Logo
  बैशाख ६, २०८१ बिहीबार

जनयुद्धमा कमाण्डर, अहिले चन्द्रेश्वर बाबा !



तारामणि सापकोटा
झापा, १४ साउन । माओवादी जनयुद्ध कालका होल टाइमर (पूर्णकालिन) कार्यकर्ता यतिबेला जट्टा पालेका गेरुवस्त्रधारी बाबा भए भन्दा पत्याउन गाह्रो पर्ला । तर, झापा मेचीनगर–३ (साबिक बाहुनडाँगी) तेलपानी निरगञ्जाका खेमप्रसाद खनाल यतिबेला ‘चन्द्रेश्वर बाबा’ बनेका छन् ।

४५ वर्षीय खनाल दुई वर्षदेखि गेरु वस्त्र धारण गरेका छन् । तीन वर्ष अघि दाह्री कपाल मुण्डन गरेयता उनले दाह्री कपाल काटेका छैनन् । उनका एक हात लामा जट्टा भएका छन् ।
स्थानीय बहुबन सामुदायिक बनको जंगलमा ध्यान साधनामा लागेका खेमप्रसाद खनाल उर्फ ‘चन्द्रेश्वर बाबा’ आफू जीवनको नयाँ यात्रा हिँडिरेको बताउँछन् ।

कमरेड ‘राम’ बाट ‘चन्द्रेश्वर बाबा’

माओवादी जनयुद्धमा २०५६ सालबाट उनी पूर्णकालिन भएका हुन् । उनले जनयुद्धमा धेरै पटक बम बोके । बम बनाउन भारतबाट कुकर र साना खाले ग्याँस सिलिण्डर काँधमा बोकेर ल्याए । तर, अब उनका लागि बिगतको राजनीतिक संलग्नता इतिहास बनेको छ ।

खुलस्त र प्रभावकारी रुपमा आफ्ना कुरा राख्न सक्ने खेमले जनयुद्धकालमा पार्टीले आफ्नो नाम ‘राम’ राखिदिएको बताए । एक साता यता लगातार ध्यान साधनामा लिन भएका खेमले ध्यानकाक्रममा देवी माताले आफ्नो नाम ‘चन्द्रेश्वर’ राखिदिएको बताए । ध्यानमा देवी माताले राखिदिएको चन्द्रेश्वरमा उनले बाबा थपेर आफ्नो नाम ‘चन्द्रेश्वर बाबा’ राखेका हुन् । राम कमरेड भनेर बोलाउने पार्टीका साथीहरुले उनलाई ‘चन्द्रेश्वर बाबा’ भन्न थालेका छन् ।

एकीकृत नेकपा माओवादीमा जनयुद्धकाबाट संलग्न खेमले २०७१ सालबाट पार्टी परित्याग गरे । एकीकृत माओवादीबाट अलग भई भजेन्द्र चम्लागाईं ‘हिमेस’को नेतृत्वमा गठन भएको नेकपा (माओवादी क्रान्तिकारी)को केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज भए । गेरुवस्त्र धारण गर्नु अघिसम्म उनी सुनसरीको इन्चार्ज थिए । त्यसपछि भने पार्टीसँग बिदा मागेर उहाँ आफ्नो भिन्न बाटोमा लाग्नु भएको पार्टी अध्यक्ष भजेन्द्र चम्लागाईं हिमेसले बताए ।

मलेशियदेखि माता देवी भक्तिसम्म

माओवादी जनयुद्धमा लागेका खनाल शान्ति प्रक्रियापछि पनि पार्टीमा सक्रिय नै थिए । तर, चार जना छोरी, श्रीमती र आमाको रेखदेखसम्मको जिम्मेवारीले थिचेपछि उनी पैसा कमाउने मलेशिया गए । तर, त्यहाँ दुई वर्ष भन्दा बढी टिकेनन् ।

उनी पाँच वर्ष अघि नेपाल फर्किएका हुन् । किड्नीमा समस्या भएपछि नेपाल फर्किएका उनले यहीँ उपचार गरे । र, ठिक भए । मलेशियामा पैसा कमाउन गएका खनालले भने, ‘कमाउन त त्यस्तै हो, उपचार गर्दा र नेपाल फर्कदा ऋण गरेर फर्किएँ ।’

खेमप्रसाद खनाल उर्फ ‘चन्द्रेश्वर बाबा’लाई शरीरमा एक प्रकारको अनौठोपन मलेशियाबाटै सुरु भएको रहेछ । ‘सुतेपछि केहिले थिचे जस्तो हुने, कहिले कहाँ कहाँ उँडे जस्तो, अर्कै दुनियाँमा पुगे जस्तो हुन्थ्यो’, उनले कसरी आफ्नो शरीरमा अध्यात्मिकता प्रवेश गर्यो भन्ने जिज्ञासामा भने, ‘सोचाईमा निद्रामा अनौठोपन आउन थाल्यो, रातभर निद्रा नलाग्ने हुँदा दिउँसो काम गर्न गाह्रो हुन्थ्यो ।’

