Logo

के हो डेङ्गु रोग ? यसबाट कसरी बच्ने ?



केही महिनादेखी पुर्वी तराईका जिल्लाहरुमा फैलिरहेको र केही ज्यान समेत लिइसकेको डेङ्गु रोगको बारेमा विस्तारितरुपमा चर्चा गर्नु अत्यावश्यक ठानेर यो लेखमा म विस्तृत रुपमा यो रोगको व्याख्या गर्दैछु। समय दिएर पढ्नेहरूका लागि यो लेखमा डेङ्गु रोगसँग सम्बन्धित सम्पुर्ण जिज्ञासाको सरल जवाफ मिल्नेछ। पहिला डेङ्गु रोग सार्ने लामखुट्टेलाई चिनौँ। तस्वीरमा भएका दुई प्रकारका AEDES प्रजातीका लाम्खुट्टे हुन् जसले डेङ्गु रोग सर्ने गर्छ। डेङ्गु रोग सार्ने यिनै लाम्खुट्टेले नै हो चिकेनगुनिया, जिका भाइरस पनि सार्ने।

नेपालमा लाम्खुट्टे सम्बन्धि त्यति अध्ययन नहुने भएकाले हाम्रो आधारहरु अरु नेपाल जस्तै देशमा संचालित अध्ययन अनुसन्धानहरुलाई बनाउने गरिन्छ। येस्तो अनुसन्धानमा भारत र फिलिपिन्स जस्ता देश निकै अगाडि छन्।

डेङ्गु रोग सार्न ठुलो भुमिका Aedes Aegypti लाम्खुट्टे को हुन्छ भनेर करिब २ दशक अगाडी नै थाहा भएता पनि पछिल्लो समय Aedes Albopictus लाम्खुट्टेले पनि डेङ्गु रोग सार्ने र त्यो लाम्खुट्टे पनि भारत/फिलिपिन्समा पाइसकिएको भन्ने तथ्य बाहिर आएको छ।

सामान्य रुपमा डेङ्गु सार्ने लाम्खुट्टेले दिउँसो टोक्छ भनिए पनि नयाँ अध्ययनहरुले घाम उधाएको २-३ घन्टा पछी र गोधुली बेला बिहान ४ बजे देखि ६ बजे र साँझ ४ देखि ६ बजे यी लाम्खुट्टेले टोक्ने गरेको तथ्य बाहिर आएको छ। यो प्राजतिका लाम्खुट्टेले डेङ्गुले ग्रस्त मानिस, जीव, जन्तु, चराहरुलाई टोकेर स्वस्थ्य व्यक्तिलाई टोक्दा यो रोग सर्छ। सबै उमेरसमुहका मानिसलाई डेङ्गु सर्ने भएता पनि बढीजसो नाबालक र स-साना केटाकेटीमा रोग धेरैलागेको पाइएको छ। कुनै पनि लिङ्गका मानिसलाई यो रोग लाग्न सक्छ। कालो अनि सेतो मिसिएको खुट्टा र जिउ भएको सानो अनि छिट्टो टोकेर उडि हाल्ने यो लाम्खुट्टे करिब १००-१५० मिटरको दुरिसम्म उडेर टोक्ने गर्छ। यो लाम्खुट्टेले रोगीलाई टोकेको ८-१० दिनमा उसको जिउमा डेङ्गुको भाइरस गुणात्मक रूपमा बढ्छ, १ देखि १०० दिनसम्म बाच्ने क्रममा यो ५०० मीटरभन्दा बढी दुरि सम्म उड्ने गर्छ।

स्त्री लाम्खुट्टेले जमेको सफा पानी, ओसिलो भित्ता यहाँ सम्म कि पुराना चक्काहरुमा रहेको एक अञ्जुली पानीमा पनि उस्ले फुल पार्न सक्छे। पानी राख्ने गाग्रीहरु छोपेर राख्नु यसै कारण पनि महत्त्वपूर्ण छ। लाम्खुट्टेका यिनै फुलहरु बडेर लार्भा हुँदै वयस्क भए पछी पुनः रगत चुस्ने सिकारमा निस्किन्छन्।

डेङ्गु रोग के हो ?

