Logo
  बैशाख ८, २०८१ शनिबार

घरको छतमा कुखुरा पालेर मनग्य आम्दानी



राधिका आचार्य

बिर्तामोड, २१ साउन । झापा अर्जुनधारा नगरपालिका ५ का राजकुमार श्रेष्ठले घरको छतमा कुखुरा पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । उनले कुखुरा पालन व्यवसायबाट खर्च कटाएर बार्षिक आठ लाखसम्म नाफा आर्जन गर्ने गरेका छन् ।
तेह्र बर्षदेखि कुखुरा पालन गर्दै आएका श्रेष्ठले आठ बर्ष यता व्यवसायिक रुपमा कुखुरा पालन गर्दै आएका छन् । ‘पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने छैन, स्वदेशमै बसेर पनि केहि गर्न सकिन्छ’ श्रेष्ठले अनुभव सुनाउँदै भने, ‘मेहनत गरे कुखुरा पालन व्यवसायबाट राम्रो आम्दानी हुन्छ ।’


एक दुई सय कुखुराबाट सुरु गरेका श्रेष्ठले राम्रो आम्दानी हुन् थालेपछि व्यवसायिक रुपमा कुखुरा पालन गरेका हुन् । सजिलो खबरसँग उनले भने्,‘म यो पेशाबाट सन्तुष्ट छु । बार्षिक खर्च कटाएर करिब आठ लाख नाफा हुन्छ । यसैबाट नै अहिलेसम्म म आफ्नो घर खर्च चलाउँदै आएको छु । गर्ने मन भएमा ठुलो ठाउँ र ठुलो लगानी जरुरी छैन ।’

उनले उत्पादन गरेको कुखुराको मासु र अण्डा बितामोडमा बिक्री हने गरेको छ । उनले बर्षमा २ पटकसम्म कुखुराको चल्ला हाल्ने गरेको छन् । एक पटकमा करिब १२ देखि १५ लाखको लगानीमा कम्तिमा १५ सयदेखि २ हजारसम्म चल्ला हाल्ने उनले बताए । उनले लेयर जातको चल्ला हाल्ने गरेका छन् । यस जातको कुखुरा मासु र अण्डा दुवैका लागि राम्रो हुने उनी बताउँछन् । आफुहरुले फर्म दर्ता गराई सकेको र बार्षिक ५ हजार कर तिर्दै आएको श्रेष्ठले जानकारी दिए । व्यापारीले घरमै आएर कुखुरा र अण्डा खरिद गर्ने भएकाले आफुलाई सहज भएको श्रेष्ठले जानकारी दिए । यहाँ उत्पादित मासु र अण्डा परीक्षण गरेर मात्र विक्रीका लागि पठाइने श्रेष्ठले बताए ।


उनले केही महिना यता परीक्षणका लागि टर्की जातको कुखुरा पाल्दै आएका छन् । यस जातको कुखुराबाट अन्य जातको कुखुराबाट भन्दा राम्रो आम्दानी हुने उनले बताए । उनले भने ‘यसमा मेहनत र खर्च कम हुन्छ ।’
टर्की जातका कुखुराबाट बढी फाइदा हुने उनी बताउँछन् । यस जातको कुखुरा करिब छ महिनामा बेच्न योग्य हुने र १२ केजीसम्म हुने भएकाले उनले टर्की जातको कुखुरा पाल्न शुरु गरेका हुन् । यो जातको कुखुरा मासुको लागि फाइदा हुने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्