Logo
  चैत्र १६, २०८० शुक्रबार

माओवादी आन्दोलनमा विचलन



लेखनाथ न्यौपाने
केन्द्रीय सदस्य नेकपा
नेकपा–माओवादी

माओवादीविचलनको-सुरुआत

विचलनको सुरुआत
अब कसैले ढाँटेर ढाँट्न सक्ने अवस्था छैन कि माओवादी आन्दोलनमा विचलन आएको सत्य हो । यो स्थापित नै भइसक्यो । तर त्यसको जिम्मेवारी कसले कति लिने वा कसले लिनै पर्दैन भन्ने बहसको विषय होला । तर माओवादी आन्दोनल आलोचनाको केन्द्रमा आयो । आलोचना दुई कारणले भयो । पहिलो विचलन र अर्को कम्युनिष्ट आन्दोलनको विरोध गर्नै पर्ने विरोधीहरुको सनातन धर्म । हामीले विरोधीको कुरा होइन, नबिग्रिए हुन्थ्यो भन्ने सकारात्मक नियतका साथ जनस्तरबाट आएका गुनासा, टिप्पणी र आलोचनाका अधारमा आगामी बाटो तय गर्ने हो । मैले भनेकै शतप्रतिशत सत्य भन्ने घमण्ड गर्दिन । तर विचलनको सुरुआत र उत्कर्षको अवधि पहिलो संविधानसभाको निर्वाचनदेखि संविधानसभा विघटन नहुँदासम्मको अवधि हो । युद्धबाट आएको पार्टीले संसारमा अहिलेसम्म यति ठूलो जनमत पाएको इतिहास संसारमा छैन । दोश्रो हुने दल त कति हो कति पछि थियो त्यसको कुरै नगरौं ।

रुसमा क्रान्ति सम्पन्न भएपछि भएको निर्वाचनमा लेनिनको पार्टी बोल्सेभिक दोश्रो भएको थियो । तर हामी ठूलो भयौं । जनताले हाम्रा एजेण्डा, प्रतिबद्धता र व्यवहार हेरेर मत दिएका थिए । तर हामी जनचनाअनुसार अघि बढ्न सकेनौं । त्यो चाहे सदन र सरकारमा गएर होस् वा अरु पार्टीहरुसँगको सहकार्य र संघर्षका क्रममा होस् । जनताले परम्परागत संसदवादी र हाम्रो सरकारमा देखिने गरी भिन्नताको अनुभूति गर्नै पाएनन् । संविधानसभा विघटनको पूर्वसन्ध्यामा हामीले हाम्रा कमजोरी र सीमाहरुको गम्भीरतापूर्वक समीक्षा गर्नुपथ्र्यो । सेना समायोजन गर्दा हामी नराम्ररी चुक्यौं । ठूलो पार्टी हुनुको नाताले त्यही अनुसार जिम्मेवारीहरु बहन गर्नुभन्दा वा जनताको सेवामा फर्कनुभन्दा हामी व्यक्ति विशेषका व्यवस्थापनमा केन्द्रित भयौं । आन्दोलनको भविष्यसँग कसैलाई सरोकारै भएन । आन्दोलनको शक्तिलाई दुरुपयोग गरेर केही पहुँचवाला नेता र ती नेता वरिपरिका केही मानिसहरु बन्ने प्रक्रिया तीव्रतामा गयो । त्यही कारण पार्टी विचलन हुँदै विभाजनकारी दुर्घटनामा फस्यो । हामीले जनताका बीचमा हिजो गरेका बाचा सहर आएपछि बिर्सियौं ।