डेङ्गु रोग Aedes प्रजातीका लाम्खुट्टेबाट सर्ने एउटा भाइरल रोग हो। डेङ्गु रोग लगाउने जीवाणु फ्लाभी भिरिडे भन्ने परिवरको डेङ्गु भाइरस (जिवाणु) ४ अलग अलग प्रकारको (serotype) हुन्छ, ती हुन DENV-1, DENV-2, DENV-3 र DENV-4 । भन्नूको मतलब कुनै एक व्यक्तिलाई जीवनभरमा ४ अलग अलग चोटि यो रोग लाग्न सक्छ। मानौ तपाईंलाई आज DENV-1 ले बिरामी पार्‍यो भने तपाईं निको भए पछी फेरि DENV-1 ले जीवन भर डेङ्गु लगाउन सक्दैन तर अन्य DENV-2, 3 र 4 ले भने फेरि लगाउन सक्छन् तर एकपटक जून प्रकारले लगायो त्यस्ले फेरि भने लगाउदैँन। डेङ्गु रोग सामान्यतया सजिलै उपचार गर्न सकिने रोग हो।

विश्व स्वास्थ संगठनको परिभाषा अनुसार यो रोगलाई तीन तरिकाले बिभाजन गरिन्छ।

पहिलो डेङुगु ज्वरो ( Dengue Fever), दोस्रो डेङ्गु हेमोर्‍याजिक फिबर (Dengue Hemorrhagic Fever) र तेस्रो डेङ्गु शक सिन्ड्रोम (Dengue Shock Syndrome) अथवा आधुनिक परिभाषामा यसैलाई रोगको अलगअलग अवस्था (stage) अनुसार यसरी अलग अलग बिभाजन गरिन्छ।अथवा आधुनिक परिभाषामा यसैलाई रोगको अलगअलग अवस्था (stage) अनुसार यसरी अलग अलग बिभाजन गरिन्छ।

१. खतराको संकेत बिनाको डेङ्गु ज्वरो (Dengue Fever Without Warning Signs)

२. खतराको संकेतसहितको डेङ्गु ज्वरो (Dengue Fever With Danger Signs)

३. अत्ति गम्भीर अवस्थाको डेङ्गु (Severe Dengue)

(म यहाँ विश्व स्वास्थ संगठनको मापदण्डअनुसार व्याख्या गर्नेछु। जस अनुसारका माथीका तीन प्रकारलाई म छुट्टाछुट्टै व्याख्या गर्नेछु। )

डुङ्गु रोग सामान्यतया ८ देखी १० दिनमा निको हुने गर्छ। कुनै खास औषधिले यसको उपचार गरिने होइन। तर बिरामीको शरिरमा पानीको मात्रा घट्न नदिन भने धेरैख्याल गर्नु पर्छ।

कति प्रकारका लाम्खुट्टेले टोक्दा डेङ्गु लाग्छ? टोकेको कति दिनमा रोग देखा पर्छ? मानौ मेरो परिवारको एउटा सदस्यलाई डेङ्गु रोग लाग्यो र उपचार पछी निको हुनु भयो, के अब उहाँलाई टोक्ने लाम्खुट्टेले हामीलाई टोके डेङ्गु सर्छ? यो रोग लाम्खुट्टे आफैलाई चै लाग्दैन?

लाम्खुट्टेले एउटाले एकै पटक टोकेपनि यो रोग सर्छ तर त्यसका लागि लाम्खुट्टे आफूले यो जीवाणु बोकेको हुनु पर्‍यो। लाम्खुट्टेले टोकेको औसत ३ देखि ७ दिनमा यो रोगको लक्षण देखा पर्छ। यो समय व्यक्तिको शरीरमा भएको रोग सँग लड्ने क्षमतामा भर पर्छ। डेङ्गु लागेको व्यक्तिलाई ज्वरोसुरु भएको १ दिन अगाडी र ६-७ दिन पछी सम्म लाम्खुट्टेले टोक्दा यो रोगको जीवाणु लाम्खुट्टेमा सर्छ। लाम्खुट्टेमा सरेको ६-८ दिनमा यो जीवाणु लाम्खुट्टेका र्‍याल ग्रन्थीमा गुणात्मकरुपमा वृद्धि हुन्छ। र यसले स्वस्थ व्यक्तिलाई टोक्दा अब डेङ्गु सर्छ। डेङ्गु लगिसकेको लाम्खुट्टेले उसको जीवन भर डेङ्गु सार्न सक्छ तर उसलाई भने यो रोगले कुनै नकारात्मक असर पर्दैन। चाखलाग्दो कुरो त डेङ्गु सार्ने लाम्खुट्टेको अन्डा बाट जन्मने अर्को लाम्खुट्टे त झन् जन्मदै यो रोग सार्ने क्षमता भएर जन्मन्छ। तर यी लाम्खुट्टेका अन्डा 10 डिग्री भन्दा चिसोमा काम नालाग्ने हुन्छ।

डेङ्गु रोगका लक्षणहरु के हुन्?