उनले मलेशियाको घट्ना सम्झँदै भने, ‘मलेशियामै मेरो शरीरमा अनौठोपन आएको थियो, तर मैले त्यसलाई खासै ध्यान दिइँन ।’

तीन वर्ष अघि बहुबनमा रहेको काकाको घरमा लगाइएको पुराणमा पहिलो पटक आफ्नो शरीरमा काम्ने उत्रेको उनले बताए । पुराणपछि लिङ्गो सेलाउन कन्काई नदिमा जाँदा पनि काम्नेले भेटेको उनले सम्झिए । त्यसपछि भने उनको सोचाइमा धेरै परिवर्तन आएको बताए ।

दुई वर्ष अघिबाट उनले चामल र त्यसबाट बनेका परिकार त्याग गरेका छन् । उनले साँझमा रोटी सब्जी जस्ता शाहाकारी भोजन मात्र लिने गरेका बताए ।

ध्यानको साधनामा लागेका ‘चन्द्रेश्वर बाबा’ घर छेउमा निर्माण भएको चन्द्रेश्वर शिवको मन्दिरमा पुजा गरेर घर छेउ खोल्सा पारीको जंगलमा ध्यानमा बस्ने गर्दछन् । उनले ध्यान गर्ने स्थल हिलाम्मे छ । पानीको सानो मुहान जस्तो रहेको स्थानलाई उनले ध्यानस्थल बनाएका छन् । सुरुमा ध्यान गर्दा गर्दै मध्यरातसम्म बसेपनि अहिले भने साँझसम्म मात्र बस्ने गरेको उनकी श्रीमती खेमकुमारी खनालले बताइन् ।

शुक्रबार सञ्चारकर्मीको टोली ध्यानस्थलमा पुग्दा ‘चन्द्रेश्वर बाबा’ ध्यानमा मग्न थिए । उनी बिहान ९ः३० बजेदेखि ध्यानमा रहेको परिवारजनले जानकारी दिए । हामी पुगेर फोटो खिच्ने र सम्वाद गर्न थालेपछि आँखा खोले, केहिबेर काँपे र ध्यानस्थलबाट उठे । त्यसपछि हामीले कुराकानी गरेका थियौँ । पहिला ध्यानस्थलकै जंगलमा कुराकानी गर्यौं । पछि घर नजिकको मन्दिरमा बसेर कुरा भयो । कुराकानीको क्रममा उनी थप खुल्दै गए ।

चन्द्रेश्वरको ध्यान र ज्ञानमा स्थानीय बेखबर

स्थानीय छिमेकी बाहेक गाउँले उनको ध्यान साधनाको बारेमा अनविज्ञ रहेछन् । उनी बेला बेला काम्ने कुराको जानकार भएपनि गाउँले ध्यानमा साधनारत भएको पत्तो पाएका रहेनछन् । उनले यसलाई प्रचार गर्ने विषय नभएको बताए ।

Chandreshowr Baba‘मैले ध्यान साधनाबाट जे पाउँदै छु, त्यो सबै भन्न थाल्दा अहिले मलाई पागल भन्छन्’, उनले सुनाए, ‘मलाई शरीरमा काम्ने आउँदै पागल भन्ने छन् । कतिले डिप्रेशन भनेका छन् त कतिले वाइयात पनि भनेका छन् ।’

उनले थपे, ‘मैले कक्षा पाँचसम्म मात्र अध्ययन गरेको छु । वेद, पुराणका धेरै कुरा ध्यानमै आउँछ । अध्यातिमक क्षेत्रको ज्ञान पनि प्राप्त भइरहेको छ । मैले धेरै जानेको छैन । तर, मेरो शरीरबाट रिस कहाँ गयो पत्तो छैन । शरीर शान्त भएको छ । परिवार, भिडभाड, धनसम्पति सब बेकार जस्तो लाग्छ । फेरि पनि यी चिजबाट मन मुक्त भएपनि भौतिक शरीर मुक्त हुन समय लाग्छ ।’

‘आफूले प्राप्त गरेका कुरा भट्याउँदै हिँड्ने कुरा पनि भएन’, ‘चन्द्रेश्वर बाबा’ले आफ्नो ध्यान साधनाबाट प्राप्त अनुभव सुनाए ।

