भानुभक्त आचार्य । नेपालमा पत्रकारको आचारसंहिता समय समयमा परिमार्जन हुँदै आएको छ । समय, प्रविधि र मानिसको चेतनास्तरमा आएको परिवर्तनसँगै पत्रकार आचारसंहितामा पनि परिमार्जन गरिरहनुपर्ने आवश्यकता पर्दछ । वि.सं. १९५८ वैशाख ११ गते गोरखापत्रको सनददेखि आरम्भ भएको पत्रकार आचारसंहिताको इतिहास पछिल्लो पटक पत्रकार आचारसंहिता २०६० (संशोधित तथा परिमाजिर्त २०६४) सम्म आइपुगेको छ । पत्रकार आचारसंहिताको वर्तमान संस्करणमा पनि परिमार्जन आवश्यक देखिएकाले विभिन्न अन्तर्राष्ट्रिय प्रचलन र मान्यताका आधारमा बुँदागत रुपमा यहाँ केही सुझाव प्रस्तुत गरिएको छ ।
सरकारी संलग्नता अनावश्यक ः सामान्यतः पत्रकारको आचारसंहिता निर्माणको काम पत्रकारको व्यवसायिक संगठनले गर्दछन् । उदाहरणका लागि क्यानडाको पत्रकार आचारसंहिता त्यहाँको पत्रकार संघले विज्ञको सहयोगमा सन् २०११ मा निर्माण गरेको हो । युरोपमा पत्रकारका विभिन्न संघसंस्थाले आ–आफ्नै अनुकूलता हेरी आचारसंहिता निर्माण गरेको पाइन्छ । अमेरिकामा सबैभन्दा धेरै प्रचलनमा रहेको आचारसंहिता त्यहाँको सोसाइटी अफ प्रोफेसनल जर्नलिस्टस् (एसपिजे) ले सन् १९९६ मा निर्माण गरेको हो । नेपालमा भने पत्रकारको आचारसंहिता निर्माणमा प्रेस काउन्सीलको निर्णायक भूमिका रहँदै आएको छ । पञ्चायतकालमा पत्रकार पञ्चायती व्यवस्थाको विरुद्धमा जान नपाऊन् भन्ने अभिप्रायले प्रेस काउन्सील नेपाललाई आचारसंहिता निर्माण कार्यमा अग्रसर गराइएको थियो । तर, बहुदलीय व्यवस्थाको पुनरागमन पछि पत्रकारको आचारसंहिताको निर्माणमा सरकारी निकायको संलग्नता वा हस्क्षेप भइरहन जरुरी छैन ।
पत्रकारको परिभाषा गर्न नहुने ः पत्रकारिता पेसा होइन चरित्र हो भनी विभिन्न विद्धवानले परिभाषा गरेका छन् । पत्रकारिताका मूल्यमान्यता र आचारसंहितालाई परिपालन गरी समाचारको उत्पादनमा संलग्न व्यक्ति स्वतः पत्रकार हो । तसर्थ, विश्वका अधिकांश पत्रकार आचारसंहितामा ‘पत्रकार को हो वा होइन’ भनी परिभाषा गरेको पाइदैन । तर, नेपालको पत्रकार आचारसंहिता, २०६०
(संशोधित तथा परिमाजिर्त, २०६४) को दफा २ (क) मा ‘पत्रकार’ को परिभाषा गरिएको छ, जसले गर्दा पत्रकार आचारसंहिता पालन गर्नुको साटो आफू जे गरे पनि परिचयपत्र बोकेकै आधारमा पत्रकार भनी दाबी गर्ने परिपाटी बनेको छ । उदाहरणका लागि कुनै एउटा चिकित्सकले समसामयिक स्वास्थ्य समस्याका बारेमा नियमित रुपमा लेख पठाएकै आधारमा उसलाई पत्रकार भन्न सकिन्न तर अहिलेको आचारसंहिताले त्यस्तो व्यक्तिलाई पत्रकार ठह¥याउँछ । त्यसकारण, पत्रकार शब्दको परिभाषा गर्नुभन्दा पत्रकार आचारसंहिताको परिपालन गरी समाचारमूलक कार्यमा संलग्न व्यक्तिलाई मात्र पत्रकार भन्न सकिन्छ ।
