Logo

आन्दोलन, संविधान र माओवादी एकता



तारामणि सापकोटा    
जनयुद्धमा प्रचण्डको नाममा अनेक मिथक सुनिन्थ्यो । माओवादी वा प्रचण्डको नामबाट जारी हुने चार लाइनको बिज्ञप्ति संसारभरका मिडियाका लागि समाचारको राम्रो स्रोत बन्ने गरेको थियो । खुला हूँदापनि प्रचण्ड र माओवादीको प्रभावमा कमी थिएन । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी हुँदा दुनियाँ नै आश्चर्यमा पर्यो । संविधानसभाको त्यहि तागतले देशमा गणतन्त्र सम्भव भयो । तर, दोस्रो संविधानसभाको निर्वाचनमा एमाओवादी तेस्रो पार्टी बन्यो । प्रत्यक्षमा एक सीट पनि नल्याएको राजावादी पार्टी राप्रपा नेपाल भन्दापनि कतिपय जिल्लामा जनमतमा पछि पर्यो । यस परिणाम पछि धेरैले एमाओवादी सकियो भन्ने निस्कर्ष निकालेका थिए ।
तर, एमाओवादीले संविधानसभामा उठाएका आफ्ना एजेण्डा सहमतिका नाममा लगभग छाडेको अवस्था थियो ।

प्रचण्ड निरिह जस्तै बनेका थिए । कांग्रेस एमालेसँग कुनै न कुनै प्रकारको सहमति गरेर संविधान निर्माणको स्वामित्व लिन चाहान्थ्यो एमाओवादी । तर, कांग्रेस एमाले त्यसका लागि तयार भएनन् । एमाओवादी बिरालाको पञ्जामा परेको जिउँदो मुसो जस्तो भएको थियो । प्रचण्डले केपी ओली निवास बालकोट र प्रधानमन्त्री सुशिल कोइराला निवास लाजिमपाटको ढोका धेरै ढकढक्याए । तर, कांग्रेस एमाले एमाओवादी र प्रचण्डलाई पनि संविधान निर्माणको जस दिन तयार भएनन् । अझ एमाले त एमाओवादीलाई कहिल्यै उठन नसक्ने बनाएर नेपालको एकमात्र कम्युनिष्ट भइरहने योजना बनाउन थाल्यो । सुशिल कोइराला सत्ता जाला भन्ने सोंचले एमालेका अघि निरिह बने । बास्तवमा सहमति हुन नसक्नुको प्रमुख कारण यहि हो ।
संविधानसभा भित्र माघ ५ गते एमाओवादी सभाषद्ले जे गरे त्यासको सर्वत्र आलोचना भयो । तर, भिजेको मुसो जस्ता निरिह बनेका देशभरका एमाओवादी कार्यकर्तालाई त्यसले संजिवनी बुटीको काम गर्यो । प्रचण्डको अनुनयविनय कांग्रेस एमालेले नसुनेकोमा कार्यकर्तामा निरासा र आक्रोष बढ्दै थियो । त्यसकै परिणति थियो संविधानसभा भित्रको तोडफोड । त्यस घटनाले देशभर लम्पसार परेर सुतेका कार्यकता उठ्न थाले । फागुन १६ गते काठमाण्डौंमा भएको जनसभा कार्यकर्ताको हिंडाइको चाल थियो ।

प्रचण्डले केपी ओलीलाई धेरै पटक धन्यवाद दिएका छन् । ओलीले हेपेर बोल्ने, माओवादीलाई तुच्छ शब्द प्रयोग गर्नाले आन्दोलन अघि बढेको भन्दै धन्यवाद दिए । ओलीको आलोचना एमाओवादी मात्र होइन अरु माओवादी कार्यकर्तालाईसमेत उर्जा प्राप्त गर्ने अस्त्र बन्यो ।
ओलीले मधेसवादी दललाई तराई खोज्न बिहार र यूपी जानु भन्ने प्रतिक्रियाले त सत्तामा जान लागेका गच्छरदार लगायतका दललाई एमाओवादीसँग मिलेर आन्दोलन गर्न बाध्य बनायो । नाम मात्रको मोर्चा ओलीको अराजनीतिक आलोचनाले थप सशक्त बन्यो । ओलीको गालीले निरास भएका माओवादी कार्यकर्तामा शक्ति मात्र प्रदान गरेन मधेसवादी दलसँगको मोर्चा झन कसिलो बन्यो ।


