Logo
  बैशाख ८, २०८१ शनिबार

‘एकीकरण सार्थक बनाउन मेरो जित जरुरी’ : राम कार्की (अन्तरवार्ता)



बामपन्थी प्रगतिशील राष्ट्रबादी गठबन्धनको तर्फबाट झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभाको उम्मेद्वार बन्नु भएका राम कार्की पार्थ’ बौद्धिक नेता एवम् बाम गठबन्धनको सूत्राधारको रुपमा परिचित हुनुहुन्छ । चुनावी सन्दर्भमा उहाँसँग लोकतन्त्र पोस्टका कार्यकारी सम्पादक झुलन रेग्मीले लिनु भएको अन्तरवार्ता प्रस्तुत छ–

बौद्धिक नेताको रुपमा तपाइँ चिनिनु भएको छ । राजनीतिक यात्रा बारे केही जानकारी गराइदिनु हुन्छ कि ?

  • २०२८ सालमा जब म म्याट्रिकको परीक्षा दिएपछि मेरो राजनीतिक यात्रा शुरु भएको हो । त्यतिखेर म एउटा प्रतिभाशाली विद्यार्थीको रुपमा गनिन्थे । जिल्लामा भएको साहित्यिक प्रतियोगितामा सँधै म नै प्रथम हुन्थे र पुरस्कार पाउँथे । त्यसपछि स्वाभाविक रुपमा राजनीतिक व्यक्तित्वहरुको नजर म माथि पर्यो । शुरुमा म बीपी कोइरालाबाट प्रभावित थिएँ । २०३२ सालमा मेलमिलापको कार्यक्रम आएपछि म उहाँहरुबाट असन्तुष्ट भए । रामराजा प्रसाद सिंहले गणतन्त्रको वकालत गरिरहनु भएको थियो । चे ग्वाभारालाई आफ्नो आदर्श मान्नु हुन्थ्यो । मैले पनि त्यो अवस्थामा चे ग्वाभाराको फाटफुट रुपमा अध्ययन गरिसकेको थिएँ । म त्यसबाट निक्कै प्रभावित भएको थिएँ । माक्र्सवाद र लेनिनवादको सिद्धान्तलाई मैले अवलम्बन गरे ।

पारिवारिक पृष्ठभूमि बारे केही बताउनु हुन्छ कि ?

  • आर्थिक रुपमा हुने भनेर गनिएको परिवारमै जन्मिएको हुँ । मेरो हजुरबुवा लप्टन हुनुहुन्थ्यो । तर म ७ वर्षको हुँदा मेरो बुवा खस्नुभयो । त्यसकारण सम्पत्तिको खासै सदुपयोग हुन सकेन । बाल्यकाल कठिनाई मै बित्यो । तर राजनीतिक यात्रा मेरो निरन्तर नै रह्यो । मैले एक्लो महसुस कहिलै गरिन । राम्रो पढेलेखेको महिलासँग मेरो विवाह भयो । मेरो घरको व्यवहार उनले सम्हालिन् । आर्थिक रुपमा पनि सबल भएका कारण कसैसँग झुक्नुपर्ने अवस्थाको सिर्जना भएन ।

तपाईलाई बाम गठबन्धनको सूत्राधार र समाजबादको व्याख्याता मानिन्छ । नेपालमा कस्तो समाजबाद उपयुक्त हुन्छ ?

