गरिन्थ्यो । अहिले पनि लिम्बु डाक्टर साबले सेवा दिइरहनु भएको छ । यी दुई डाक्टर सावले शनिश्चरे मात्र होइन झापामा नै निकै राम्रो दख्खल राख्नु हुन्थ्यो । चाहे अध्ययन गर्न होस् या विरामी उपचार गर्न अथवा हाटवजार भर्न किन नहोस् खुदुनावारीवासी घुडोमुन्टो टेकेर भए पनि शनिश्चरे आउनै पथ्र्यो । आएन गएन के हो के हो, आयोगयो मायामोह भने जस्तै निरन्तर आतेजातेको कारणले होला शनिश्चरेलाई ज्वरो आयो भने खुदुनावारीलाई टाउको दुख्छ । खुदुनावारीलाई रुघा लाग्यो भने शनिश्चरेको नाक सक्सकाउँछ । यति सुमधुर नाता र सम्बन्ध हुदाँहुदै पनि शनिश्चरे आफु नगरपालिका बनिरहँदा खुदुनावारीलाई सौताको छोरो जस्तो एक्लै किन छाड्यो ? भन्नेमा चाहिँ शनिश्चरेसंग खुदुनावारीको दुःखेसो छ ।
शनिश्चरे वजार र खुदुनावारी वजारको सडक दुरी जम्मा ६ किमि छ । बाटोमा दुईवटा ठुला खहरे खोला विरिङ र टाइटिङ पर्छन् । खुदुनावारीमा भुटानी शरणार्थी शिविर राख्ने प्रबन्धसंगै शनिश्चरे खुदुनावारी सडक निर्माण भयो । विरिङ र टाइटिङमा व्यवस्थित कज्वे निर्माण भए । वर्षा याममा सुरुवाल र चप्पल बोकेर शनिश्चरेको नारायणचोकमा पुगेपछि लगाउनु पर्ने कष्टका दिन शरणार्थीहरुको आगमनसँगै सकियो । तत्कालीन वन राज्य मन्त्री वीरमणि ढकाल यसका लागि धन्यवादका पात्र हुनुहुन्छ ।
शरणार्थी शिविर रहुन्जेल सडक र कज्वे टालटुल गर्ने काम हुने गथ्र्यो । जसले गर्दा सडक विग्रिएको अवस्था देख्नु परेको थिएन, तर शिविर उठाइसकेपछि शनिश्चरे  खुदुनावारी सडक खण्ड ‘माली बिनाको फुलबारी’ जस्तै हुन पुगेको छ । टाङटीङ खोलामा करोडौ मूल्यको पुल ठड्याएको चार पाच वर्ष बित्न लाग्यो । खोलाको बीचमा ल्याएर टुङ्याएर छाडिएको छ । यो आधा निर्मित पुल कतिमा बनेको हो ? अब पुरा हुन्छ कि हुँदैन ? वास्तविकता थाहा छैन । योगेन्द्र आचार्य, पुण्य ओझा र यज्ञ अधिकारीहरु यसपटक नै वैकल्पिक योजना पारेर भए पनि अस्थाई रुपमा पुल संचालन गर्न कम्मर कसेर लाग्दा पनि केही हुन सकेन । आखिर यसपाली पनि टाङटीङको भेलले विगत झंै छेकेर छाड्यो । सरोकारवाला निकायलाई कुनै चिन्ता छैन, फगत खुदुनावारीवासीलाई मात्र ।
