Logo
  बैशाख ७, २०८१ शुक्रबार

‘माओवाद’बारे केही कुरा



प्रदिप गिरी

नेपालभित्र मात्र होइन, संसारभरि माओवादका नाममा यस समय राजनीतिक प्रतिरोध छ । माओवादका नाममा विश्वका विभिन्न कुनामा लडिरहेका सबै माओवादी युद्धमा एउटा ठूलो समस्या देखिन्छ । उनीहरूले आफ्नो विचारधारा स्पष्ट गर्न सकेका छैनन् । नेपालमा हेर्दाहेर्दै आधा दर्जन पार्टीमा छिन्नभिन्न अवस्थामा रहेका माओवादीहरू सबै यस समस्याले पीडित छन् ।

माओवादका पक्ष वा विपक्षमा वकालत गर्ने धेरैलाई थाहा छैन कि यस समयको चीनको सरकारी विचारधाराको माओवादसँग कुनै साइनो–सम्बन्ध छैन । माओत्सेतुङको मृत्युपछि च्याङ चिङको नेतृत्वमा रहेका उनका समर्थकहरूलाई हठात् ‘कु’ को शैलीमा गिरफ्तार गरियो । स्वयं माओले नै नामांकित गरेको भनिएको ‘ह्वाको फेङ’ को काँधमा बन्दूक राखेर देङ स्याओ पिङले ‘कु’ गरेर सत्ता हत्याए । र, उनले चीनमा अर्कै विचार प्रणालीको शुरुआत गरे ।

आज विश्वमा उदारीकरण, भूमण्डलीकरण र निजीकरण व्याप्त छ । छोटकरीमा ‘उभूनि’ भन्न सकिने यस प्रवृत्तिको सुरुआत देङले गरे चीनमा । त्यसपछि भौतिक दृष्टिले चीनले सफलता पनि प्राप्त गर्दै आएको छ । चीनको त्यो सफलताको जग भने माओत्सेतुङले नै बनाइदिएका थिए । माओकै कार्यकालमा निर्माण गरिएको शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको जगमा नै चीनले आजको समृद्धि प्राप्त गरेको हो ।

आज माओ बाँचेका छैनन् । तर अहिले माओत्सेतुङको नाममा माओवाद चीनमा भन्दा बाहिरी विश्वमा स्थापित छ । कुनै पनि आदर्श वा विचारधारा संस्थापकभन्दा धेरै बलियो हुन्छ । माओवादी अहिले विश्वभरि नै असमान लडाइँ लडिरहेका छन् । लड्दा लड्दै कति समूहले त हतियारबद्ध युद्ध गरिरहेका पनि छन् । २१औं शताब्दीको प्रकृति अनुसार हतियारबद्ध लडाइँ कहीं पनि सफल हुँदैन ।

२०औं शताब्दीका क्रान्तिहरू पनि प्रथम र महायुद्धका दरमियानको छिन्नभिन्न अवस्थामा मुख्यतः सफल भएका हुन् । क्रान्तिशास्त्रमा यस सम्बन्धी अलग्गै अध्ययन र विमर्शको खाँचो छ । तदनुरुप, ठाउँ–ठाउँमा सशस्त्र माओवादी प्रतिरक्षामा सीमित हुन पुगेको अवस्था छ । पेरुको साइनिङपथदेखि नेपालको प्रचण्डपथसम्मलाई त्यसको उदाहरण मान्न सकिन्छ । नेपालमा एमाओवादीले युद्ध र आन्दोलनबाट प्रशस्त उपलब्धि हासिल गरे पनि फेरि अर्को मोर्चा खोल्न थालेका छन् । त्यसको नियति के हुने हो बुझ्नुअघि माओवादले के खोजेको बुझ्न आवश्यक छ ।

एनेकपा ९माओवादी० का एक सिद्धान्तकार डा। बाबुराम भट्टराईले हालैको एक राष्ट्रिय दैनिकमा एउटा गतिलो वैचारिक लेख लेख्नुभएको छ । डा। बाबुरामका अनुसार उहाँहरूले संसदीय व्यवस्थाको अर्को संस्करण खोजेको होइन । उहाँहरूले मुलुकमा सर्वथा नयाँ किसिमको व्यवस्था ल्याउन खोज्नुभएको हो । यो कुरा एमाओवादीले अर्थात् डा। बाबुराम भट्टराईले पहिलोपटक भनेको होइन । यसपटक यस घडीमा आएर यो कुरा भन्दा अलि विचार गर्नुपर्ने अवस्था छ ।

वर्षौंको संघर्षमा पनि एमाओवादीले गर्न नसकेको एउटा कुरा छ । भूमिगतकालमा पनि माओवादीहरूले ‘२१औं शताब्दीको जनवाद’ को अवधारणा अगाडि ल्याएका थिए । त्यो प्रस्तावलाई एकपटक सम्झिने हो भने पनि यसका अन्तरविरोधहरूलाई कोट्याउन सकिन्छ । तत्कालीन माओवादीको त्यो प्रस्तावमा उहाँहरूले ‘रोजा लक्जेम्बर्ग’ र ‘एन्टोनियो ग्राम्स्की’को उल्लेख गरेको मलाई आज पनि सम्झना छ । रोजा लक्जेम्बर्गको आफ्नै कथा छ ।

कदाचित् उनले त्यस किसिमको मौलिक लोकतन्त्रको व्याख्या गर्ने प्रयास पनि गरेकी थिइनन् । उनले समाजवादी गणतन्त्रको कुरा गरिन् । यस विषयमा पर्याप्त चिन्तनमनन नगर्दै उनी शहीद भइन् । तर एन्तोनियो ग्राम्स्कीले यस बारेमा धेरै कुरा गरेका छन् । दुर्भाग्यवश १ एन्टोनिक ग्राम्स्कीका ती विचारहरूको प्रभाव आज विश्वको माओवादी आन्दोलनमा छैन । यो सबभन्दा ठूलो कमजोरी हो ।