अनलाइन मिडियाका मुद्धा समेट्नु पर्ने ः वर्तमान आचारसंहिताले अनलाइन माध्यमका प्राविधिक जटिलताबाट सिर्जित समस्यालाई सम्बोधन गरेको छैन । अनलाइनमा एकपटक प्रकाशित समाचार हटाउन वा डिलिट गर्न मिल्छ कि मिल्दैन ? अनलाइन माध्यममा प्रकाशित विषयवस्तुको परिमार्जन गर्न तथा विषयवस्तु राखिएको ठेगाना परिवर्तन गर्न मिल्छ कि
मिल्दैन ? यी सवालका बारेमा आचारसंहिता मौन छ । अन्तर्राष्ट्रिय प्रचलन अनुसार समाचारसँग सम्बन्धित कुनै पक्षले अनुरोध गर्दैमा अनलाइनमा प्रकाशित÷प्रसारित समाचार हटाउनु हँदैन । तर, कुनै समाचार वा आलेखले सार्वजनिक सुरक्षामा असर पारेमा, समाचारमा गम्भीर त्रुटि भेटिएमा, आचारसंहिताको स्पष्ट उल्लंघन वा प्रचलित कानूनको विपरीत भएमा त्यस्तो समाचार वा आलेखलाई अपवादका रुपमा अनलाइनको अभिलेखालयबाट हटाउन सकिन्छ भनी क्यानडाको पत्रकार आचारसंहिताले उल्लेख गरेको छ । त्यसरी समाचार हटाएको लिंकमा समाचार हटाउनु पर्ने कारणबारे पाठकलाई जानकारी दिनु पर्ने तथा हटाइएको समाचारलाई कानूनी खोजबीन भएको खण्डमा सम्बन्धित समाचार संस्थाले उपलब्ध गराउनु पर्नेछ भनी नियम बनाउन सकिन्छ ।
पुराना त्रुटि सच्याउनु पर्ने ः अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ अखबारले गत मार्च ४ मा १६१ वर्षअघि प्रकाशित समाचारमा भेटिएका त्रुटि सच्याएको थियो । यस घटनाले सयौं वर्षपछि पनि विगतमा गरेका त्रुटिलाई सच्याउन सकिन्छ भन्ने सन्देश दिन्छ । नेपाली सञ्चारमाध्यममा समाचारमूलक सामग्रीमा भएका त्रुटी नसच्याउने, थाहै नपाएजस्तो गर्ने र कदाचित् सच्याइहालेमा झारा टार्ने प्रवृति हावी छ । आचारसंहिताले समाचारमूलक सामग्रीमा भेटिएका त्रुटीलाई तत्कालै र पारदर्शी रुपमा सच्याउन प्रेरित गर्नुपर्छ । समाचार सच्याउँदा समाचारमा भएको त्रुटि र सच्याउनुको कारणबारे पनि प्रष्ट उल्लेख गर्नु पर्दछ । त्रुटी सच्याउनेसम्बन्धी मापदण्ड निर्धारण गरी त्यसैअनुसार सबै त्रुटिलाई समान रुपमा भूलसुधार गर्ने परिपाटी बसाल्न आवश्यक छ । साथै नियतवश गलत समाचारको प्रवाह गर्ने सञ्चारमाध्यमलाई आचारसंहिताले मात्र पुग्दैन कानून बनाएर दण्डित गर्नु पर्दछ ।