(मलाई त रुघाखोकी र ज्वरो त आइरहन्छ तर ज्वरो आउँदा डेङ्गु नै हो भनेर चाहिँ कसरी थाहा पाउने?)

म तपाइँलाई रुघाखोकी सँग डेङ्गु कसरी छुट्टाउने भन्ने जवाफ दिन्न किन कि तपाई ज्वरो आएर डाक्टरलाई देखाउन जाँदा उसको काम हो तपाईंको रोग छुट्याउने। हेर्नुस् ज्वरो जे सुकै भएर आओस् तपाईंले आउन साथ नजीकको स्वास्थ्यकर्मी सँग जाँच गराइहाल्नु बुद्धिमानी हुन्छ। खयर डेङ्गु रोगको सबैभन्दा महत्त्वपूर्ण पाटो नै लक्षणहरु के के हुन् भन्ने हो। एउटा डाक्टरले पनि तपाईंले बताउने लक्षण र उसले तपाईंको जाँच गर्दा देखेका लक्षणहरुलाई सुनेर र हेरेर बिराम उपचारका आधारहरु तय गर्छ। त्यसै लक्षणहरुको पाटोमा अलिक धैर्य गरेर वयान गर्छु ता कि यो स्वास्थकर्मी र सामान्य व्यक्तिको पनि जिज्ञासाको उत्तर बनोस्।

डेङ्गु रोगको मैले माथी तीन अवस्था अर्थात् stage बताएको छु जसको व्याख्या यस प्रकार छ।

पहिलो:– डेङ्गु ज्वरो (Dengue Fever) रोगको सुरुमा एक्कासि हनहनी ज्वरो आउनु यो रोगको पहिलो लक्षण हो। (स्मरण रहोस् कहिलेकाही ज्वरो नआइ नै पनि डेङ्गु भएको हुन सक्छ।)

अन्य लक्षणहरु:

१. टाउको दुख्नु

२. आँखाको गेडोको वरिपरि वा पछाडितिर दुख्नु

३. जीउ दुखनु (अत्यधिक जिउ दुख्ने भएकाले डेङ्गुलाई (Break Bone Fever) हाड भाँच्ने ज्वरो पनि भनिन्छ।)

४. जिउ थकित हुनु

५. जिउमा मसिनो (सियोको टुप्पो झैँ सानो) आकारको रातो दाग आउनु

६. बान्ता हुनु र होला जस्तो हुनु

७. खाना रुचि नहुनु

८. झाडापखाला हुनु

९. मन्द पेट दुख्नु

यी सबै लक्षण अरु रोगमा नि हुने गर्छ त्यसैले नहिच्किचाइ ज्वरो आउन साथ अस्पताल जानु पर्छ। यदि तपाईंको छरछिमेकमा कसैलाई डेङ्गु भएको भए आफ्नो डाक्टरलाई भन्नुस्, अथवा तपाई डेङ्गु रोग लगेको भनिएको ठाँउ घुम्न जानु भएको थियो भने त्यो नि भन्नुस्।

दोस्रो:- डेङ्गु हेमोर्‍याजिक फिबर (Dengue Hemorrhagic Fever) २ देखी ७ दिन सम्मको ज्वरो, माथी भनिएका लक्षण र तलका लक्षणहरु साथमा आए त्यो डेङ्गु हेमोर्‍याजिक फिबर हुन्छ।

१. पेट धेरै दुख्नु

२. लगातार बान्ता हुनु

३. गिजाहरुबाट खुन बग्नु

४. नाथ्री फुटेको झैँ नाकबाट रगत आउनु

५. प्यास धेरै लाग्नु, खटपट/छट्पटी हुनु

६. दिशा कालो हुनु

ल्याब रेपोर्टमा शरीरमा खुनको बाक्लोपना बढेको देखिनु, खुन जम्न मद्दत गर्ने platelet प्लेट्लेटको मात्रा घटेर १००,००० cells/mm3 भन्दा कम हुनु।

तेस्रो:- डेङ्गु शक सिन्ड्रोम (Dengue Shock Syndrome) डेङ्गु रोगको गम्भीर अवस्था हो यो। माथीका सम्पुर्ण लक्षणहरुका वा केही लक्षणहरुका साथमा तलको कुनै लक्षण संगै आए डेङ्गु शक सिन्ड्रोम भएको भन्ने बुझिन्छ।

१. रगतका नसाहरुबाट पानी र खुन जमाउने पदार्थहरु भएको प्लास्मा Plasma लिक भएको प्रमाण भेटिनु (प्रमाणके हुन् भन्ने कुरा तपाईको डाक्टरले जान्ने छन्)।