हाम्रो उद्देश्यमा तुवाँलो लागेजस्तो भयो । हो कहिले काहीं आन्दोलन हार्न सक्छ । संसारमा सफलताको नजिक पुगेका ठूल्ठूला आन्दोलन असफलताको शिकार भएका उदहरण धेरै छन् । तर हाम्रो आन्दोलन हार्ने, तर केही सीमित नेता कार्यकर्ता जित्ने जस्तो हुन गयो । हामी कार्यकर्ताभन्दा नेता फरक र जनताभन्दा कार्यकर्ता फरक भयौं । नेताले कार्यकर्ताको र कार्यकर्ताले जनताको विश्वास गुमाएपछि सुरु भएको विचलन, विघटन र ओरालो यात्र जारी छ । पार्टी नेतृत्वले गम्भीरतापूर्वक आधारभूत जनताका आकांक्षा, आवश्यकता र मनोविज्ञान बुझ्ने काम गरेन । जनयुद्धबाट आएका कार्यकर्ताका पीडाबारे कसैलाई वास्ता भएन । बाहिर देखिएका वा पर्दा पछाडिका जे जे कारणले भए पनि माओवादी आन्दोलन कमजोर र रक्षात्मक भयो । हामी अब घेराबन्दीको उत्ककर्षतिर जाँदै छौं । त्यसको महसुस बेलैमा गर्न सकिएन भने झन् डरलाग्दा दुर्दशाका दिनहरु आउनेछन् । अझै पनि विवेकपूर्वक अगाडि बढ्ने हो भने सम्हाल्नै नसकिने अवस्था छैन । माओवादी आन्दोलनको पुनर्गठन जरुरी भएको छ । त्यसका निम्ति ४० को दशकबाटै जनयुद्धको पहलकर्ता पाँचजना नेताहरु प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल र देव गुरुङ सबैभन्दा बढी गम्भीर हुनुपर्छ । त्यसमा पछि थपिएका र एकता प्रक्रियाबाट आएका नेताहरुको पनि भूमिका हुँदैन भन्ने चाहिं होइन ।

यो हो विचलनको कारण

मिहिन समीक्षा गर्दै जाँदा पार्टीमा विचलन आउनुमा धेरै कारण पत्ता लगाउन सकिएला । तर सबैभन्दा महत्वपूर्ण कारण पार्टीमा सामूहिक नेतृत्व प्रणाली कमजोर हुनु हो । कम्युनिष्ट पार्टी सामूहिक नेतृत्वका आधारमा सञ्चालन हुनुपर्ने हो । सैद्धान्तिक रुपमा स्विकार गरिए पनि कामकाजी हिसाबले सामूहिक नेतृत्वको अध्यास कमजोर भयो । हामीले नेतृत्वलाई शक्तिशाली बनायौं । आन्दोलन सही तवरले हाँक्न त्यो आवश्यक र जरुरी पनि थियो । तर त्यसको गज सामूहिक भएन । सामूहिक नेतृत्वको जगबाट नेतृत्व विकास नहुँदा जग नै कमजोर भयो ।

विचलन एकैपटक हुँदैन । पार्टीका सबै कार्यकर्ताले विचलनबारे एकैपटक चाल पाउन पनि सक्दैनन् । एकैपटक ह्वात्तै विचलन आइदिएको भए सबैलाई एकैपटक बुझाउन पनि सजिलो हुन्थ्यो । तर विस्तारै आएको विचलन बुझाउन कठिन हुन्दो रहेछ । जब विचलन सबैले महसुस गर्ने तहमा पुगेको हुन्छ त्यतिबेला आन्दोलन धारासायी भइसकेको हुन्छ । नेतृत्वले बाटो बदलेको समयमै सबैले थापा पाउन सकिएको भए आज यो अवस्था भोग्नुपर्ने थिएन । तर सीमित नेता कार्यकर्तालाई थाहा भयो, बहुसंख्याले त्यसको भेउ नै पाउन सकेन । थापा पाएका सीमितले नेतृत्वलाई समयमै बदल्न सकेनन् । माओवादी आन्दोलन रक्षात्मक अवस्थामा पुगेको मौका छोपेर विरोधी शक्तिले जनयुद्धको उद्देश्य नै नकारात्मक थियो भन्ने प्रचारबाजी जोडतोडले गरिरहेका छन् । तर हामीले राम्रो परिणामका लागि जनयुद्धको थालनी गरेका थियौं । हामी वर्गविरोधीले निकालेको निष्कर्षमा सहमत हुन थाल्यौं भने थप बर्बाद हुनेवाला छ । कुनै पनि समूहमा रहेका माओवादीहरु उनीहरुका त्यस्तो निष्कर्ष र समीक्षाको भ्रममा पर्न हुँदैन ।