सिन्डिकेट तोड्नु पर्ने ः एउटा पत्रकार वा सञ्चारमाध्यमले गरेका अपराधलाई सामान्यतः कुनै पनि सञ्चारमाध्यमले समाचार प्रकाशन÷प्रसारण नगर्ने प्रवृति छ । कदाचित् समाचार प्रकाशन÷प्रसारण भइहालेमा पनि ज्यादै सतही र पत्रकार चोख्याउने किसिमको हुने गरेको पाइन्छ । वर्तमान पत्रकार आचारसंहिताको दफा ४ (१२) मा ‘एउटा सञ्चारमाध्यमबाट प्रकाशित÷प्रसारित समाचारको खण्डन सामान्यतः अर्को सञ्चारमाध्यमले गर्नु हुँदैन’ भन्ने उल्लेख छ । यस्तो व्यवस्थाबाट कुनै पत्रकार वा सञ्चारमाध्यमले जानाजान कुनै व्यक्ति वा संस्थाका विरुद्धमा गरेको अनर्गल प्रचारबाजीलाई रोक्न कठिन हुन्छ । अमेरिकाको व्यावसायिक पत्रकार समाज (सोसाइटी अफ प्रोफेसनल जर्नलिस्टस्) ले सञ्चारमाध्यमको विरुद्धमा सर्वसाधारणको गुनासालाई उचित स्थान दिनु एवं पत्रकार तथा समाचार संस्थाबाट भएका आचारसंहिता विपरीत कुरालाई सार्वजनिक गर्नु पत्रकारको दायित्व भनेको छ । तसर्थ गलत समाचारको सप्रमाण खण्डन गर्न, स्वस्थ आलोचना र टिप्पणी प्रकाशन÷प्रसारण गर्न जुनसुकै सञ्चारमाध्यमलाई स्वतन्त्रता दिइनु पर्दछ ।
समाचारप्रति उत्तरदायी हुनु पर्ने ः एउटा सञ्चारमाध्यमले गलत समाचार प्रकाशन÷प्रसारण गर्दा त्यसले क्षमायाचना गर्नु पर्ने चलन छँदैछ । तर, त्यही समाचार अन्य सञ्चारमाध्यमले उठाउँदा समाचार गलत भए पनि आ–आफ्ना पाठक, स्रोता वा दर्शक समक्ष क्षमायाचना नगर्ने प्रवृति छ । ‘फलानोले गरेको गल्ती हो म त चोखै छु’ भन्ने बुझाइ छ । तर, हरेक सञ्चारमाध्यमको लागि उपभोक्त फरक पर्ने भएकाले समाचार उठान गर्ने माध्यमले मात्र भूलसुधार गरेर पुग्दैन ।
यौनहिंसा पीडितको परिचय ः वर्तमान आचारसंहिताको दफा ४ (७) मा यौनजन्य हिंसाबाट पीडित व्यक्तिको प्रत्यक्ष वा परोक्ष रुपमा परिचय खुल्ने कुनै सामग्री प्रकाशन÷प्रसारण गर्न हँदैन भन्ने व्यवस्था छ । तर, आफन्तबाट बलात्कार भएका व्यक्तिको नाम गोप्य राख्ने वा परिवर्तन गर्ने तर अभियुक्त फलानो भनी ठेगाना र नाता समेत खुलाइदिंदा पीडितको गोपनीयता उल्लंघन भइरहेको छ । उदाहरणका लागि काका नाता पर्ने व्यक्तिबाट कुनै बालिका बलात्कृत भएकी रहिछन् भने बालिकाको नाम गोप्य राख्ने वा परिवर्तन गर्ने काम गरिएता पनि काकाको परिचय र नाता खुलाइदिंदा बालिकाको परिचय स्वतः खुल्छ । त्यस्तो अवस्थामा अभियुक्तको नाउँ समेत गोप्य राखी समाचार प्रकाशन÷प्रसारण गर्नु राम्रो हुन्छ । पत्रकारले पीडक भनिएको व्यक्ति कानूनी दायरामा आयो कि आएन तथा कानून बमोजिम कारवाही भयो कि भएन भन्ने कुरालाई प्राथमिकता दिनु पर्दछ । साथै नाम परिवर्तन