Logo
  माघ ८, २०७८ शनिबार

सिरियामा आत्मघाती हमलामा १५० जना मारिए



सइदा जिनाब (सिरिया), १० फागुन । सिरियाको राजधानी सहर र होम्स सहरमा आइतबार भएका विभिन्न आत्मघाती हमलामा परी कम्तीमा पनि १५० जना मारिएको खबर छ । 

मुस्लिम जिहादीहरुले ती हमला सिया मुस्लिम समुदायका मस्जिदलाई लक्ष्यगरी गरेका बताइएको छ । मस्जिदको नजिकै गरिएका हमलामा ती सर्वसाधारण मारिएका हुन् । संयुक्त राज्य अमेरिका र रसियाले सिरियामा युद्धविरामका लागि आग्रह गर्न गृहकार्य गरिरहेको भनिएका बेला यता सिरियामा भने यी हिंसात्मक हमलाहरु जारी छन् । 

उक्त हिंसाको पछाडि इस्लामिक स्टेट्सको हात रहेको पाइएको छ । उक्त समूहले नै सो हिंसामा आफ्नो हात रहेको बताएको हो । अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाली सरकारलाई युद्धविरामका लागि आग्रह गर्ने तयारी भइरहेको र यसको प्रक्रिया क्षेत्रीय रुपमा सुरु भएको बताएका छन् । 

राजधानी दमास्कसको नजिकै दुईजना आत्मघातीले कार बम विस्फोट गराएका थिए । उनीहरुले सिया मस्जिदको नजिकमा पारेर सो बम विस्फोट गराएका थिए । सिरियाली प्रहरीले त्यहाँको प्रहरीलाई उद्धृत गरी दिएको समाचारअनुसार उक्त हमलामा परी १७८ जना घाइते भएका जनाएको छ । 

प्रहरीले घाइते हुनेमा बालबालिका र महिला धेरै परेका पनि समाचारमा जनाएको छ । गत जनवरी महिनामा पनि सोही क्षेत्रमा नै आइएसले यस्तै हमला गरेको थियो । उक्त आत्मघाती हमलामा परी कम्तीमा पनि ७९ जना नागरिक मारिएका थिए । 

बेलायतसँग आवद्ध एक अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले यस आक्रमणमा मारिएका सवै सर्वसाधारण नागरिक रहेका जनाएको छ । यो आक्रमण यस सहरमा भएका भीषण आक्रमण मध्येको एक भएको जनाइएको छ । यस सहरलाई बिगत लामो समयदेखि नै आक्रमणकारीले बारम्बार निशाना बनाउदै आएको बताइएको छ । 

सन् २०१४ को अक्टोबर महिनामा होम्स सहरको एक विद्यालयमा भएको आक्रमणमा ४८ जना बालबालिकाको मृत्यु भएको थियो । सिरियामा गएको करिब पाँचवर्षदेखि हिंसा मच्चिएको छ । त्यहाँको गृहयुद्धमा परी एक लाख ६० हजार भन्दा बढीको ज्यान गएको छ । दुईहप्तामात्र अघि जर्मनीमा भएको विश्वका विभिन्न देशका गृहमन्त्रीहरुको बैठकमा सिरियामा शान्ति स्थापनाका लागि दुवै पक्षलाई युद्धविरामका लागि आग्रह गर्ने सहमति भएको थियो । 

त्यस अघि पनि त्यहाँ शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ, साउदी अरेबिया लगायतले निकै प्रयास गर्दै आएका छन् । तर सो प्रयास सार्थक हुन सकिरहेको छैन । 

प्रतिक्रिया दिनुहोस्