Logo
  चैत्र १६, २०८० शुक्रबार

‘सबैैको साथले उपमेयरमा जित्छु’



रेगिना भट्टराई प्रसाई नेपाली कांग्रेसका तर्फवाट दमक नगरपालिकाको उपमेयरकी उम्मेदवार हुन् । सामाजिक तथा राजनीतिक क्षेत्रमा दमक नगरीमा परिचित उनको उम्मेदवारी यतिखेर सवैका साझा उम्मेदवारका रुपमा प्रस्तुत हुन थालिएको छ । सामाजिक क्षेत्रमा  दमक जेसीजकी अध्यक्षको नेतृत्व कुशलतापूर्वक पूरा गरिसकेकी छिन् । दमक जेसीजको २५ बर्ष इतिहासमा उनीनै पहिलो महिला अध्यक्ष पनि हुन् ।
सामाजिक क्षेत्रका रुपमा उनी लायन्स क्लव अफ बेलसिटीको सेकेन्ड भाइस प्रिसीडेन्ट, यूनिक कलेज, दमक टेक्निेकल एजुकेशन फाउण्डेशन, फेवा ल्यूवकी सञ्चालिका समेत संगै सञ्चार उद्यमी पनि हुन् । दमकबाट प्रकाशित हुने झापा पोष्ट दैनिकको सम्पादक तथा प्रकाशक भएर सामाजिक रुपान्तरणको अभिन्न अगुवाईमा समेत उनको योगदान छ ।
सामाजिक कार्यसंगै राजनीतिमा सक्रिय भएकै कारण उनलाई पार्टीले सर्वसम्मत उपमेयरको उम्मेदवार बनाएको हो । उनले दमकमा कांग्रेसको पक्षमा देखिएको नगरवासीको चुलिदो लहरले आफनो विजयी शुनिश्चित बन्दै गएको बताउछिन् । ‘ चुनावी माहोल निकै राम्रो देखिएको छ’ उनले भनिन्,–‘ नगरवासी परिवर्तनका पक्षमा उभिएका छन्, असार १४ ले यसलाई पुष्टि गर्छ ।’ मतदाताका माँझ निकै लोकप्रिय बन्दै गएकी उम्मेदवार भट्टराईले आफू  सवै नगरवासीको प्रतिनिधीका रुपमा उम्मेदवार भएको बताईन् ।
घरदैलो,भेटघाटमा व्यस्त रहेकी उम्मेदवार भट्टराईले आफनो जितमा कांग्रेससंगै सवै पार्टीको सहयोग प्राप्त हुनेमा विश्वस्त छिन् । काम गर्न सक्ने व्यक्तिलाई उपमेयरमा प्रतिनिधीत्व गर्नु उचित भएको भन्दै उनले नगरवासीले अव पार्टीसंगै व्यक्तिलाई समेत तराजुमा जोख्नु पर्ने सल्लाह दिन्छन् ।
प्रस्तुत छ ,पार्टीका महाधिबेशन प्रतिनिधी तथा नेपाल महिला संघकी क्षेत्रीय सभापति रहेकी स्पष्टवक्ता , विकासप्रेमी  उम्मेदवार रेगिनासंग चुनावी सेरोफेरोमा गरिएको कुराकानी ।
प्रश्नः चुनावी माहोल कस्तो बन्दैछ ?
उत्तरः एकदम राम्रो । करिब एक महिनादेखि नगरवासीको घरघरमा पुगेर भोट मागे । हुन त पहिला पनि उहाँहरुको घर पुगेकै हो । तरपनि चुनावको बेला पुग्दा विशेष हुदो रहेछ । सबैको माया पाए । भोट दिने सबैको आश्वासन पाएकी छु । विश्वास छ । भोट दिएर आगामी पाँच बर्षका लागि मलाई दमकको उपमेयर बनाउनु हुनेछ । लामो समयपछि चुनाव हुन लागेकोले नगरका सबै मतदाता आफ्नो अमूल्य मत खसाल्न आतुर छन् । समग्रमा भन्नुपर्दा मेरो पक्षमा अर्थात कांग्रेसको पक्षमा चुनावी माहोल सोचेको भन्दा राम्रो बनाउन सफल भएकी छु ।
प्रश्नः चुनाव जित्नु हुन्छ त ?