  • कम्युनिष्ट पार्टीहरुको एजेन्डाहरु स्थापित गर्न मैले योगदान दिएको छु । अहिले संविधानमा जुन समाजवाद उल्लेख गरिएको छ । त्यो समाजवाद परिभाषित भएको छैन । कस्तो समाजवाद भन्ने उल्लेख गरिएको छैन । संसारमा विभिन्न ढाँचाका समाजवादहरु छन् । त्यसमा वीपी कोइरालाहरुले भन्ने गरेको प्रजातान्त्रिक समाजवाद । अर्काेतर्फ लेनिन र माओहरुले विकसित गरेको समाजवाद । मेरो रायमा नेपालका निम्ति विश्वमा भएका समाजवादहरुको प्रयोग गरी त्यसलाई नयाँ रुपमा हामीले नेपालमा प्रयोग गर्न खोजिरहेका छौँ । बेलायतको आन्दोलन के भयो ? अमेरिकामा समाजवादी आन्दोलन के भो ? युरोप वा अरु देशहरुमा समाजवादी आन्दोलन के भो ? त्यो हेरिँदैन । जसरी सोभियत संघ ढल्यो । त्यसरी नै वेलायतका लेबर पार्टीका नेताहरुले पनि जीवनको अन्तिममा लेखेका छन् कि श्रमिकहरुका लागि गर्न चाहन्थ्यौँ, त्यो हुन सकेन । चुनावबाट नयाँ प्रयोग गर्छाै कामदारका लागि पनि सजिलो व्यवस्था ल्याउँछौ भन्ने सोचका साथ त्यसमा हामी असफल भयौँ भन्ने कुरा उनीहरुको जीवनी पढेर सुनेको छु । त्यसो हुनाले नेपालका निम्ति समाजवाद नै मौलिक चरित्र बोकेको नेपालको विशेषता सुहाउँदो र इतिहासमा समाजवादका प्रयोगहरु भए त्यसका सफलता र असफलताको शिक्षाबाट नेपालमा समाजवाद लागु गर्नुपर्छ भन्नेमा लागेका छौँ । समाजवाद कस्तो हुन्छ, के हुन्छ ? भन्ने रणनीति बनाउनका निम्ति स्वाभाविक रुपमा म योगदान दिन चाहन्छु ।

मतदाताले तपाईलाई किन रोज्ने ?

  • २०/३० वर्ष नेपाललाई राजनीतिक एजेन्डाबाट अगाडि बढाउने र नेपाललाई आत्मनिर्भर बनाउने, स्वतन्त्र स्वभिमानी, आत्मनिर्भर, सम्पन्न र समृद्ध तथा विविधतायुक्त भएको नेपाल बनाउनु पर्नेछ । यी एजेन्डा हामीसँग भएकाले र यी एजेन्डाका आधार र म आफू पनि समाजवादका निम्ति लडिरहेको व्यक्ति भएको हुनाले त्यसले पनि मलाई भोट दिनुपर्छ भन्ने नै हो ।

जित्ने आधार के छन् ?

  • जित्ने आधार त एउटा वामपन्थी मत नै हो । अर्काे कुरो मेरो राजनीतिक जीवनले पनि त्यसलाई मद्दत गर्छ । किनभने मेरो जीवनमा म मन्त्री पनि भए । सांसद पनि भएँ । तर पनि मैले आफ्नो जुन कम्युनिष्ट आचरण हो त्यसलाई मैले पालना गरिरहेँ । यी कारणले गर्दा मलाई लाग्छ जनताले मलाई रोज्नु हुन्छ ।

चुनाव जितेपछि तपाईका योजना के–के छन् ?

  • एउटा त समग्र नेपालकै विकास गर्नु छ । त्यसमा पनि मेरोे योगदान रहनेछ । हामी नेपालमा कस्तो खाले शिक्षा नीति लागु गर्ने, कस्तो प्रकारको भूमि व्यवस्थापन गर्ने, नेपालले विकासको कस्तो रणनीति अपनाउने भन्ने विषयमा प्रस्ट छौँ । एउटा दीर्घकालीन विकास रणनीति जुन अर्थ राजनीतिसँग सम्बन्धित हुन्छ । त्यसमा म योगदान गर्छु । त्यसैले समग्र नेपालको विकासका नीति बनाउँछौँ । मजदुर किसान श्रमिक वर्गलाई ध्यान दिएर नीति बनाउँछौँ । त्यसैले नीति बनाउँदा श्रमिकहरुको ज्यालामा अभिवृद्धि गराउँछौँ । अब बन्द भएका उद्योगहरुलाई खोल्ने, नेपालमा बाटो बनाउँदा त्यसले उत्पादनलाई जोडोस् र नेपालकै अर्काे ठाउँलाई लिङ्क गरोस् । यो पनि सोच राख्ने रहेको छ । अर्काे कुरा हामीले पाँच÷सात वटा बाटो उत्तरतिर पनि बनाउन जरुरी छ । जसले गर्दा हाम्रो छिमेकी चीनले रेलमार्ग बनाएको छ, त्यहाँसम्म हाम्रो पहुँच हुन सकोस् ।

झापाको सन्दर्भमा चाहिँ कस्ता योजना छन् ?

