Logo

चिया र चिया प्राबिधिकहरुको भविष्य



सृजना घिमिरे

चिया शब्द चिनिया शब्द चा (ch’a) बाट आएको हो । चिनिया भाषामा चा (ch’a) भन्नाले परिक्षण भन्ने बुझाउछ । चियाका अबिस्कारक चिनका एक शासक सेङ नङले चियालाई धेरै तरिकाबाट परिक्षण गरेकाले यसको नाम चा हुन गयो । हाम्रो छिमेकी मुलुक भारतमा पनि चियालाई चा भनेर चिनिन्छ, नेपालमा आउँदा चा शब्द परिमार्जित भई चिया हुन पुग्यो । चिया विश्वको सबैभन्दा पुरानो र धेरै मानिसले पिउने पानी पछाडीको पेय पदार्थ हो । चियालाई सामान्य रुपले मात्र परिभाषित गरियो भने अधुरो हुन्छ, यसलाई ऐतिहासिक, सांस्कृतिक, सामाजिक, धार्मिक, वैज्ञानिक आदि आधारहरुबाट परिभाषित गरियो भने पुर्णता दिन सकिन्छ । चिया विश्वको सबैभन्दा प्राचिन पेय पदार्थ पनि हो, यसले कुनै पनि देशको इतिहासमा आफ्नो स्थान बनाएको छ । चियाको इतिहासबाट पनि विश्वको इतिहास जान्न सकिन्छ । विभिन्न ठुलाठुला युद्ध र सम्झौतामा चियाको भुमिकालाई बिशेष रुपमा हेर्ने गरिन्छ । विश्वको सबै खाले जाति, धर्म, समुदायको व्यक्तिहरुको दिनको शुरुवात चिया बाटै हुन्छ । दुई फरक धर्ममा पनि चिया संस्कृति समान रहेको छ । फरक फरक विचार राख्ने समुदाय, वर्ग र समाजहरुमा पनि चिया पिउने परम्परा एकै किसिमबाट चल्दै आएको छ । जाडो ठाँउ होस वा गर्मि सबै ठाँउमा चिया पिउने परम्परा एकै किसिमको चल्दै आएको छ, आधुनिक समयमा जाडो ठाँउमा तातो चिया गर्मी ठाँउमा चिसो चियाको संस्कृति विकसित हुदै छ ।

चिया एक विशाल विज्ञान हो । चियाको बोटको लक्षण र चियामा पाईने विभिन्न जैविकरसायन तत्वहरु फरक खालको र अदिप्तिय गुण भएका छन् । चिया विज्ञान, चिया संस्कृति र चिया अर्थतन्त्रलाई विकास गरि दिगो राख्ने उद्देश्यका साथ झापा जिल्लामा अवस्थित मेचि बहुमूखी क्याम्पसमा विगत तिन वर्षदेखि चिया प्रविधि तथा व्यवस्थापनको अध्ययन अध्यापन शुरु भएको छ । यो विषय विश्वमा नै नयाँ आभाष दिने प्रकृतिको छ । नेपालका विभिन्न दर्जन भन्दा बढी जिल्लाहरुबाट विद्यार्थीहरु यस विषय अध्ययन गरिरहेका छन् । नेपालका व्याप्त राजनैतिक संक्रमण कालले चिया क्षेत्रलाई पनि स्थिर हुन दिएको छैन । नेपालमै उत्पादन हुन लागेका चिया प्राविधिकहरुको कर्म थलो मुलतः नेपालकै चिया क्षेत्र हो । लामो इतिहास बोकेको नेपालको चिया उद्योगमा प्रयाप्त विकास नभैरहेको अवस्थामा उत्पादन हुन लागेका चिया प्राविधिकहरुको भविष्यको सम्बन्धमा बहस गर्न थालिएको छ ।