एन्टोनिक ग्राम्स्कीले बारम्बार, नथाकिकन भन्थे– “सशस्त्र संघर्षको मोर्चा सजिलो छ तर शान्तिकालीन मोर्चा ज्यादा कठिन हुन्छ । शान्तिकालीन मोर्चामा तपाइँले जसरी भए पनि बहुमतको समर्थन पाउनुपर्दछ ।” त्यसका लागि उनको मार्मिक भनाइ छ– “सशस्त्र युद्धको बेला हतियार नै तर्क हुन्छ । एकपटक शान्तिकालमा गइसकेपछि हाम्रो हतियार तर्क मात्र बाँकी रहन्छन् ।” तर्कलाई हतियार बनाउने खुट्किलोमा उल्लिखित डा। बाबुराम भट्टराईको लेखले नयाँ कुरा त सारेको छ तर त्यसमा रहेका त्रुटिहरूतर्फ संकेत गर्नु आवश्यक छ ।

आज विश्वभरि तथाकथित उदारवादको जगजगी छ । भूमण्डलीकरणको जगजगी छ । तर भूमण्डलीकरण सर्वथा एकांगी छ । पूँजीको भूमण्डलीकरण भएको छ तर श्रमिकको भूमण्डलीकरण भएको छैन । त्यस्तै उदारवाद पनि उदारवाद कम उधारवाद ज्यादा भएको छ । उदार र उधारको अन्तर के हो भने बेलायत र फ्रान्समा आ–आफ्ना किसिमले सच्चा उदारवाद उठ्यो होला । हामी त त्यहाँको उदारवाद होइन उधारोवाद चलाएर बसेका छौं ।

हाम्रो त समाज, संस्कृति, परम्परा, भाषा, शैली, बाध्यता बेग्लै छ । हाम्रो ओठे उदारवाद छ । यसको सट्टामा एमाओवादीले ल्याउन खोजेको नयाँ लोकतन्त्र के हो रु त्यसको परिभाषा उनीहरूले दिन सकेका छैनन् । डा। बाबुरामको लेखमा पनि आफ्नो मौलिक प्रस्तावना आउन सकेको छैन ।

पश्चिम यूरोपमा उत्पन्न भएको उदारवादका थुप्रै समस्या छन् । ती समस्याको ठीकठीक पहिचान लेनिनले गर्न सकेनन् । स्टालिनले त झन् बिगारे । एउटै मान्छेले मात्र गर्न सके । ती थिए गान्धी । लेनिन र स्टालिनलाई के लाग्यो भने उत्पादन अगाडि बढेपछि समाजमा न्याय र समता स्वतः स्थापित हुन्छ ।

स्वतन्त्रता माथिल्लो खुट्किलोमा चढ्छ । माओले यसरी हुँदैन कि भन्ने शंका उठाए । तत्कालीन सोभियत व्यवस्थामा श्रमिक मजदूरको अवस्था देखेपछि उनको मनमा शंका उत्पन्न भएको थियो । यसै क्रममा उनले सांस्कृतिक क्रान्तिको झण्डा उठाएका थिए । तर अन्तिमकालमा माओत्सेतुङले चाहेको वैकल्पिक समाजवादी क्रान्तिको रूपरेखा कोर्न र पूरा गर्न सकेनन् । प्रयत्न गरियो तर सांस्कृतिक क्रान्ति पथभ्रष्ट भयो, असफल भयो ।

माओका सांस्कृतिक क्रान्तिका दौरानका अन्तरदृष्टि भने आज पनि मननीय छन् । तर त्यहाँ उदारवादको वैकल्पिक व्यवस्था छैन । गान्धीको हकमा भने उनको स्पष्ट धारणा थियो– ‘उत्पादन प्रणाली त्यही ९पश्चिमाहरूको जस्तै० राख्ने, विनिमय त्यही राख्ने तर व्यवस्था चाहिं अर्को बनाउने रु त्यो सम्भव छैन ।’ उत्पादन प्रणालीलाई नबदलिकन नयाँ राज्यव्यवस्था बनाउन सकिंदैन भन्ने गान्धीको ठहर थियो ।

गान्धीका बारेमा धेरै भ्रामक धारणा छन् । उत्पादन, वितरण, उपभोग र विनिमयको हकमा गान्धीको पश्चिमाहरूको भन्दा विल्कुल अलग विचार थियो– पश्चिमका सारा मेशिन, सारा संस्कार, सारा राजनीतिक व्यवस्थालाई मन पराउने, समाज भने अर्को बनाउँछु भन्ने रु सम्भव छैन भन्थे गान्धी । आफ्नो जीवनको अन्तिम घडीमा बीपीको ध्यान यसतर्फ गएको थियो ।

बीपीले बारम्बार आफ्नो कुराकानीमा ‘मोडल डेमोक्रेसी’ भन्नुहुन्थ्यो । उत्तराद्र्धका बीपीलाई आजको कांग्रेसले राम्रोसँग चिनेन । त्यो मुलुकको समस्या भएको छ । डा। बाबुराम भट्टराईले पनि गान्धीवादी र माओवादी बीचको अन्तरसम्बन्धलाई राम्रोसँग बोध गर्ने हो भने मात्र मौलिक लोकतन्त्रको दिशामा केही मूर्त चित्र बनाउन सक्नुहोला कि १ अहिले त उहाँका प्रस्तावना कतिपय रुढ नारा र आग्रहमा अलमलिएका देखिन्छन् ।
रातोपाटीबाट
 

प्रतिक्रिया दिनुहोस्