Logo
  माघ ८, २०७८ शनिबार

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव घालीको निधन



संयुक्त राष्ट्रसंघ, ५ फागुन । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बु्त्रोस बुत्रोस घालीको ९३ वर्षको उमेरमा मङ्गलबार निधन भएको समाचार छ । 

इजिप्टका राजनीतिज्ञ एवम् कूटनीतिज्ञ घालीले संयुक्त राष्ट्रसंघको महासचिवका रुपमा सन् १९९२ देखि १९९६ सम्म काम गरेका थिए । उनको जन्म सन् १९२२ को नोभेम्बर १४ मा भएको थियो । उनी अरेबियाली राष्ट्रको तर्फबाट संयुक्त राष्ट्रसंघको महासचिव हुने पहिलो व्यक्तित्व हुन् । 

उनको निधनप्रति राष्ट्रसंघीय महासचिव बान कि मुनले दुःख व्यक्त गरेका छन् । उनले इजिप्टका एकजना वरिष्ठ राजनीतिज्ञ मात्र नभएर एक सम्मानित व्यक्तित्व भएको धारणा राखे । उनको निधनको शोकस्वरुप राष्ट्रसंघीय सुरक्षा परिषदले मङ्गलबार बिहान एक मिनेट मौनधारण गरेको थियो । 

महासचिव घालीले संयुक्त राष्ट्रसंघलाई शीतयुद्धकालीन समयपछि गतिदिन र विशेष रुपमा राष्ट्रसंघलाई थप कार्यक्षमता प्रदान गर्न ठूलो सहयोग पुर्याएका थिए । उन आफू प्रमुख हुदा संयुक्त राष्ट्रसंघको संरचनागत र व्यवस्थापकीय सुधारका लागि ठूलो काम गरेको जनाइएको छ । 

उनले इजिप्टको राष्ट्रिय मानवअधिकार परिषदको अध्यक्ष भएर काम गरेका थिए । तर सन् २०११ मा होसनी मुबारकको शासनको अन्त्यपछि उनले सो परिषदबाट राजिनामा दिएका थिए । 

उनले सन् १९४९ मा पेरिस विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानुनमा विद्यावारिधी उपाधि हासिल गरेका थिए । उनी राष्ट्रसंघमा विकासका लागि एजेण्डा भन्ने विशेष कार्ययोजनाका कारण बढी चर्चामा आएका थिए । उनी सन् १९८७ मा इजिप्को सांसद बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्