नेपालका आज भन्दा करिव १५० वर्ष अगाडी चिया खेतिको शुरुवात भयो, त्यो भन्दा पहिले देखिनै चिया पिउने परम्पराको शुरुवात भएको इतिहास छ । १५० वर्ष लामो हाम्रो चियाको इतिहास भएपनि दक्ष प्राविधिक सहितको इतिहास भने शुरु पनि भएको छैन । केहि ठुला चिया कमान र उद्योगले छिमेकि मुलुक भारतको सिलिगुरी र दार्जिलिङ्गबाट प्राविधिक लिई उद्योेग सन्चालन गरेपनि दिगो र स्थाइ विकल्प आज सम्म प्रयोगमा आएको छैन । अर्को देशबाट ल्याईएको प्राविधिक महंगो पर्ने र स्थाई रुपमा नबस्ने जस्ता समस्या ति कमान र उद्योगहरुले वर्षौ देखि झेल्दै आएका छन् । आफ्नै देशको माटोको चियाको संरक्षण, संम्र्वधन र विस्तारको लागि आफ्नै माटोमा यि चिया प्राविधिकहरु जन्मदै छन्, यिनीहरु बुझ्न सक्छन आफ्नो देशको माटोको बोली, यिनीहरु चिन्न सक्छन् चियाको मुनाको लक्षण, सुन्न सक्छन् चियाको भाषा र देख्न सक्छन् चियाको सुन्दरता । आजसम्म नेपालमा चियाको बाली सुन्ने कुनै जिवित वा निर्जीव व्यक्ति वा संस्था जम्मेको छैन । किसानहरुले चियाको न भाषा बुझ्छन् न सुन्दरता नै चिन्छन्, ठुला उद्योगीले जानी नजानी चियाको सुन्दरतालाई परिचालन गरिरहेका छन् । सरकारको कुरा नगर्दा बेश होला । यस्तो परिस्थिमा नेपालकै माटोमा नेपाली स्वादका चिया प्राविधिकहरुको जन्म हुदै छ । नेपालको चियाको सुन्दरता र विशेषता अनुसार इज्यत र सम्मान गर्ने यिनै चिया प्राविधिक हुन् ।

विश्वमा चिया पिउने परम्परा सँग जोडिएको अर्को विषय संस्कृति पनि हो । चियाले स्वस्थ्यमा राम्रो प्रभाव पार्ने भएकाले हामी सबैको परम्परा त भएकै छ तर हामीले चियालाई हाम्रो संस्कृति गराउन सकिरहेका छैनौं । चिया पिउने हाम्रो परम्परामा मात्र सिमित भयो, यो परिस्कृत भएर संस्कृति बन्न सकेको छैन । परिस्कृत गराउने दायित्व समयको हो, जब यो समयलाई चिन्न सकेनौं हामीले भने चिया मात्र एक परम्परा, एक साधारण पेय पदार्थकोे रुपमा रहन्छ । आजको समय चिया पिउने परम्परालाई परिस्कृत गराएर चिया संस्कृति मौलाउने बेला हो । यस्तो ऐतिहासिक कार्य गर्नलाई युगले नै एउटा युग पुरुषको जन्म गराउछ, मलाई यस्तो लाग्छ चिया संस्कृति मौलाउने युग पुरुषको जन्म भैसकेको छ, अब चिया संस्कृतिको आभाषमात्र हुन बाँकि छ ।

चियाले नछुने, चियाले नसमेट्ने कुनै पनि क्षेत्र छैन, आर्थीक, सामाजिक, राजनैतिक, विज्ञान, कृर्षि, पर्यटन, स्वस्थ्य, व्यापार, संस्कृति आदि । कुनै पनि देश र त्यो देशको नागरिकको जीवन निर्वाहका लागि आर्थीक, पर्यटन र कृर्षी क्षेत्र महत्वपुर्ण हुन्छ । कृर्षीजन्य वाली चियाले अर्थतन्त्रलाई अन्य कृर्षी उत्पादन भन्दा बढी मात्रामा टेवा दिन्छ । नेपालजस्तो प्राकृतिक सुन्दरता भएको देशमा चियालाई थप्ने सुन्दरतालाई सुनमा सुगन्ध भन्दा फरक नपर्ला । आज विश्वको कतिपय देशहरु जस्तै जापान, श्रीलङका, ताईवान, मलेसिया, भारत (दार्जिलिङ्ग) आदिले चियालाईनै आधार मानी पर्यटनलाई बढवा दिदै आएका छन् । हामी सँग सुन्दरताको कुनै कमि छैन, चियाले सुगन्ध नथप्ने कुरै छैन । चिया अर्थात TEA लाइ Tourism, Economy Antioxidant को रुपमा पनि चिनिन्छ । चियाकै कारण नेपालको पूर्वी जिल्ला इलाममा पर्यटकको घुइचो वर्षैभरी लाग्छ, चिया मात्र त्यस्तो कृर्षीजन्य उत्पादन हो जसको माध्यमबाट सानाकिसान देखी ठुला उद्योगीहरुले मुनाफा कमाउन सक्छन् र चिया मात्र त्यस्तो विरुवा हो जसमा सबैभन्दा धेरै एन्टिअक्सिडेन्ट पाईन्छ जसले हाम्रो शरिरको रोगप्रतिरोधात्मक शक्ति बढाउछ ।