समीक्षा गरौं, तर अघि जानका लागि
सहर आएपछि हामी यतैको रमझममा भुल्यौं । हामीले गाउँ छाड्यौं । जनयुद्धका बेला गाउँकै जनताले खेदेका काँग्रेस–एमाले गाउँ फर्किए । तर माओवादी सहरमा केन्द्रित भए । यो उल्टो भयो । हामीले गाउँ र सहरको काम र कार्यविभाजनको सन्तुलन सही ढंगले मिलाउन सकेनौं । हामी विगतमा कहाँकहाँ चुकेका थियौं, आगामी बाटो स्पष्ट गर्नका लागि त्यसको समीक्षा गर्न त जरुरी छ नै । तर त्यसैमा मात्र दिन गुजार्ने र बिग्रनुको जिम्मेवारी अर्काको थाप्लोमा हालेर आफू चाखिन खोज्ने य्रयत्न भयो भने आगामी दिन हाम्रा लागि झन अन्धकारमय हुनेछन् ।

विभाजनको कारण
पार्टी विभाजन आफैंमा सकारात्मक विषय होइन, थिएन । नेपाली कम्युनिष्ट आन्दोलनमा विभाजन विभाजन सनातन धर्मजस्तै हुन गएको छ । विभाजन कहिले सही र कहिले सही सावित नहुन पनि सक्छ । चौथौ महाधिवेशनदेखि ५० को दशकसम्म कम्युनिष्ट पार्टीहरुमा आएको विभाजनले सर्वत्र निराशा छाएको थियो । तर ०४७–०४८ आसपासमा प्रचण्डको अग्रसरतामा भएको एकता महाधिवेशनले आशावादीता बढायो । त्यसैको जगमा जनयुद्धको सुरुआत हुन सक्यो । फुटपछि अरुलाई गलत र आफूलाई सही सावित गर्ने होडमा हुँदै नभएका विषयलाई पनि अतिरञ्जनापूर्ण प्रचार गर्ने गरिएको छ । हामी पनि त्यसबाट अछुतो रहन सकेनौं । जस–जसले त्यसो गरेको भए पनि परिणामको भागिदार भने हामी सबै भइरहेका छौं ।