  • झापाकै निम्ति भन्नु हुन्छ भने म पूर्वाञ्चलमा यहाँको प्रदेश नम्बर १ को इञ्चार्ज, त्यो भन्दा पहिले मेचीको इञ्चार्ज भएर बसेको छु । त्यसले गर्दा मलाई झापाका विशेषताहरु थाहा छ । झापाका नदी वरदान पनि अभिशाप पनि हो । यहाँका खहरे खोलाहरु व्यवस्थित गर्नु छ । अर्को कुरा यहाँ हात्तीको समस्या छ । यसबाट जनतालाई छुटकारा दिलाउनु छ । त्यस्तै विगत केही दशकदेखि राष्ट्रिय महत्वका उद्योगहरु झापामा देखा परिरहेका छैनन् । त्यसो हुनाले झापामा उद्योगहरु स्थापना गर्नु, प्राविधिक कलेजहरु खोल्नु, मेडिकल कलेजहरु खोल्नु, इन्जिनियरिङ कलेजहरु खोल्नु छ । यी तमाम कुराहरु मेरो एजेन्डामा पर्छन् ।

तपाई कसलाई प्रतिस्पर्धी ठान्नुहुन्छ ?

  • म कसैलाई प्रतिस्पर्धी ठान्दिन । म विजयको लागि उठिराखेको छु । जित्नको लागि । म कसैलाई हराउने कुरा सोच्दिन । म विजयी हुन्छु । हाम्रो पार्टी विजयी हुन्छ । र, पार्टी विजय हुनु यसकारण छ कि लगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरेका छौँ । त्यसलाई सार्थक बनाउनका निमित्त पनि मेरो विजयी हुनु जरुरी छ ।

प्रतिस्पर्धीहरु आफूलाई स्थानीय हुँ र बढी मत आउँछ भनेर प्रचार गरिरहेका छन् नि ?

  • निर्वाचन हँुदैछ । यो वडाको निर्वाचन होइन । यो केन्द्रको निम्ति सांसद छानिने कुरा हो । वडाको निम्ति भए, स्थानीय या अरु अरु कुरा गर्न मिल्थ्यो । नेपालको हरेक नागरिकलाई हरेक क्षेत्रबाट चुनाव लड्ने अधिकार छ । विगतमा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईले पर्सा जस्तो मधेशमा आएर चुनाव लड्नु भयो । हाम्रा मदन भण्डारी, प्रचण्ड लगायतका नेताहरुले विभिन्न क्षेत्रहरुबाट निर्वाचन लड्नु भएको इतिहास छ । यो चाहिँ राजनीतिक इसु नभएपछि उठाइने कुरा हो । यस्ता कुराहरु पञ्यायतकालमा गरिन्थ्यो । जातिको, क्षेत्रको, गोत्रको कुरा उठाइन्थ्यो । अहिले उठाउनुको कारण उहाँहरुसँग अरु राजनीतिक मुद्दा नभएर हो ।

चुनावपछि कम्युनिस्ट पार्टीहरु बीच एकीकरण हुन्छ भन्ने कुरा कसरी विश्वास दिलाउनु हुन्छ ?

  • कम्युनिस्ट पार्टीको कार्यव्रmम रणनीतिक लक्ष्य र हिँड्ने बाटोको कुरामा कुनै मतभेद देखिदैन । खासगरी २०६३ ÷०६४ पछि एमाले र माओवादी पार्टी एउटै निष्कर्षमा आइपुगेका छन् । उनीहरुले समाजलाई जुन ढङ्गले अध्ययन गरिरहेका छन्, त्यो अध्ययनबाट एउटै प्रकारको निस्कर्ष निस्किएको छ । चाहे त्यो प्रजातन्त्रको बारेमा होस् या वर्तमान अवस्थाको बारेको होस् या त भावी रणनीतिको बारेमा नै किन नहोस् । अनि बाटोको बारेमा । कुन बाटोबाट समाजवादमा पुग्ने भन्ने विषयमा पनि मतैक्य हुने भएकाले पनि पार्टी एकीकरण हुन्छ । नेपालका श्रमजीवि जनताको उत्कट चाहना पनि हो एकीकरण होस् भन्ने नै रहेको छ ।

अबको लडाइँ काँग्रेससँग मात्र हो ?

