Logo
  बैशाख ७, २०८१ शुक्रबार

पत्रकारितामा रुपान्तरणको बहस



तारामणि सापकोटा ।
 ‘हामी कसैका अङ्ग होइनौं, शरीरको कुनै अङ्गलाई दिमागले परिचालन गरेको हुन्छ, राज्यको चौथो अङ्गको अर्थ राज्यको अङ्ग हुन्छ, अतः पत्रकारको परिभाषा बदल्नु पर्छ । ’नेपाल पत्रकार महासंघको बिराटनगरमा हालै सम्पन्न पूर्वाञ्चल भेलामाा महासंघ सप्तरी शाखाका अध्यक्ष प्रकास खतिवडाले यस्तो धारणा राखेका थिए । उनले पत्रकारलाई राज्यको चौथो अङ्ग भन्ने भनाई गलत भएको तर्क पेश गरे । उनले पत्रकारलाई राज्यको चौथो अङ्ग को सट्टा तेस्रो आँखा भन्ने गरिएको उपमा प्रयोग गर्नु सान्दर्भिक हुने बताए । प्रकास जीको जस्तै पत्रकार महासंघलाई कसरी शुद्ध पार्न सकिन्छ भन्ने सन्दर्भमा पूर्वाञ्चलका १६ जिल्लाका प्रतिनिधिले जमेर आफ्नो बिचार राखे ।
पत्रकारिता पेशामा नयाँ खाले समस्या र जटिलता आउन थालेका छन् । पकाकारको आलोचना गर्नु हुँदैन । पत्रकार रिसाएभने लेखि दिनछन् भन्ने मान्यताले नराम्ररी जरा गाडेको छ । पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकार र पत्रकार महासंघ अग्सर हुनु पर्दछ । पत्रकारको व्यवसायिकता, सीप र कलात्मक क्षमतामा बिकास हुँदै गएपनि समाजका नकारात्मक पक्षमा पत्रकार जोडिएर आउने कुरा चिनताको बिषय बन्दै गएको छ ।
पत्रकारिता व्यवसाय पनि होइन । यो समाज सेवा हो । समाज सेवामा लाग्ने व्यक्तिले नाफा होइन गुणात्मक सेवा खोज्नु पर्ने हो । पत्रकारितामा बिभिन्न नकारात्मक रुप देखिन थालेको छ । सेल्फ सेन्सरसीप पनि हावी हुँदै गएकाले त्यसलाई रोक्न सक्नु पर्दछ । मूलतः राजनीतिक तथा कर्पोरट हाउसका समाचारमा सेल्फ सेन्सरसीप हावी हुँदै गएको छ । पत्रकारितामा हुने स्व–नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । पत्रकारले धम्क्याउने भन्दा चाकरी गरेर आफ्नो दुनो सोझ्याउने, दाई पत्रकारिता, भाई पत्रकारिता, खाम पत्रकारिता जस्ता प्रवृति हुर्कदै गएको छ । यसता बिषयलाई कसरी सुधार गर्न सकिन्छ भन्ने भेलामा सहभागि सबैको चिन्ता र चासोको बिषय थियो ।
एनजीओ, आइएनजीओ लगायतले यातायात खर्च भनी दिने खर्च अव पत्रकारितामा समस्या बन्दै गएको छ । आरम्भमा स्वभाविक रुपमा लिएको यातायात खर्च आज खाम पत्रकारितामा रुपान्तरण हुँदै गएको छ । यो एयटा नकारात्मक प्रवृति बन्दै गएको छ । खाम छ राम्ररी समाचार लेख्ने, नत्र समाचार नलेख्ने वा लेखेपनि राम्रो स्थान नदिने । खाम छैन पत्रकारको उपस्थिति पातलो हुने, खाम छ पत्रकारको चाप बढेर आयोजकलाई संकट आई पर्ने । पत्रकारितामा देखिएको यस्तो प्रवृति तत्काल सूधार र नियन्त्रण गर्न १६ जिल्लाका अधिकांश प्रतिनिधिले खाम पत्रकारिता बन्द गर्नु पर्ने बताए । उपहार लिने, पत्रकारले मान सम्मान वा गैर पत्रकारिता क्षेत्रबाट प्राप्त हुने पुरस्कार पनि लिन नहुने लगायतका सुझाव केन्द्रीय समितिलाई दिएका छन् ।
पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिता कार्यान्वयन गर्न पत्रकार जागरण अभियान भनी पत्रकार सार्वजनिक सुनुवाईको अवधारणा अघि सारेको छ । झापा लगायतका केही जिल्लामा सार्वजनिक सुनुवाई समपन्न भएका छन् । अधिकांश ठाउँमा पत्रकारले गरेका गलत कार्य, गलत समाचार वा पत्रकारका आचरणका बिषयमा प्रश्न उठाएका छन् । वासतबमा पत्रकार भनेमा समाजकै प्रतिबिम्व हुन् । समाजमा भएका राम्रा नराम्रा सबै कुराको प्रभाव पत्रकारितामा पनि पर्दछ । तर अरुलाई औंला ठड्याउने पेशा अंगालेका पत्रकारका भूमिका स्वतन्त्र र निस्पक्ष हुने कुरामा कसैको दुई मत हुँदैन । समाजका दर्पण मानिएको पत्रकारिता मर्यादित हुन पर्दछ । अन्यथा पत्रकारले लेखेका समाचारमा नागरिक र पाठकको बिश्वास गुम्ने खतरा हुन्छ ।
पत्रकारलाई कसैले प्रश्न गर्न नहुने । पत्रकारले जे जस्तो आचरण देखाउन पनि हुने । समाजका नीति नियम भन्दा भिन्न हुन् भन्ने भ्रम हुनु । आफुलाई आम नागरिक भन्दा भिन्न ठान्ने । समाज वा कार्यक्रममा पत्रकारका लागि बिशेष सुहलियत र सुबिदा उपलब्ध हुनु पर्ने नभए समाचार नलेख्ने वा लेखेपनि कृतिम आलोचना गरेर लेख्ने । पत्रकारको आलोचना गरे प्रेस स्वतन्त्रताको बिरुद्ध आगेको भन्दै त्यसका बिरुद्ध  संगठित रुपमा लाग्ने जस्ता प्रवृति छ । हुन त एक दशक अघिको तुलनामा आजको पत्रकारिता धेरै सभ्य, मर्यादित र आसलाग्दो छ । यद्धपी पत्रकारिता जगतमा हुने खराबीले पत्रकारिताको बिकासमा अवरोध सृजना गरेको छ । यसर्थ देशको राजनीतिक परिवर्तन र प्रविधिको बिकासले पत्रकार पनि आलोचित हुने बिषय बन्दै अएको छ । स्वस्थ्य आलोचनाले जो कोहिलाई अघि बढ्न सघाउ पुग्दछ ।
पत्रकार जगतले राज्यका सबै संरचनाको आलोचना गर्दै आएको छ । तर, पत्रकार स्वयम् भने आलोचना मुक्त देखिएको छ । आलोचना मुक्त समाज वा अंकुश बिनाको कुनै निकाय वा व्यक्ति निरंकुश हुन्छ । यसर्थ पत्रकारलाई राज्यले होइन नागरिक समाजले आलोचना गरेर नियन्त्रण गर्नु पर्छ । यसले मात्र स्वच्छ र निश्पक्ष पत्रकारिताको बिकास हुन सक्दछ ।
स्वतन्त्र पत्रकारिताको अर्थ स्वच्छन्दता होइन । कर्तव्य र दायित्व बिनाको पत्रकारिता हुँदैन । अतः पत्रकारिताको आदर्श, मूल्य र मान्यतालाई स्थापित गर्ने उदेश्यले प्रेस काउन्सिलले गरेको सार्वजनिक सुनुवाई सान्दर्भिक देखिन्छ । काउन्सिलले पहिलो पटक आयोजना कार्यक्रम आयोजना गरेकाले सहभागिले सुलेर आलोचना गर्न डराए । यद्धपी सहभागिको सुझाव र प्रस्तुतिले पत्रकार आलोचना मुक्त छैनन्  भन्ने देखाउँछ । त्यसो त कयौ पत्रकारले नै सार्वजनिक सुनुवाई नियमित गरिनु पर्ने बताए । पत्रकार सार्वजनिक सुनुवाईलाई नियमित बनाउने हो भने पत्रकार प्रति नागरिकको भय हटेर जान्छ । आज प्रेस काउन्सिल र पत्रकार महासंघ पत्रकारका आचरणका बिषयमा रुमलिनु परेको छ । पत्रकारिता कस्तो छ भनेर छलफल हुनु पर्ने ठाउँमा पत्रकार कस्ता छने भनेर छलफल गर्नु परेको छ । यस्तो छलफल र बहसले हाम्रो पत्रकारिता कहाँ छ भन्ने संकेत गर्दछ ।  अतः पत्रकारितामा सूधार अरुले गर्देलान भन्न्े आश गर्ने भन्दा पत्रकार आफै अग्रसर हुनु पर्दछ ।  
 

प्रतिक्रिया दिनुहोस्