उनले ध्यान साधनापछि मानिसको अनुहार, शरीर हेरर त्यस मानिसको बाररेमा बताउँदा पनि रहेछन् । आफूले भन्ने कुरा अरु नै कसैले अह्राउने उनले सुनाए । उनले भने, ‘मैले त निमित्त भएर भनिदने मात्र हो ।’ उनले ध्यानपछि आफ्नो मेमोरी पावर बढेको अनुभव सुनाए ।

राजनीति गर्दा एक ठाउँमा एक कुरा अर्को ठाउँमा अर्कै कुरा गरिन्थ्यो । अहिले गरेको कुरा क्षणभरमै बिर्सिन्थ्यो । तर, अहिले के बोल्ने के नबोल्ने, के बोल्दै छु पत्तो पाइन्छ । ढाँट्ने कुरा हुँदै हुँदैन । उनले ध्यानका क्रममा आफूमा आएका परिवर्तनका बारेमा प्रस्ट्याउँदै भने ।

गाँजा माग्नेदेखि जट्टाको किस्सा

‘चन्द्रेश्वर बाबा’ एक पटक भारत बंगाल राज्यको सिलगढी गएका रहेछन् । उनको जट्टा, दाह्री र गेरु वस्त्र देखेर एक युवाले भनेछन्, ‘बाबा कुछ हे ?’ उनले क्या चिज ? भनेर प्रतिप्रश्न गरे ।
उसले भनेछ, ‘बाबा थोडा माल दिजिएन ।’ उनलाई के माग्दैछ भन्ने अनुमान गर्न गाह्रो भएन । तर, पनि सोधे, ‘कैसा माल ?’ उसले फेरि भनेछ ‘गाँजा’ । उनले भनेछन् ‘हम गाँजा पिनेवाला साधु नहिँ हूँ, मै खैनी खाता हूँ, आपको खैनी चाहिए तो हम दे सक्ता हूँ ।’

खोटाङबाट फर्कदै गर्दा उनलाई अर्काे एक फसाद परेछ । गाइघाटबाट झापा आउने बस चढेछन्, चन्द्रेश्वर बाबा । उनको छेउको सिटमा एक युवा चढेछन् । यात्राको क्रममा छेउको सिटमा बस्ने युवाले सोधेछन्, ‘बाबा जी तपाईले यो जट्टा कहाँ बनाउनु भएको हो ?’

उनले भनेछन्, ‘यो आफैँ भएको हो, मैले बनाएको हैन ।’ तर, ती युवाले उनको कुरा नपत्याएर पुनः प्रश्न गरेछन्, ‘हैन, बाबा जी नढाँट्नु न, मैले पनि यस्तै जट्टा बनाउन कत्ति ठाउँ खोजे काहीँ पत्तो लागेन, तपाईलाई थाहा होला भन्दिनु न ।’

भौतिवादबाट अध्यात्मिकवादमा

Chandreshor Baba 2

कम्युनिष्ट दर्शनमा धर्मलाई अफिमको नासा जस्तै ठानिन्छ । अफिमको नशा लागे जस्तो मानिसपनि धर्ममा कट्टर भएर लाग्दछ । त्यसमा माओवादी विचार बोक्ने त झन नास्तिक नहुने कुरै भएन । जनयुद्धकालमा पूर्णकालिन कार्यकर्ता बनेका खेमप्रसाद खनाल उर्फ कमरेड ‘राम’ नास्तिक नहुने कुरै भएन । तीन वर्ष अघि अर्थात् काकाको घरमा पुराण लाग्नु भन्दा अघिसम्म उनी पुरै नास्तिक थिए । धर्ममा उनको अरुचि मात्र होइन, कुनै विश्वासै थिएन । धर्म अवैज्ञानिक विचार हो । यो पुरातनवादी विचार हो भन्ने उनलाई लाग्थ्यो ।

घरमा श्रीमती र आमाले पुजापाठको कुरा गर्दा उनको बिरोध हुन्थ्यो वा कुनै सरोकार र रुचिको विषय हुँदैनथ्यो । तर, पितृका नाममा परिवारजनले लगाउने पुराणमा सक्रिय भएर खटेका खेमप्रसाद काम्दै झाँक्री जस्ता भएर निस्किए । त्यस यता भने घरमा देवीको थान राखेर ध्यानमा सक्रिय छन् ।

बिस्तारै उनी जोखाना हेर्ने, काम्दै अनेक कुरा बर्बराउन थालेका छन् । उनी देव, देउताका कुरा मात्र होइन, अध्यात्मिक साधनमा डुबेका छन् ।

धार्मिक विषयमा श्रीमति, आमा र छिमेकीसँग मत नमिल्ने खेमप्रसाद यतिबेला आफैँ अध्यात्मिक साधनामा लागेको देख्दा कतिले नाटक भनेका छन् त कतिले पत्याएका छैनन् । कतिले भने देउता उत्रेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्