  • समाजका सबै प्रतिगामी अप्रजातान्त्रिक पक्षहरुसँग सङ्घर्ष हुँदैछ । त्यसमा जो उभिन आउँछ, त्यो विरुद्ध स्वाभाविक रुपमा सङ्घर्ष गर्नै पर्ने हुन्छ ।

कम्युनिस्टको सरकार आए देशमा अधिनायकवाद हावी हुन्छ भन्ने विपक्षीको आरोप छ नि ?

  • त्यो उहाँहरुले भनेको प्रजातन्त्र चाहिँ धनीमानी, सुविधासम्पन्न सुकिला मुकिलाहरुले भोगिरहेको सुविधालाई मान्नु हुन्छ । हाम्रो भनाई के छ भने जहाँ प्रजातन्त्रको सूर्य पुगेको छैन । सुकुम्बासी, दलित, मुस्लिम समुदाय, महिलाहरुको संसारभित्र पनि प्रजातन्त्र पुग्नु पर्छ भन्ने हो । त्यसैले प्रजातन्त्रको विस्तारलाई घनिभूत पार्ने कुरा हामी गर्छौ । आफूसँग इसु नभएर, आफ्नो अस्तित्व बचाउनका निमित्त यस्तो अनर्गल प्रचार गरिरहेका छन् ।

तपाईको क्षेत्रमा चुनावी परिणामको अङ्कगणितीय हिसाब कसरी गर्नु भएको छ ?

  • चुनावी अङ्कगणित स्पस्ट नै छ । बाम गठबन्धन १७ हजार भन्दा बढी मतले अगाडि छ । यसमा पनि राप्रपाको मत पनि थपिएको छ । त्यसैले पनि हामी हाम्रो विजयप्रति ढुक्क छौँ । अझ पार्टी एकताको घोषणाले देखिएको उत्साहको मत हामीसँग छ ।

आम मतदाताहरुलाई के आह्वान गर्न चाहनु हुन्छ ?

  • मलाई पार्टीले जहाँ जिम्मेवारी दियो, त्यो काम पूरा गर्दै आएको छु । कुनैबेला मलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख त कहिले प्रदेश प्रमुख भएर काम गरेको छु । एक नम्बर प्रदेशको इञ्चार्ज हुँदा म एउटै टोलमा एउटै गाउँमा, क्षेत्रमा सीमित भएर बस्ने कुरा भएन । र, स्थानीयबादको नारा लगाएर जुन साथीहरु चुनाव लडिरहनु भएको छ । उहाँहरु पनि १ नम्बर क्षेत्रमा मात्रै बस्नु भएन । देशैभरि आएको गएको र विदेशतिर गएको पनि सुनिथ्यो होइन र । मैले नि बेलाबखत फोन गर्दा दाई म बाहिर जाँदैछु भन्ने कुरा सुन्थेँ मैले । अहिले चाहिँ मलाई पार्टीले १ नम्बर क्षेत्र जिम्मेवारी दिएको छ । त्यसैले मैले राजनीतिक रुपमा प्रदेश नं. १ मा नै नेतृत्व खेल्ने भूमिका गर्छु र मैले विकास निर्माण लगायत अरु कुराहरुमा १ नम्बर क्षेत्रमा नै केन्द्रित हुन्छु । किनभने मेरो जिम्मेवारी यहीँ ठाउँमा छ । त्यसैले म यहीँ नै केन्द्रित हुन्छु । म मतदाताहरुलाई यही विश्वास दिलाउँदै बाम गठबन्धनलाई अत्याधिक मत दिएर जिताउन हुन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्