समग्रमा चिया अमुल्य छ, एक मात्र कप चियाले पनि विश्वलाई परिवर्तन गर्न सक्ने तागत राख्दछ । तब मात्र विश्व परिवर्तनको तागत राख्न सक्छ जब चिया क्षेत्रमा चियाको भाषा बुझ्ने, चियाको बोली सुन्ने, चियाको सुन्दरता देख्ने र सुन्दरतालाई सम्मान गर्ने व्यक्ति हुदैन । चियाको भाषा बुझ्ने, बोली सुन्ने, चियाको सुन्दरता देख्ने र सुन्दरतालाई सम्मान गर्ने व्यक्तिलाई चिया प्राबिधिक भनि सम्झन्छौं, हो चिया प्राबिधिक बिना सुन्दर चियाको कप अधुरो हुन्छ । एक कप चियालाई मुर्त रुप दिन चिया प्राबिधिकहरुको आवश्यकता खड्किरहेको छ ।

इतिहासमा यसरी खड्किएको चिया प्राविधिकको आवश्यकता आजभन्दा धेरै वर्ष अगाडी नै गरिएको थियो । व्यक्तिगत र परिवारिक प्रयासमा छिमेकी मुलुक भारतको दार्जिलिङ्ग, सिलिगुडी र आसाममा गई चिया सम्बन्धि तालिम र केहि डिग्री लिएर अएको उदाहरण हामी देख्न पाउछौं । व्यक्तिगत प्रयासमा द्रोेस्रो मुलुकबाट लिएको ज्ञान नेपालको माटोमा आएर प्रयोग गर्न गाह्रो भएको इतिहास देख्न पाईन्छ । यिनै कुराहरुलाई विचार मनन् गरि झापाका केहि वुद्धिजिवी, चिया व्यवसायी र चिया प्रेमीहरुले नेपालकै हावापानी सुहाउदो, नेपाली संस्कृतिमा घुल्न सक्ने र नेपाली संस्कृतिमा चिया संस्कृतिको पनि स्वाद मिलाउन सक्ने चिया प्राविधिकहरुको उत्पादनको लक्ष्य लिई बि. स. २०६८ सालमा त्रि. वि. अन्र्तगत मेचि बहुमुखी क्याम्पसमा चार वर्षे चिया प्रविधि तथा व्यवस्थापनको अध्ययन अध्यापन ऐतिहासिक रुपमा शुरु भयो । यो विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले नेपालमा चिया संस्कृतिको शुरुवात गरिसकेका छन् । नेपाली चियालाई विश्वमाझ चिनाउनलाई आफ्नो ठाउँबाट ऐतिहासिक शुरुवात गरिसकेका छन् । उनिहरुले नेपाली चिया सगँै नेपाल, नेपाली, हिमाल, पहाड, तराई, नेपाली जाती, धर्म, संस्कृति, नेपाल बुद्धको देश, सगरमाथाको देश भनी पनि विश्वमाझ चिनाइरहेका छन् । विद्यार्थीहरुले आफ्नो विद्यार्थी जिवनकालमै ऐतिहासिक कार्यको थालनी गरेपनि हाम्रो नेपाली समाजमा उनिहरुको तत्काल रोजगार कहाँ कहाँ हुन्छ भनि बहस गर्न थालीएको छ । जागीरमय जिन्दगीलाई राम्रो र व्यवस्थित जीन्दगी सोच्ने हामी नेपालीको विचारलाई नकार्न सकिदैन, चिया प्राविधिकको तत्काल रोजगार के भन्ने कुरा स्पस्ट हुन पनि जरुरी छ । नेपालको ततकालीन राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक र वैचारीक अवस्था अनुसार चिया प्राविधिकहरुको रोजगार क्षेत्र निम्न हुन सक्छ।

