Logo

झापा बिद्रोह र एमालेको वैचारिक आधार



तारामणि सापकोटा
सामन्तलाई नगिंडे, सैनिकसँग नभिडे
आउँदैन जनवाद, छम्छम् नाचेर झोली थापेर ।

बिक्रम सम्वत् २०२८ सालमा झापाका क्रान्तिकारी कम्युनिष्ट युवाले यही गीत गाउँदै वर्ग संघर्ष सुरु गरेका थिए । सामन्त सफाया अभियान संचालन गरेका थिए । क्रान्तिकारीले संचालन गरेको झापा बिद्रोहले राष्ट्रिय अन्र्राष्ट्रिय रुपमा तरंग ल्याएको थियो । निरंकुश पंचायती व्यवस्था र राजतन्त्र हल्लिएको थियो ।
रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, बिरेन राजवंशी, नारायण श्रेष्ठ, सीपी मैनाली, आर के मैनाली, केपी ओली, मोहनचन्द्र अधिकारी, नरेश खरेल, सानु दुर्गा अधिकारी, ठूलो दुर्गा अधिकारी, भिष्म धिमाल, मनकुमार गौतम, रामप्रसाद प्रधान, लीला कट्टेल, सीता खड्का, डिगेन राजवंशी, भेट्ला राजवंशी लगायतका दर्जनौं युवा बिद्रोहमा सहभागि भएका थिए । झापा बिद्रोह सामन्तका बिरुद्ध भएकाले यसलाई किसान बिद्रोह पनि भनिन्छ ।
झापा बिद्रोह चीनमा सन् १९४७ मा सम्पन्न जनवादी क्रान्ति, चिनियाँ सांस्कृतिक क्रान्ति र सन् १९६९ बाट नक्सलवारीबाट चारु मजमदारको नेतृत्वमा सुरु भएको किसान बिद्रोहबाट प्रभावित थियो । भारतको पश्चिम बंगालको नक्सलवादी आन्दोलनबाट प्रभावित झापाका क्रान्तिकारीले सामन्ती थिचोमिचोका बिरुद्ध बिद्रोहको धावा बोलेका थिए ।
झापा बिद्रोह क्रन्तिकारी भावनाले ओतप्रोत भई सुरु गरिएको भएपनि योजनाबद्ध बिद्रोह थिएन । यद्धपी यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई मार्ग निर्देश गरेको थियो । झापा बिद्रोहमा सामन्त सफाय अभियान तिव्र भएपछि पंचायती व्यवस्था चरम दमनमा उत्रियो । जसको परिणाम स्वरुप बिक्रम सम्वत् २०२९ साल फागुन २१ गते जेल सार्ने बहानामा सुखानी जगंलमा पाँच योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठको गोली हानी हत्या गरियो । जेल सार्ने बहानामा भएको हत्यापछि झापा बिद्रोहको एउटा अध्यायको अन्त्य भयो । पंचायती व्यवस्थाले त्यस बिचमा दर्जनौं क्रान्तिकारीको हत्या, धरपकड र चरम यातना दियो । निरंकुश पंचायतले बिद्रोहलाई दमन गरेपनि बिद्रोहका लक्ष्य र उदेश्यको व्यापक प्रचार भयो ।
झापा बिद्रोह नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेको दक्षिण्पन्थी संशोधनवादका बिरुद्ध थियो । चीनको साँस्कृतिक क्रान्ति र भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भई चारुको लाइन, माकर्सवाद, लेनिनवाद र माओ बिचारबाट प्रभावित थियो । क्रान्तिकारी, जोस, जाँगर र उत्साहबाट प्रेरित भई त्याग, समर्पण र बलिदानी भावनाले ओतप्रोत भएको युवा जमात क्रान्तिमा होमिएको थियो । वर्ग शत्रु र सामन्ती सत्ता ध्वंश गरी नयाँ जनवादी सत्ता स्थापना गर्ने लक्ष्य झापा बिद्रोहले लिएको थियो ।  झापा बिद्रोहले राजतन्त्रलाई प्रधान शत्रु र भारतीय हैकमवादलाई बाह्य शत्रु मानेको थियो ।
झापा बिद्रोहको लक्ष्य र उदेश्य किटान भएपनि पार्टी संगठनको प्रभाव, आधार र दिर्घकालिन योजना बिनानै हतियार उठाएकाले राज्यसत्ताले दमन गरेको हो । यद्धपी झापा बिद्रोहको राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्र प्रभावित बनेको थियो । दक्षिपन्थी कित्ताका नेता मनमोहन अधिकारी, भरतमोहन अधिकारी लगायतका तत्कालिन कम्युनिष्ट नेताले झापा बिद्रोहको बिरोध गरेका थिए । तर, नेपाली कांग्रेसका नेता बि पी कोइरालाले झापाका बामपन्थी युवाले गरेको बिद्रोहको प्रशंसा गरेका थिए । बिपीले व्यक्ति हत्याको बाटो प्रति असहमति जनाएका थिए । तर, कांग्रेसका तरुणले झापा बिद्रोहबाट सिक्नु पर्ने बताए । सामन्ती सत्ताको दनमका बिरुद्ध झापाका बामपन्थी युवाको आक्रोस झापा बिद्रोह भएको बिपीको निश्कर्ष थियो ।   