माओवादी सकियो ठानेर डलरको खेलो गर्ने अधिकारवादीको कुरा सुनेर सत्ताको इसारामा सर्वोच्च अदालतको राजनीतिक निर्णयले फुटेर धुजा धुजा भएका माओवादीलाई एक बनायो । प्रचण्डको पार्टी छाडेर बैद्य र बिप्लवमा जान खुट्टो उचालेका कार्यकर्ता ठिंङ उभिए । प्रचण्ड सडकमा आएपछि बैद्य र बिप्लव ओझेलमा परे । आज बिप्लव बाहेक अन्य चार माओवादी पार्टीसँग पार्टी एकता लगभग अन्तिम टुङ्गोमा पुगेको छ । एमाओवादी र प्रचण्डका लागि यो अर्को सफलता र उपलब्धी हो । कमजोर, निरिह, अपहेलित बनेका प्रचण्ड फेरी तागतदार बन्दै गएका छन् ।


हुन त प्रचण्ड ठूलो पार्टीको नेता हुँदा होस वा तेस्रो दलको नेता हुँदा । नेपालको राजनीति उनकै ओरीपरी घुमेको छ भन्दा अन्यथा हुँदैन । प्रचण्डसँग अहिले ३० दलीय मोर्चा र माओवादी मोर्चा दुवै तागत छन् । माओवादीका लागि सर्वोच्चको फैसला यस्तो मसला बन्दियो कि यो निर्णय कांग्रेस एमालेले त्यति सजिलै उल्ट्यन सक्ने अवस्था छैन । कांग्रेस एमालेका लागि मात्र होइन यो बिषय अव अदालतका लागि पनि गलगाँड बन्ने निश्चित छ । एमाओवादीले अदालतको पुनरसंरचनाको कुरा उठाइरहँदा अदालतले बिस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानलाई कुल्चेर गरेको फैसला अव यति बिवादित बन्दै छ कि यसलाई अदालत स्वयम्ले सच्याउन सक्दैन । अदालतको फैसला बिरुद्ध हजारौं जनताले सडकबाट चनौती दिएको बिषयलाई अदालतले हलुका ढंगले लिन मिल्ला र ?


कांग्रेस एमालेको अहंकार र अदालतको फैसलाको प्रतिक्रियामा उठ्दै गएको ३० दलीय आन्दोनले आफ्ना एजेन्डालाई कति सार्थक बनाउन सक्ला त्यो त भोलीका दिनमा नै देखिनेछ । तर, ३० दलले गर्ने आन्दोलनले एमाओवादी, मधेसवादी लगायतका दलसँग जनतासँग टुट्दै गएको सम्बन्ध जोडदै छ । यसले छिन्नभिन्न भएको माओवादीलाई एकीकृत हुने मार्ग बनाएको छ । खासमा एमाओवादीसँग टुट्दै गएको जनताको सम्बन्ध स्थापित मात्र गर्दैन, संगठन र बिचार निर्माणमा अस्ताव्यस्त एमाओवादीले गति प्राप्त गर्न थालेको छ । पार्टीको गुटबन्दी हराएको छ । जिल्ला कमिटीको कोरम नपुग्ने एमाओवादीको अहिले गाउँ कमिटीका बैठक बस्ने र योजना बनाउने काम हुन थालेको छ । आन्दोलनले संविधान बनाउँछ बनाउँदै तर एमाओवादीलाई भने बनाउँदै लगेको छ ।  


कांग्रेस एमाले र अदालतले बिपक्षिलाई सडकमा हुत्याए । जुन उनिहरुका लागि दूरभाग्य बन्दै गएको छ । पहिलो संविधानसभा पछि जसरी माओवादी ओरालो लागेको थियो । कांग्रेस एमालेको अहंकारले उनिहरुलाई सक्तै लगेको छ । कांग्रेस एमालेलाई भारतलाई धेरै सल्लाह नदिन भने । अझ एमाले अध्यक्ष ओलीले भारतीय राजदूतलाई हामी आफ्नो मुद्धा आफै मिलाउन सक्षम छौं भन्ने प्रतिक्रिया दिए । भारतले खुला टिपपणी त गरेन । तर, पूर्वपंचहरुको पार्टी राप्रपा र राप्रपा नेपालको एकीकरणलाई संयोग मात्र मान्नु हुँदैन । दुबै पार्टीका शिर भनेको भारत नै हो । राप्रपाको एकीकरण र आदिवासी जनजाति महासंघले चलाउने ककसले कांग्रेस एमालेको दुई तिहाई गफाडीको गफ मात्र नहोला भन्न सकिन्न ।  

 

प्रतिक्रिया दिनुहोस्