१, चिया प्रशोधन उद्योग

सन १८६३ मा रोपण गरिएको इलाम चिया बगान र सन १८७८ मा स्थापित इलाम चिया उद्योग नेपालको पहिलो चिया उद्योग नभई पहिलो उद्योग पनि हो । आज सन २०१४ सम्म आइपुग्दा धेरै किमिमका उद्योगहरु स्थापना भए, चियाको पनि कैयौं उद्योगहरु स्थापना भए । अन्य उद्योगहरुको स्थापना सँगै ति उद्योगमा आवश्यक दक्ष जनशक्ति नेपालमै उत्पादनको लक्ष्य लिई अध्ययन अध्यापन पनि शुरु भएको इतिहास छ । चिया उद्योगको स्थापनाको इतिहास अनुसार चिया सम्बन्धि अध्ययन अध्यापन हुने पाठशालाको आवश्यकता आज भन्दा १०० वर्ष अगाडी नै थियो, ढिलै भएपनि शुभ कार्यको शुरुवात भएको छ । अब उत्पादन हुने चिया प्राविधिकहरु नेपाल लगायतका विश्वका चिया खेति हुने करिब ५० मुलुकहरुमा गई चिया प्राविधिकको हैसियतमा चिया उद्योगमा काम गर्न सक्छन् । नेपालमा संचालित चिया प्रशोधन उद्योगमा बिद्यमान रहेका प्राविधिकहरु छिमेकी मुलुक भारतबाट महंगो तलबमा काम गरिरहेका छन् । नेपालमै उत्पादित चिया प्राविधिकहरु नेपालको चिया प्रशोधन उद्योगमा सुहाउँदा र सक्षम छन् । विश्वको सबै मुलुकमा नेपाली चिया प्राविधिक छाउन सक्छन् । नेपालीहरु रोजगारका लागि विश्वको धेरै देशहरुमा जान्छन् र तल्लो स्तरको काम पनि गर्छन् तर कुनै दक्षता बिना रोजगारमा जानाले देशलाईनै नराम्रो भैरहेको छ । यि चिया प्राविधिक दक्षता हासिल गरि आफ्नै देशमा र चाहना भएका प्राविधिकहरु आफ्नो अस्तित्व सहित विश्वको अन्य चिया उत्पादन हुने देशमा गई आफ्नो दक्षता अनुसारको रोजगार गर्न सक्छन् ।

२, चिया बगान

नेपालमा चिया प्रशोधन उद्योग र बगान दुबै भएका केहि चिया उद्योगहरु छन् र कुनै बगानहरु हरियो पक्ति उत्पादनको मात्र लक्ष्य लिई पनि संचालनमा छन् साथै नेपालमा साना किसानहरुबाट पनि चिया बगानहरु संचालनमा छन् र जसबाट हरियो पक्ति उत्पादन गरि प्रशोधन कारखानालाई कच्चा पदार्थको रुपमा बेच्दै आएका छन् । यस्तो खालको सस्कृति नेपालमा मात्र होईन, विश्वका अन्य देशहरुमा पनि छ र यि चिया प्राविधिकहरु ति चिया बगानहरुमा काम गर्न सक्छन् । चिया बगानमा धेरै प्राविधिक पक्ष हुन्छन् जसले चिया उत्पादन र गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्छ जस्तै रोग तथा किरा, काँटछाँट, छसाई, टिपाई रोपण आदि । यि प्राविधिक कुराहरु सामान्य मजदुर र किसानले राम्रोसँग गर्न सक्दैनन् त्यसैले चिया प्राविधिकहरुको आवश्यकता पर्छ । चियाको गुणस्तर जति बन्छ त्यो सबै बोटमै बन्छ, प्रशोधनमा चियाको गुणस्तरलाई एउटा तहमा सुधार मात्र गरिन्छ । यस अर्थमा चिया प्रशोधनमा काम गर्ने प्राविधिक भन्दा चिया बगानमा काम गर्ने प्राविधिकको महत्व धेरै हुन्छ ।

३, अनुसन्धान

अनुसन्धान एउटा त्यस्तो क्षेत्र हो जसले सम्बन्धित क्षेत्रलाई परिस्कृत गराएर अगाडि बढाउछ । आजको समयमा अनुसन्धान सबै भन्दा ठुलो क्षेत्र बनेको छ । यसको परिधि सबै भन्दा ठुलो छ , यसको विषय वस्तु सबैभन्दा धेरै छ । अनुसन्धानकै माध्यमबाट आज हामी एक्काइसौ शताब्दीलाई विज्ञानको युग भनिरहेका छौं । अन्य क्षेत्रमा झैं चिया क्षेत्रमा पनि अनुसन्धान भैरहेको छ । तर प्रयात्त छैन । नेपालको सन्धर्भमा भन्नुपर्दा त शुरुवात पनि भएको छैन । नेपालमा चियाको अनुसन्धान शुरुवात गर्ने ऐतिहासिक कार्य अब यिनै चिया प्राविधिकहरुको काँधमा आएको छ । नेपालमा राष्ट्रिय कृर्षि अनुसन्धान परिषद छ , तत्काल यहि परिषदबाट शुरु गर्न पनि सकिन्छ र समयसँगै छुट्टै चियाको अनुसन्धान केन्द्रको स्थापना गर्न सकिन्छ । छिमेकी मुलुक भारत लगायत केही देशहरुमा चियाको अनुसन्धान केन्द्र छन् , ति केन्द्रहरुमा पनि अनुसन्धानकर्ताको रुपमा आफूलाई स्थापित गर्न सकिन्छ ।

