Logo
  मंसिर १९, २०७८ आईतबार

कनकाई अतिथि सदनको निर्माण पुनः शुरु



सुरुङ्गा, ९ असोज। उद्योग वाणिज्य संघ सुरुङ्गाले कनकाई अतिथि सदन निर्माण कार्य पुनः शुरु गरेको छ । कनकाई अतिथि सदन निर्माण समितिद्वारा उद्योग वाणिज्य संघको कार्यालय परिसरमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।
 
स्थानीय समाजसेवी टीकाप्रसाद तिम्सिना, टठबहादुर कार्की, तीर्थ सुवेदी र हिरण्य सुवेदीद्वारा प्रदान गरिएको ५ कठ्ठा ११ धुर जग्गामा कनकाई अतिथि सदनको निर्माण गर्न लागिएको हो । अतिथि सदनको ७ हजार २ सय ५८ वर्ग फिट भएको क्षेत्रफलको भुइँ तलाको हालसम्म ५६ लाख ६३ हजार २ सय रुपैयाँको लागतमा ३ कोठा सहित केही काम सम्पन्न भएको छ । निर्मा बाँकी काम सम्पन्न गर्न ६७ लाख रुपैयाँ लाग्ने प्राविधिक अनुमान गरिएको कनकाई अतिथि सदन निर्माण समितिका संयोजक कुमारमणि पोखरेलले जानकारी दिए । पोखरलले दिएको जानकारी अनुसार सदस्य सचिव सोमनाथ उप्रेती र सदस्यहरु डिल्लीराम पौडेल, जबिन तिम्सिना, सरोज सिटौला, डिपी गौतम, मिनाल तिम्सिना, ज्योति उप्रेती,  नेत्र नेपाल, शिवकुमार कडेँल र राजकुमार कट्टेल रहेको ११ सदस्यीय अतिथि सदन निर्माण समिति गठन गरिएको छ ।
समितिले आगामी वर्षको बडादशैंसम्ममा भुइँ तलाको काम सम्पन्न गरी अतिथि सदन सञ्चालनमा ल्याउने गरी  सहयोग संकलन तथा निर्माण कार्य शुरु गरेको छ । हालसम्म व्यवसायी, उद्योगी तथा शुभेच्छुकबाट ४८ लाख रुपैयाँ सहयोगिले रकम लेखाएका छन् । सहयोग गर्न चाहने अन्य लेखाउने तथा रकम उठ्ने क्रम जारी रहेको बताइएको छ । सुचारु गरिएको काम स्थगित हुन नदिने र रकम अभावका कारण काम स्थगित हुने परिस्थितिको सृजना भएमा उद्योग वाणिज्य संघ र अतिथि सदन निर्माण समितिका पदाधिकारी तथा सदस्यले लगानी गर्ने र सहयोगी दाताहरुबाट रकम उठेपछि शोधभर्ना गर्ने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
 
समाजसेवीहरु उमानाथ मैनाली र विश्वनविन उप्रेतीबाट ६ लाख ६७ हजारका दरले लागतमा १–१ कोठा बनाइदिने बचन प्राप्त भएको, कनकाई नगरपालिकाले १० लाख, जिल्ला विकास समिति झापाले २ लाख, झापा क्षेत्र नं. ४ का सभासद्ले सहयोग गर्ने बचन दिएको, जर्मनीमा बस्ने झापालीले १० लाख, अष्ट्रेलिया  तथा अन्य खाडी मुलुकमा रहेका झापालीले पनि सहयोग गर्ने आश्वसन दिएको संयोजक पोखरेलले जानकारी दिए । कार्यक्रममा वाणिज्य संघ अध्यक्ष युवराज संग्रौला, सल्लाहकार प्रभाखर कडरिया लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन निर्माण समितिका सदस्य सचिव सोमनाथ उप्रेतीले गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्