उत्तरः चुनाव नजित्ने कुरै छैन । म कुनै सांसद वा काठमाडौं गएर ठूलो नेता बन्नलाई उम्मेदवार बनेकी होइन । दमकमा बसेर बर्षौदेखि सामाजिक कामहरु गर्दै आइरहेकी छु । हिजोको दिनमा मैले मेरो व्यक्तिगत तर्फबाट गरे । मेरो हैसियत कतिसम्म पुग्यो । कतिसम्म पुग्न सकेन होला । तर, स्थानीय तहको चुनावबाट संस्थागत रुपमा नगरवासीको सेवक हुन खोजिरहेकी छु । जनताको पीडा, समस्या, दुखकष्टमा अझ बढी सेवा गर्ने अवसर खोजिरहेकी छु । कानुनले दिएको अधिकारभित्र रहेर नगरवासीलाई समस्याहरुबाट माथि उठाउने दौडमा होमिएकी छु । म कुनै नयाँ मान्छे होइन । मैले दमकमा रहेर हिजोका दिनहरुमा समाजसेवा गरेकी थिएन कि थिइन, नगरवासीलाई सबै कुरा थाहा छ । यो चुनावबाट जित्ने उम्मेदवारले दमकको लागि मात्र काम गर्छन । यसैले म दमकको उपमेयरमा योग्य छु कि छुइन, यहाँका जनताले मूल्यांकन गरिरहेका छन् । मेरो शैक्षिक योग्यता के हो ? मेरो सामाजिक चरित्र के हो ? नेतृत्व गर्न सक्ने मेरो क्षमता कति छ ? दमकवासीलाई सबै थाहा छ । यस कारण मलाई आदारणीय दमकवासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुले एक÷एक मत दिएर जिताउनु हुनेछ ।
प्रश्नः चुनावी प्रतिस्पर्धा त निकै होला जस्तो छ नि ?
उत्तरः यो स्वभाविक हो । एक लाख जनसंख्या हाक्ने नगरपालिकाको उपमेयर क्षमतावान हुन जरुरी छ । मेरा प्रतिस्पर्धीहरु पनि आआफ्नो क्षेत्रमा सक्षम र क्षमतावान हुनुहुन्छ । धेरै जना क्षमतावानबाट एक जना चयन गर्नु वास्तवमै कठिन काम हो । तर, मलाई विश्वास छ । यो चुनाव कुनै पार्टीको होइन । आम नगरवासीको भविष्यसंग जोडिएको चुनाव हो । जुनै पार्टीको उम्मेदवारले जितेपनि त्यो जित दमकवासीको हो । चुनाव जितेको दिनदेखि ती उम्मेदवार पार्टीको होइन दमकको साझा बन्ने छिन् । यसैले भोलिको दिनमा आम दमकवासीको साझा उपमेयर हुन सक्ने क्षमता कुन उम्मेदवारसंग छ । कुन उम्मेदवार कस्तो पृष्ठभूमिबाट आएका हुन् । कसको क्षमता कति छ । राजनीतिक पृष्ठभूमि, सामाजिक पृष्ठभूमि, विगतका दिनहरुमा दमकवासीका लागि कसले कति गरेका छन् । सायद नगरवासीले यी कुराहरुको पनि मूल्यांकन गर्छन होला ।
प्रश्नः तपाईलाई नै किन जिताउने दमकवासीले ?
उत्तरः सुन्दर दमक बनाउन । दमकवासीको भविष्य बनाउन । यहाँका एकल महिला, जेष्ठ नागरिक, युवा, बुद्धिजीवी, व्यापारीलगायत आम नगरवासीको सुन्दर र सभ्य नगर हेर्ने सपना पूरा गर्न । मैले दमकको टोलटोल घुमेकी छु । हरेक संघसंस्थालाई नजिकबाट चिनेकी छु । दमकलाई आर्थिक रुपमा समृद्ध बनाउनुपर्छ भन्ने उद्देश्यले मेरो क्षमताले भ्याएसम्म विभिन्न उद्योगहरुमा लगानी पनि गरेकी छु । दमकका युवाहरुको व्यक्तित्व विकास गर्नका लागि दमक जेसीजको अध्यक्ष भएर काम गरेकी छु । गरिब, विपन्न, जेष्ठ आमाबुबालाई सहयोग गर्नुपर्छ भन्ने सेवाभाव राखेर अहिले पनि लायन्स क्लब अफ बेलसिटीको सेकेण्ड भीपी छु । शैक्षिक क्षेत्रको विकासका लागि दमक टेक्निकल इन्स्टिच्युटकी सञ्चालिका भएर यस क्षेत्रको शैक्षिक हितमा काम गरेकी छु । राष्ट्रको चौथो अंग सञ्चार क्षेत्रमा पनि लगानी गरेर सामाजिक रुपान्तरणको विभिन्न क्षेत्रमा काम गरिआएकी छु । विभिन्न समयमा विभिन्न संघसंस्थासंग सहकार्य गरेर महिलाहरुलाई उद्यमी बनाउने तालिम, सीपमूलक तालिमहरुको आयोजना तथा पहल गरेकी छु । सधैं समाजप्रति उत्तरदायी भएर खटिरहेको र भोलिका दिनमा अझ धेरै जनतामाझ खट्ने कसम खाएर मैदानमा उत्रिएकी रेगिनालाई नगरवासीले चाहीं किन नजिताउने ? मैले मेरो प्रतिस्पर्धी फलानो यस्तो । म यस्ती । उसको क्षमता यति मेरो यति । उसले यति पढेकी छिन मैले यति पढेको छु भनेर भोट मागेकी छुइन । मैले हिजोका दिनमा जे गरे । ती सबै कामहरु दमकवासीले देखेका छन् । यसैले भोलिका दिनमा अझै धेरै गर्न सक्छु भन्ने आत्मविश्वास उहाँहरुमाझ राखिरहेकी छु । उहाँहरुले पनि ठीक छ एक पटक तपाईलाई हामी अवसर दिन्छौं भनिरहनु भएको छ ।
प्रश्नः चुनाव जित्नु भयो भने दमकमा के के गर्ने योजना छ ?