४, चिया गुणस्तर मापक

चियाको प्रशोधन पश्चात गुणस्तर मापन गर्न जरुरी हुन्छ । चिया गुणस्तर मापनले चियामा भएको राम्रो पक्ष र नराम्रो पक्ष दुबै कुुरा थाहा पाउन सकिन्छ । राम्रो पक्ष भेटियो भने त्यस्तै प्रकृयाबाट चिया प्रशोधनलाई अगाडि बढाउन प्रोत्साहन पुग्छ भने नराम्रो पक्ष भेटियो भने कहाँनेर त्रुटि भएको पत्ता लगाई त्यहिनेर सुधार गरिन्छ । उद्योगमा चिया बनाउने र चियाको गुणस्तर मापकमा धेरै अन्तर छ । चियाको गुणस्तर मापकको स्थान चिया क्षेत्रमा सबैभन्दा माथि छ, कुनै पनि व्यक्ति केही समयको अनुभवको आधारमा उद्योगमा काम गर्न त सक्छ तर चियाको गुणस्तर मापन गर्न सक्दैन । चियाको गुणस्तर मापकले बगान, उद्योग र चियाको सबै क्षेत्रको बारेमा ज्ञात हुन जरुरी छ । तत्कालिन अवस्थामा चिया उद्योगमा काम गरिरहेका प्राविधिक कुनै एक क्षेत्रमा मात्र काम गर्न सक्ने हैसियत राख्छन् तर अब उत्पादन हुन लागेका यि चिया प्राविधिक सबै क्षेत्रमा उत्तिकै विशेषज्ञ हासिल गर्छन् र चियाको गुणस्तर मापकको रुपमा पनि आफुलाई उभ्याउन सक्छन् । चियाको गुणस्तर मापक विषेशगरि चियाको बजारीकरणमा आवश्यक हुन्छ । ठुल्ठुला चिया उद्योगको आफ्नै चिया गुणस्तर मापक हुन्छ, जसले आफ्नो उद्योगको चिया मापन गरि बजारको उपयुक्त दर भाउमा पठाउन मद्दत गर्छ । त्यसैगरि चियाको अक्सन केन्द्रमा चिया चाखकको भुमिका बिशेष हुने गर्छ । ठुलाठुला व्यापारीहरु चिया चाखकले दिएको गुणस्तरको स्तर अनुसार नै चिया किन्ने र बेच्ने गर्छन । आजभोली विश्वमा चिया चाखकलाई सेलीब्रेटीको रुपमा पनि हेर्न थालीएको छ । विभिन्न सभा समारोहमा सुन्दर नायक, नायिका, र मोडलहरुलाई पछाडि राखी चिया चाखकले चिया चाखी चियाको गुणस्तर बताउने संस्कृतिको पनि विकाश भैरहेको छ । नेपालको चिया यहाँको हावापानीले गर्दा विश्वको पहिलो गुणस्तरको रुपमा आफ्नो पहिचान बनाउदै छ तर हाम्रो देशमा चिया चाखक नभएकाले व्यापार गर्दा अन्य देशका चाखकको भर पर्नुपर्ने स्थिती छ । नेपालको चियालाई गुणस्तर भएपनि कमजोर देखाएर कम मुल्यमा अन्य देशहरुले किनिरहेको स्थिती छ , यसबाट नेपाललाई ठुलो आर्थिक घाटा भैरहेको छ । यो प्रवृतिलाई हटाउन एक मात्र विकल्प उत्पादन हुन लागेका चिया प्राविधिक नै हुन् ।