झापा बिद्रोहले नेपालको वैचारिक आन्दोनमा नयाँ आधार र जग खडा गरेको थियो । माक्र्सवाद, लेनिनवाद, माओविचार, चीनियाँ साँस्कृतिक क्रान्ति, रुसको बोल्सेभिक क्रान्ति, नक्सलवादी आन्दोलनको व्यापक प्रभार भयो । क्रान्ति र परिवर्तको पक्षमा युवालाई आकर्षित गर्यो । पंचायती सामन्ती सत्ताका बिरुद्ध जनस्तरमा घिर्णा र आक्रोस पैदा गरेको थियो । परिणामस्वरुप बि. स. २०३५ सालमा नेकपा माले कोअर्डिनेशन केन्द्र गठन भयो । दुई वर्ष पछि २०३७ सालमा नेकपा माले गठन भएको हो । झापा बिद्रोहको जगबाट माले हुँदै एमालेको निर्माण भएको हो । तर, झापा बिद्रोहलाई आजको नेकपा एमालेले कुन रुपमा लिएको छ । हिजोको क्रान्तिका अधार, बर्ग संघर्ष, न्याय र समानतामा आधारित समाज निर्माणमा उसको भूमिका कस्तो छ ? के झापा बिद्रोहका प्रभाव र छाप एमालेमा अझै कायम छ ? भन्ने अनेकौ प्रश्न उठेका छन् । झापा बिद्रोहको एमालेमा प्रभाव कायम रहेपनि विचार र सिद्धान्तमा भने धमिरा लागेको छ ।
क्रान्तिको संखनाद गर्ने एमालेले आज वर्ग संघर्ष, माक्र्सवाद लेनिनवाद, जनवादी सत्ता जस्ता वैचारिक मान्यता समाप्त भएको भन्दा अन्यथा हुँदैन । सीपी मैनाली सानो पार्टीका नेता छन् । मोहनचन्द्र अधिकारी अध्यात्मिकतामा लागेका छन् । आरके मैनाली राजावादी, मोओवादी हुँदै दुई दिन अघि फेरी एमालेमा फर्किएका छन् । सत्ता, शक्ति र प्रभावका हिसावले केपी ओली अग्रस्थानमा छन् । झापा बिद्रोहका एक मात्र प्रभावशाली नेता केपी आली हुन् । तर, उनले के झापा बिद्रोहको बिरासत थामेका छन् ? भन्ने वैचारिक प्रश्न उठेको छ । हुन त झापा बिद्रोहको समयमा केपी ओली नेतृत्व पाएपछि पलायन भएको उनका समकालिन नेताले बताएका छन् । पलायन भएका समयमा ओली पक्राउ परेको उनिहरुको तर्क छ । जे भएपनि एमालेका अध्यक्ष ओली माक्र्सवाद, लेनिनवाद, झापा बिद्रोह र कम्युनिष्ट मूल्य मान्यता र आदर्शमा चलेका छन् ? वा उनले पार्टीलाई त्यस दिशामा हिंडायन सकेका छन् ? भन्कने प्रश्न खडा भएको छ । एमालेका अहिलेका वैचारिक आधार भनेको संसदीय उदारवादी प्रजातन्त्र हो ।
माक्र्सवाद, लेनिनवाद र झापा बिद्रोहका लक्ष्य र उदेश्य उदारवादी संसदीय व्यवस्था हो ? केपी ओली परिवर्तनलाई जनताको पक्षमा पार्न सक्ने सर्वाधिक शक्तिसाली ठाउँमा छन् । उनले इतिहासलाई फर्केर हेर्ने हो भने जनता र पविर्तनको पक्षमा संविधान निर्माण गर्न सक्छन् । एमालेले वैचारिक सुधार गर्ने नाममा आफुलाई कम्युनिष्ट मूलय मान्यता र आदर्शबाट स्खलित बनायो । झापा बिद्रोहको बिरासत सत्तामा पुग्ने भर्याङ मात्र बनायो । देशमा कम्युनिष्ट मतदाताको ठूलो हिस्सा हुँदाहुँदै पनि सत्तामा गैरकम्युनिष्ट हावी हुँदै आएका छन् ।
माओवादी २०५२ सादबाट  सुरु गरेको जनयुद्धको केही बर्ष पछि जनयुद्ध झापा बिद्रोहको निरनतरता हो भन्यो । उसले झापा बिद्रोहलाई जनयुद्धसँग जोडने प्रयास गर्यो । माओवादीको यो बैचारिक निर्णयले झापा बिद्रहका भिष्म धिमाल, हर्क खड्का, मनकुमार तामाङ लगायतका नेता जोडिन पुगे । तर, माओवादी वैचारिक, सांगठानिक आधार भनेको झापा बिद्रोह होइन । यसर्थ झापा बिद्रोहका बास्तविक वैचारिक र सैद्धान्तिक मूल्य मान्यता र आदर्श बोक्ने पार्टी पनि होइन । माओवादीले झापा बिद्रोहका असफलताबाट शिक्षा लिएर जनयुद्धलाई गतिशील बनाउने आधार बनाएको हो । झापा बिद्रोहका लक्ष्य उदेश्य माओवादी जनयुद्धबाट केही पुरा गरेको छ । सामन्तवादको नाइके राजतन्त्र अन्त्यका लागि जनयुद्धको प्रमुख भूमिका रहेको छ । झापा बिद्रोहको वैचारिक प्रतिनिधित्व पछिल्ला दशकमा माओवादीले गरेपनि आर्थिक लक्ष्य र उदेश्य प्राप्तिमा भने प्राय सबै कम्युनिष्ट पार्टी असफल भएका छन् । सत्ता र शक्तिको पुजारी जस्ता देखिएका छन् । आजका दिनमा राजनीतिक उदेश्य केहिहदसम्म पुरा भएपनि न्याय र समानताको लक्ष्यका लागि अझै कति लड्नु पर्ने हो त्यो भने टुङ्गो छैन ।
 

प्रतिक्रिया दिनुहोस्