२. रक्तचाप (B.P.= Blood Pressure) घटेर जानु, नाडीमा धड्कनको चाल बड्नु र धड्कन कमजोर हुनु

३. फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा समस्या आउनु

४. पेटमा अत्यधिक खुनबगेको प्रमाण अथवा खुन बान्ता हुनु

५. विभिन्न अङ्गहरु मुटु, मृगौला, कलेजोहरुले काम गर्न छोडनु

यी सबै अवस्थाहरुमा डाक्टरहरुले आवस्यकता अनुसार प्रयोगशालामा विभिन्न समय समयमा रगतका जाँच, एक्स-रे, अल्ट्रासाउन्ड आदि गर्ने गर्छन्। साथै डेङ्गु रोग प्रमाणित गर्न केहि रगत परिक्षण पनि गरिन्छ। सुन्दा कहिँ डरलागे पनि समयमा ज्वरो आउनसाथ डाक्टरलाई देखाए यो रोग दोस्रो तेस्रो अवस्थामा पुग्दैन।

डेङ्गु लग्दा पहिलो १ देखि ५-७ दिन ज्वरो आउँछ, जब ज्वरो घट्छ तब को २-३ दिन एकदमै चनाखो हुनु पर्छ किन कि त्यो समय शरीरमा पानीको कमि, रगत बग्ने आदि हुनसक्छ त्यस पछीको १-२ दिन बिरामीको स्वास्थ सामान्य बनेर जान्छ।

रोगको उपचार के हो?

प्रसस्त पानी पिउने, बेड रेस्ट (आराम गर्ने) शारीरिक बल पर्ने काम गर्दै नगर्ने, ज्वरो आउन नदिन औषधि खाने, अस्पतालमा भए सलाइन पानी दिने, यदि रोग दोस्रो वा तेस्रो अवस्थामा पुगे बिरामीलाई रगत पनि दिनु पर्ने हुन सक्छ।

डेङ्गु लागेको शंका हुन साथ कालो चक्लेट, खुन र डडाएको मासुहरु खानु हुन्न। यी खानाले दिसा कालो हुने भएकोले पेटमा कतै रगत पो बगेको हो कि भनेर झुक्किन सक्छ। लक्षणहरुमा माथी डेङ्गु हेमोर्‍याजिक फिबरमा भएका लक्षण नभए बिरामीको उपचार अस्पताल भर्ना नगरी बहिरंग सेवा मै गरेर घर पठाउन सकिन्छ। तर फेरि पनि पहिला डाक्टरको सल्लाह लिनुपर्छ।

यो रोग बाट कसरी बच्ने?

यो रोगबाट बच्न पहिला लाम्खुट्टेको टोकाइ बाट बच्नु पर्यो। त्यस्का लागि तलका उपायहरु अपनाउनु पर्छ।

१. लामो हात खुट्टा छोप्ने लुगा लगाउने। हातमा भन्दा लाम्खुट्टेले कुर्कुचा र घाँटीको पछाडि बढी टोक्ने भएकाले अनिवार्य पेन्ट, ट्राउजर लगाउने।

२. पानी जम्ने टायर, फलिएका भाँडाबर्तन, प्लाष्टिकका कागज जस्मा पानी जम्छ तिन्लालाइ सफा गर्ने। पानी जम्ने खाडल पुर्ने।

३. स्कुल, चौर, घर वरपर लाम्खुट्टे भगाउने/मार्ने औषधि छर्किने। ४. हातखुट्टामा लाम्खुट्टे भगाउने लोसन/कृम लगाउने।

५. साझ पर्न लग्दा

४ बजे अपरान्ह पछी घरका झ्यालहरु बन्द गर्ने, अनावश्यक बाहिर नजाने, केटाकेटीलाई ४ देखि बेलुका ६ बजे सम्म बाहिर अनावश्यक हिंड्न/खेल्न नदिने।

६. कुनैपनि माथी उल्लेख लक्षण देखिन साथ अस्पताल वा नजिकको डाक्टरलाई देखाउने।

७. Citrus fruits भिटामिन सि पाइने फलफूल हरु खाइ रहने। (रोग लागेको थाहा पाउन साथ चिकित्सक कहाँ जाउ, उपचारमा ढिलाइ भइ हुने मृत्युबाट आफुलाई जोगाउँ।)

डा. रामकृष्ण आचार्य, सामुदायिक अस्पताल सिङ्फृङ्, इलाम

प्रतिक्रिया दिनुहोस्