‘र्याप थ्री’ भन्ने एउटा प्रोजेक्टले जिविससँगै समन्वय गरी झापा जिल्लाका विभिन्न सडकहरु निर्माण गर्ने सम्झौता गरेको रहेछ । शनिश्चरे खुदुनावारी खण्डलाई जम्मा ४२ लाख रुपैयाँ विनियोजन भएको पाइएको छ । शायद वर्षायाम सकिने वित्तिकै सडक निर्माण काम सुचारु हुन्छ । ठेक्का लाग्ने काम भइसकेको भन्ने छ यो र्याप थ्री भन्ने प्रोजेक्टले सडकमा अत्यावश्यक परेका तथा वाढीले भत्काएर वित्यास गरेका ठाउँमा खर्च गर्ने भनेर ‘इमर्जेन्सी फन्ड’को रुपमा ५३ लाख रुपैयाँ छुट्याएको अवस्था रहेछ । कुन्दन भटराईको नेतृत्वमा ‘रयाप थ्री’सँग बसेर छलफल भए । अस्थायी रुपमा ड्याम कसेर पल्लो पूर्वतर्फको मुखसम्म पुरुवा हालेर यसैपटकदेखि पुल सञ्चालन हुने पक्का पनि भयो । त्यसको भोलिपल्ट टेक्निसियनहरु पठाएर नापजाँच गरी त्यसकै आधारमा काम सरु गर्ने प्रतिबद्धता पनि भए । तर भोलिपल्ट नापजाँच त परै जाओस्, काम गर्न नै नसक्ने र्यापले जनायो । टाङटीङमा बाढी नै नआइकन कुन्दन भटराई लगायतका खुदुनावारीवासीका आसा र भरोसा सवै बग्यो । यसपाली पनि खुदुनावारीवासीलाई छेक्न टाङटीङ सफल भयो । सफल भएकोमा टाङटीङलाई धन्यवाद नदिइरहन सकिन्न । साधुवाद छ ‘टाङटीङ’ तिमीलाई ।
स्थानीय मानिस पहिलेभन्दा धेरै सचेत भइसकेका छन् । राजनीतिक सत्ता बाहेक सबै चिज भ्रम रहेछ भन्ने चेतना घुसिसकेको छ । शनिश्चरेको क्षेत्रीय हस्पिटल शनिश्चरे बजारको पहिलो गहनाका रुपमा देखापरेको छ । भौतिक संरचनादेखि लिएर प्राविधिक पक्षसम्म हेर्दा निकै नै समृद्ध छ । त्यसैले खुदुनावारीको स्वास्थ्य चौकी खुदुनावारीको पहिलो गर्व गर्नलायक सार्वजनिक संस्था हुन पुगेको छ । उक्त स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरु निर्माण गर्न पूर्वमंत्री धर्मशीला चापागाईको कम योगदान छैन । शायद उहाँले चासो नदेखाएको हुन्थ्यो भने आज यस अवस्थामा यी प्रतिष्ठानहरु नहुन सक्थे भन्ने स्थानीयको भनाई छ । संगसगै पुलको दुःखेसो गर्दै स्थानीयहरु भन्छन्–यो पुल वनाउने चाहिँ कसैले नसक्ने भयो । सक्नेहरु लागिदिए बनिन्थ्यो, लागिदिदैनन् भन्दै पिरोलिएको अवस्था छ । सत्ता र शक्ति हेर्दा यो पुल पुरा गर्ने औकात उद्धव थापासंग छ भन्न पनि मानिसहरु पछि पर्दैनन् । तर विर्तामोड भए पुगिहाल्छ उद्धव थापालाई, किन चाहियो खुदुनावारी ? अनि किन चाहियो टाङटीङ पुल ? भन्दै जंगिने गरेको पनि पाइयो । टाङटीङ खोलाको यो अर्धनिर्मित पुल अहिले पनि गोबन सर्पको डसाईका बिरामी र डेलिभरीका गम्भिर विरामीहरुका लागि घाँडो बनेको छ । सामाजिक एवं राजनीतिक अगुवाहरुलाई सराप्ने धराप पनि बनेको छ । यो पुल चाँडै नै पुरा निर्माण गरेर खुदुनावारीवासीको तर्फबाट अभिनन्दित हुने महान सम्भावना र चुनौति उत्तिकै छ ।
 

प्रतिक्रिया दिनुहोस्