फुट ठीक वा बेठीक थियो भन्नेबारेमा समीक्षा त गरौं, तर त्यत्तिले मात्र अब पुग्दैन । फुट कसका कारण भयो भनेर अल्मलिने समय हामीसँग छैन । फुटलाई एकता र ध्रुवीकरणको प्रक्रियासँग जोडेर समीक्षा गर्नुपर्छ । ध्रुवीकरणको वातावरण निर्माण गर्नुको साटो इतिहासको चिहान उधिन्न थालियो भने त्यो देश, जनता पार्टी कसैको पनि हितमा हुँदैन । एमाओवादी विभाजन भएर नेकपा–माओवादी बन्दा जे कारणले फुट भएको थियो । पछिल्लो विभाजनमा त्यो कारण थिएन । पहिलो विभाजन कार्यदिशा र विचारको विवादले भएको थियो । दोश्रो विभाजन विचार र कार्यदिशामा एकरुपता हुँदाहुँदै कार्यविभाजनका कारणले भएको हो । चुनावमा गएको माओवादी ले नराम्रो पराजय व्यहो¥यो । चुनाव बहिस्कार गरेको माओवादीले एजेण्डा सही हुँदाहुँदै पनि एजेण्डालाई पार लगाउने पहलतकर्ता हुन सकेन । सबै शक्तिको सहमतिबिना संविधानसभा निर्वाचन गराइए संविधान आउन सक्दैन भन्ने हाम्रो त्यतिबेलाको निष्कर्ष घटनाक्रमहरुले पुष्टि गरेका छन् । तर राष्ट्रियकरण भइसकेको एजेण्डाको पहलहर्ता हामी हुन सकेनौं ।
विभाजनपछिको अवस्था
पार्टी विभाजनका कारण आएका परिणामहरुलाई राजनीतिक हिसाबले हेरिनुपर्छ । विभाजनको पहिलो परिणाम समग्रमा माओवादी आन्दोनल र त्यसका एजेण्डा कमजोर हुनु हो । पत्रिका पसल, चिया पसल, सार्वजनिक यातायात र चौतारामा कुनै पनि माओवादीका कार्यकर्ताले म माओवादी हुँ । माओवादी आन्दोलन यी यी कारणले सही थियो । यस कारण अहिले पनि सही छ र भोलि यसले ल्याउने परिणाम जनताका पक्षमा हुनेछ भनेर खुलेआम भन्न सक्ने अवस्था छैन । माओवादी नेता कार्यकर्ताको नैतिक बल हराएको छ । यो सबैभन्दा डरलाग्दो दुरावस्था हो । एउटा गाविसमा एउटा राम्रो माओवादी कार्यककर्ता को को हो भनेर खोज्दा भेटिने अवस्था छैन । के यो हाम्रो प्रतिकूलता होइन रु हिजो साराका रासा गाउँ जगाएर आन्दोलनको सफल नेतृत्व गरेको शक्ति आज गाउँमा छैन रु भौतिक उपस्थितिका हिसाबले हिजोका माओवादी आज पनि छन्, तर नैतिक बल गिरेका माओवादी भएर पनि नभएकाजस्ता छन् । माओवादीहरुको नैतिक र वैचारिक धरातल कमजोर भएको मौकामा माओवादी सकाइयो भनेर विरोधी खुसी भएका छन् । दिनहुँ खोज भतेर गरिरहेका छन् ।

विभाजनका कारणले पनि सबै
माओवादी जनतामा अलोकप्रिय बन्न गएको छ । आफैं मिल्न नसक्नेले जनताका लागि के गर्लान् र रु भन्ने प्रश्न उठ्ने गरेको छ । विभाजनपछि एउटाले अर्कालाई ड्यास, कसैले क्यास, कसैले झ्यास र पछिल्लो पटक ग्यास भन्ने अवस्थासम्म पुगेको छ । एउटालाई अर्काले क्यास, ड्यास, झ्यास र ग्यास भन्दा अर्को हाँस्ने अवस्था जुन छ यो बिडम्बनापूर्ण अवस्था हो । यो हाँसोको विषय होइन, बरु माओवादी आन्दोलन कमजोर पार्न गरिएको प्रचार हो । यो यथार्थता थापा पाएर र वा अनजानमा हामी त्यसैको पछिपछि बहकिने काम गरिरहेका छौं । आन्दोलन असफल हुनुको अर्थ नेता कार्यकर्ता पनि असफल हुनु हो । विभाजनको परिणाम सबै असफल भए ।

