Logo
  मंसिर १९, २०७८ आईतबार

वडा दशैं शुरु, घटस्थापना गरिदैं



बिर्तामोड, ९  असोज । । आजबाट हिन्दुहरुको महान चाड वडा दशै शुरु भएको छ । दसैंको पहिलो दिन दुर्गा भवानीको प्रतिकका रुपमा आज घर–घरमा घटस्थापना गरिदैछ । घटस्थापनाको शुभसाइत आज बिहान १०।४५ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवी–देवताको आवाहन गरिन्छ ।

आजका दिन झिसमिसे बिहानीमै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकै छरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पति जमरा भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

यसैगरी त्यसैस्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ ।

अनि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको षोड्षोपचारले पूजाआजा गरिन्छ । यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरहरुमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ ।

दुर्गासप्तशती चण्डी पाठ गरिन्छ । उपत्यकाकामा देवी मन्दिरहरुमा आज विहानैदेखि दर्शन गर्न जानेहरुको घुईचो लागेको छ । आजैदेखि नवमीसम्म नौ दिन दुर्गाको पूरा गरिन्छ, त्यस अवधिलाई नवरात्री भनिन्छ ।
 

प्रतिक्रिया दिनुहोस्