उत्तरः मैले ठूलो सपना देखेकी छुइन । फेरी म मेयर पदकी उम्मेदवार होइन । उपमेयरकी हुँ । यसैले मेरो अधिकार र क्षमताअनुसार काम गर्ने अठोट चाही लिएकी छु । कानुनले उपमेयरलाई जेजस्ता अधिकारहरु दिएको छ । ती अधिकारहरुलाई अक्षरशः पालना र कार्यान्वयन गर्छु÷गराउछु । उपमेयरले विशेषगरी न्याय सम्पादनको जिम्मेवारी निर्वाह गर्नुपर्ने हो । यसैले मैले जितेभने नगरका प्रत्येक वडामा कानुनी सहायताका लागि हेल्प डेक्स राख्ने छु । टोलटोलबाट आउने समस्याहरुको पहिचान गरेर कसरी निकास दिन सकिन्छ त्यसको उचित निर्णय गर्नेछु । उपमेयरको निर्णयबाट नगरका कुनै जनता पीडित बन्नु नपरोस मेरो एक मात्र ध्येय हुनेछ । दमकलाई शैक्षिक हब बनाउन उच्चतम् पहल गर्नेछु । नगरभित्रका सबै सामुदायिक विद्यालयहरुमा पूर्वरुपमा अंग्रेजी माध्यमको पढाइ सुरु गराउने छु । पछिल्लो समय महिलाहरु पाठेघरको क्यान्सरबाट पीडित बन्दै गएका छन् । यस क्रमलाई रोक्नका लागि महिलालाई आवश्यक पर्ने प्याड निःशुल्क वितरण गर्ने तथा अन्य शिक्षामूलक कार्य गर्ने छु । दमक अस्पतालको स्तरोन्नती गरेर त्यहाँबाट सबैखाले क्यान्सर, मुटु, मृगौलाजस्ता विरामीलाई जिल्लाबाट नभई यहीबाट सिफारिस गर्न मिल्ने व्यवस्था मिलाउनेछु । एकल महिलालाई उमेर हद नलगाई भक्ताको व्यवस्था गर्नेछु । उनीहरुको योग्यता र क्षमता अनुसार रोजगारीको प्रवन्ध मिलाउनेछु । मानव संसाधन विकास कार्यक्रमअन्तर्गत दमकमा सडक बालबालिका, कुनै खाले मानसिक तथा फुटपाटमा बस्नुपर्ने अवस्थाबाट मुक्त दिलाउनेछु । वृद्ध जेष्ठ नागरिकको लागि प्रत्येक वडामा बृद्ध चौतारीको व्यवस्था गर्नेछु । व्यापारीहरुलाई एकीकृत करबाट मुक्त गराउनेछ ।
केन्द्रीय सरकारले दमकमा ठूला ठूला योजनाहरु अगाडी सारेको छ । ती सबै योजनाहरुको सफल कार्यान्वयनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै दमकलाई समृद्ध बनाउनका लागि केन्द्रीय सरकारले अघि सार्ने हरेक योजना सफल बनाउन लागिपर्नेछु । विशेषगरी महिलाका लागि टोलटोलमा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्नेछु र महिलालाई सीप सिकाउने, रोजगार र उद्यमी बनाउन विशेष भूमिका निर्वाह गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्