अब नमिल्दा आउन सक्ने परिणाम
माओवादी आन्दोलनमा एकता र ध्रुवीकरण जरुरी भएको छ । नमिल्दा आन्दोलन थप कमजोर हुँदै प्रतिकुलतामा फस्ने खतरा छ । माओवादीहरु मिल्न जति ढिलो हुँदै जान्छ । विरोधीहरुको माओवादी शक्तिविरुद्धको घेराबन्दी थप कसिलो हुँदै जान्छ । हामी राजनीतिक र वैचारिक हिसाबमा त सकिन्छौं नै, भौतिक रुपमै सकिने अवस्था आउन सक्छ । नेताहरुले समयमै कुरा बुझ्न सकेनन् भने घेराबन्दीबाट उम्कन सकिने छैन । घेराबन्दीको अन्तिम परिणाम विघटन हुनु हो । खरानीको थुप्रोमात्र बाँकी रहेपछि सोच्नुको कुनै अर्थ रहने छैन । पुरानो सत्ताका सञ्चालक र अन्तर्राष्ट्रिय शक्तिहरु माओवादी आन्दोलन त्यसै गरी सकाउन चाहन्छन् । विगतका अनुभव पनि त्यस्तै छन् । अन्तर्राष्ट्रिय शक्तिले हामीलाई माया गर्छन्, स्पेश दिन्छन्, भन्ने ठान्ने हो भने त्यो झन् खतरनाक हुन्छन् । एकता जरुरी छ । त्यसमा
पात्र र प्रवृत्ति सहमत र असहमत हुन्छन्, त्यो भोलिका कुरा हो । तर माओवादी आन्दोनलको पुनर्गठन प्रक्रिया थाल्न ढिलो गर्नु हुँदैन । समीक्षा त गर्नुपर्छ तर, सकारात्मक शिक्षा दिने गरी समीक्षा गर्नुपर्छ ।

अझै पनि अर्कालाई खुल्याउने र आफू राम्रो बन्ने कोसिस यदाकदा हुने गरेको छ । यो भविष्यका लागि घातक छ । हामी सबै धारका माओवादी जनताबाट विस्थापित भएका छौं ।
उकअर्कालाई खुइल्याउने धन्धा छाडेर जनतामा फेरि कसरी स्थापित हुने भन्ने विषयलाई केन्द्रमा राखेर पनुर्गठन अभियान चलाउनुपर्छ । ‘क्लासिकल’ सैद्धान्तिक कुरा मात्र गरेर पनि हँुदैन । समाजको नयाँ पुस्तालाई आकर्षित गराएर आन्दोलन पुनर्गठित गर्नुपर्छ । क्लासिकल कुराले नयाँ पुस्ता हामीतिर आकर्षित हुँदैन । सिद्धान्तलाई व्यवहारसँग र समाजको आजको आवश्यकतासँग जोड्नुपर्छ । नेता कार्यकर्ताको जीवनलाई जनताको जीवनसँग जोडेर जानुपर्छ । नयाँ पुस्ता र समाजको मनोविज्ञान बुझेर अघि बढ्न नसक्ने कम्युनिष्ट पार्टीको अस्तित्व आफैं कमजोर भएर जान्छ ।
कम्युनिष्ट पार्टी कस्तो हुनुपर्छ रु कस्ता चरित्र र व्यवहार भएकालाई पार्टी सदस्यात दिने हो भन्ने विगतमा प्रष्ट भइएन । कम्युनिष्ट नैतिकता र आदर्शबारे केही थाहा नभएका मानिस पार्टीको उपल्लो नेतृत्वमा पुग्न सफल भए । त्यसैले पुनर्गठन अभियानसँगै मानिसको आचरण, इतिहास र नैतिकता हेरेर पार्टी सदस्यता दिनेबारे ख्याल गर्नुपर्छ । धेरै सदस्य भएको पार्टी बनाउँदैमा त्यो गुणात्मक हुने होइन । हाम्रो आन्दोलनमा कसैले ख्याल गर्न नसकेको कुरा यो पनि हो । जथाभावी मानिसहरु भित्र्याउने र उनीहरुलाई प्रशिक्षित नगर्ने कारणले हामी जनतामा बदनाम भएका छौं । त्यसैले आचार, नैतिकता, दैनिक जीवन, परिवार, समाज र जनतासँगको सम्बन्धबारे नयाँ ढंगले नसोची हामी रुपान्तरण हुन सक्दैनौं । रुपान्तरण नभई ध्रुवीकरण र पुनर्गठन हुन सक्दैन ।
कार्यनीतिक हिसाबले चुनावको उपयोग गर्दा वा आन्दोलाई नयाँ ढंगले उठाएर गन्तब्यमा पुग्न हाम्रो रुपान्तरण र ध्रुवीकरणबिना सम्भवै छैन । आन्दोलनले धक्का खाएसँगै जनता र नेता कार्यकर्तामा निशारा छाएको छ । आन्दोलनमा कसैले भविष्य नदेख्ने अवस्था आएको छ । भविष्य अन्धाकार देखेपछि कार्यकर्ताले नेताविरुद्ध गाली गलौजमा उत्रनु स्वभाविक हो । गाली जलौजलाई शक्ति र उर्जामा बदल्न पुनर्गठन जरुरी छ ।