५, चियाको बजारीकरण

उद्योगमा बनेको चिया विश्वको सबै चियाको कपमा पुग्नलाई बजारीकरणको आवश्यकता पर्छ । विश्वमा पेय पदार्थहरुको व्यापार खाद्यान भन्दा धेरैै हुन्छ । त्यसै पनि चिया विश्वमा पानी पछाडि सर्वाधीक पिईने पेय पदार्थ हो । यसको व्यापारले विश्वको अर्थतन्त्रमा ठुलै हिस्सा ओगट्छ । नेपालको सन्र्धभमा कुरा गर्दा व्यापारीकरणको अवधारणा नभएकाले चियाबाट उपयुक्त फाईदा लिन सकिरहेका छैन, विश्वको सबैभन्दा राम्रो चिया पनि कौडीको भाउमा बिक्री भैरहेको छ । चियको बजारीकरण राम्रो सँग नहुँदा चिया प्रशोधन कारखानामा महिनौं सम्म चिया गोदाममै थन्किरहेको छ । यसले चिया विग्रने र बजारनै नपाउने समस्या पनि बढिरहेको छ । चिया प्राविधिक चियाको सबै पक्षहरुसँग अबगत हुन्छन्, विश्वको चियाको बजारको संजाल कस्तो छ, कहाँ छ, कसरी गर्ने सम्बन्धमा उनिहरु चार वर्षकै अध्ययनको सिलसिलामा विभिन्न क्षेत्रको भ्रमण र स्वयम अध्ययन गरेका हुन्छन् । उनिहरुले चिया बुझेका हुन्छन्, चियालाई चिनेका हुन्छन्, र चियाको भाषा बुझ्न सक्छन् , उनिहरुलाई यो पनि थाहा हुन्छ कि विश्वको कुन देशका नागरिकले कस्तो किसिमको चिया मनपराउछन्, विश्वमा कुन किसिमको चियाको माग बढ्दो छ, आदि सबै कुरालाइृ बुझेर अगाडि बढ्ने क्षमता चिया प्राविधिकहरुले मात्र राख्छन् ।

६, सरकारी सेवा

नेपालमा प्रचलित उखानै छ, खेति गर्नु तरकारी, जागीर खानु सरकारी । सरकारी सेवा दिगो र सुरक्षित हुने भएकाले हामी नेपालीले सरकारी जागीरलाई उच्च कोटीको जागीरको संज्ञा दिएका छौं । नेपालमा विभिन्न प्राविधिक तथा अप्राविधिक विषयहरुको लागि छुट्टै परिक्षा र सरकारी कार्यालयमा छुट्टै दरबन्दिको व्यवस्था छ । नेपालमा अध्ययन अध्यापन हुने सबै जसो विषयहरु सरकारी सेवाको लागि खुला गरिएको छ र प्राविधिक विषयको लागि त छुट्टै परिक्षा र दरबन्दिको पनि व्यवस्था छ । चिया प्रविधि तथा व्यवस्थापन पनि एउटा प्राविधिक विषय हो, यो विषय अध्ययन अध्यापन हुन थालेको भर्खर तिन वर्ष मात्र भयो । पहिलो व्याचका विद्यार्थीहरु अबको एक वर्ष पछि चिया प्राविधिक बनेर निस्कदैछन् । नेपालमा चिया सँग सम्बन्धित राष्ट्रिय चिया तथा कफि विकास बोर्ड र कृर्षि मन्त्रालयमा चिया तथा कफि शाखा छन् साथै नेपाल सरकारले चिया खेति हुने जिल्लाहरुमा चिया विकास अधिकृतको व्यवस्था गर्न खोजीरहेको छ । सरकारी कार्यालयमा अहिले बिद्यमान रहेका स्थानहरुलाई व्यवस्थित गर्ने र आवश्यकता अनुसार गद सृजना गरि यि चिया प्राविधिकहरुलाई परिचालन गर्न सकिन्छ । यसबाट राज्यले चिया क्षेत्रमा ठुलो फड्को मार्न सक्छ । यदि सरकारी सेवामा यि प्राविधिकको स्थान सुरक्षित भयो भने चिया क्षेत्रको विद्यमान समस्याहरु त्रमशः समाधान हुदै जानेछन् ।

चिया क्षेत्र प्राविधिक क्षेत्र भएकाले यो क्षेत्रको समस्या समाधानका लागि चिया प्राविधिकको नै आवश्यकता पर्छ ।नेपालका विभिन्न भूभागवाट चिया विषय अध्ययनका लागि झापा आएका यी विद्यार्थीहरुको एउटै चाहाना छ, चियासंगै रम्दै आफ्नै ठाउँमा केही गर्न पाइयोस् । हातमा सर्टिपिकेट वोकेर वेरोजगारीको ताज पहिरिनु नपरोस ।

प्रतिक्रिया दिनुहोस्