वर्गीय मुद्धामा हामी कमजोर भयौं । वर्गीय मुद्दामा जितेपछि जातीय, क्षेत्रीय र लैंगिक उत्पीडन अन्त्य हुने हो । वर्गीय मुक्तिबिना जातीय, क्षेत्रीय र लैंगिक मुक्ति सम्भव छैन भन्ने हामं्रो निष्कर्ष थियो । वर्गीय मुक्तिअन्तर्गत, जातीय र लैंगिक मुक्ति भन्नुको अर्थ वर्गीय मुक्तिको एजेण्डालाई जोड दिने भन्ने हो । तर यो कुरा हामीले प्रष्टसँग जनतालाई बुझान सकेनौं । पहिला जातीय, क्षेत्रीय र लैंगिक मुक्ति, त्यसपछि मात्र वर्गीय मुक्ति भन्नेजस्तो आमबुझाइ भयो । पार्टी पंक्तिभित्रै त्यसबारे प्रसस्त द्विविधाहरु रहन गए । यही मौकाको फाइदा उठाएर विरोधीले जातीवादी आरोप लगाए । हामीबाट भएका सामान्य व्यवहारिक कमजोरीलाई आधार बनाएर हाम्रो आन्दोलनलाई विवादमा तान्न खोजियो । हामीले कहिल्यै जातीय राज्य मागेका छैनौं । त्यो सम्भव पनि छैन । पहिला वर्गीय उत्पीडिनको अन्त्य नभई जातीय, क्षेत्रीय वा अन्य उत्पीडन अन्त्य हुन सम्भव छैन । यदाकदा हामीबाट पनि वर्गीय मुद्दा छाडेर सहायक मुद्दालाई बलियो बनाएजस्तो गरियो । अरु जनतामा हाम्रो विरुद्ध गलत प्रचार गर्न विरोधी सफल भए । संगठनको शक्ति प्रयोग गरेर भ्रम चिर्ने प्रयास नै हामीले गरेनौं ।

एउटा गाउँमा एक जनामात्र राम्रो माओवादी कार्यकर्ता बनाउन सकियो भने पनि अहिलेका लागि काफी हुन्छ । वैचारिक रुपमा स्पष्ट, नैतिक हिसामले बलशाली र गतिशील माओवादी कार्यकर्ताको खाँचो छ । एउटा गाउँमा एउटा त्यस्तो कार्यकर्ता बनाउन सकियो भने त्यसैले सिंगो गाउँको नेतृत्व लिन सक्छ । अहिले त गाउँमा कि त माओवादी नै छैनन् । भएका पनि कमजोर छन् । हाम्रो आधार कमजोर भएको मौका छोपेर बुर्जुवा पार्टीहरु हाबी भएका छन् । यही कारणले पुराना शक्तिसँगको हाम्रो लडाईं गाउँदेखि नै कमजोर भएको छ ।
काठमाण्डौं टुडेबाट
 

प्रतिक्रिया दिनुहोस्