Logo
  बैशाख ८, २०८१ शनिबार

हामी साढे आठ हजार बढी मतले अगाडि छौँ’: श्रीप्रसाद मैनाली (अन्तरवार्ता)



बाम गठबन्धनको तर्फबाट झापा क्षेत्र नं. १ को (क) मा सूर्य चिह्न लिएर प्रदेश सभा उम्मेद्वार बन्नु भएका श्रीप्रसाद मैनाली नेकपा एमालेका जिल्ला नेता तथा यातायात व्यवसाय जगतका राष्ट्रिय हस्ती हुनुहुन्छ । उहाँसँग चुनावी समसामयिक विषयमा केन्द्रित भएर लोकतन्त्र पोस्ट दैनिकका कार्यकारी सम्पादक झुलन रेग्मी र जनसंसद् दैनिकका कार्यकारी सम्पादक अर्जुन कार्कीले संयुक्त रुपमा लिनु भएको ताजा अन्तरवार्ता प्रस्तुत छ–

राजनीतिमा लाग्दाको सुरुवाती दिनहरु कसरी सम्झनु हुन्छ ?

  • म सुकुम्बासी थिएँ । सानो बारी थियो । त्यो पनि मैले छाडेर म काँकरभिट्टा आएको थिएँ । मेरो नाममा केही पनि थिएन । मैले आइएसम्मको अध्ययन गरे । मेरो राजनीतिक यात्रा २०२८ सालबाट सुरु भएको हो । २०२८ सालमा झापा आन्दोलन भयो । त्यही आन्दोलनबाट मेरो राजनीतिक यात्रा सुरु भएको हो । मेरा गुरु सूर्य कन्दङ्वा, नन्दकुमार प्रसाई लगायतका कम्युनिस्ट नेताहरुको अगुवाईमा आन्दोलन भएको थियो । कक्षा ९ मा पढ्दाखेरि म कम्युनिस्ट आन्दोलनमा लागेको व्यक्ति हँु ।

मतदाताले तपाईलाई नै किन भोट दिने ?

  • मुख्य कुरा हामी कम्युनिस्ट आन्दोलनमा लाग्यौँ । हामी श्रमिक र सर्वहारा वर्गको उत्थानका लागि लाग्यौँ । जुन किसिमको हाम्रो हँसिया र हथौडा झण्डा छ, त्यही झण्डा एउटै बावुका दुई सन्तान हुन् । शान्ति समृद्धि र स्थायी सरकारको आजको आवश्यकता हो । म कम्युनिस्ट पार्टीमा लागेको व्यक्ति हँु । मैले २०३६ सालदेखि मजदुर सेक्टरमा काम गरेँ । मजदुरका हरेक समस्यासँग जुधेको छु । मैले मजदुरका पीरमर्का बुझेको छु । त्यस पछाडि म २०५२ सालदेखि यातायात क्षेत्रमा काम गरेँ । जुन मेची बस व्यवसायी सङ्घमा काम गरेँ, मैले आठवटा गाडीबाट ८ सयवटा गाडी बनाएँ । धैरै मान्छेलाई रोजगार दिएको छु । भ्रष्टाचार गरेको छैन । म एउटा सामाजिक मान्छे हँु । राष्ट्रिय स्तरमा एउटा सङ्गठनको अध्यक्षको जिम्मेवारी पनि सम्हालेको छु । त्यसकारण मतदाताले मलाई विश्वास गरेका छन् ।

जितका आधार के छन् ?

  • जित्ने आधार त धेरै छन् । नेपाली काङ्ग्रेसले दुईपटक बहुमत ल्यायो । केही काम गर्न सकेन । जनताले जुन अपेक्षा गरेका थिए । तर पूरा हुन सकेन । नौ–नौ महिनामा सरकार परिवर्तन भए । जम्बो मन्त्रीमण्डल बनाउने, अदालतमा राजनीति गर्ने सिवाय काङ्ग्रेसले केही गरेन । तर, त्यसको विकल्पमा २०५१ सालमा मनमोहन अधिकारीको पालामा आफ्नो गाउँ आफै बनाऔँ, जेष्ठ नागरिकलाई भत्ता दिएर सम्मान गर्ने लगायतका जनप्रिय कामको थालनी भयो । आज पनि त्यसले निरन्तरता पाएको छ । २०७४ सालमा आएर नेकपा एमालेले राष्ट्रियताको मुद्दालाई जोडतोडका साथ लागू गर्यो । नेपाली काङ्ग्रेसले संविधान जारी गर्न सकेन । मधेस आन्दोलन भयो । हामी त्यसबेला राष्ट्रियताको पक्षमा उभियौँ । त्यसबेला नेपाली जनताले नेकपा एमालेलाई साथ दिए । केपी ओलीको सरकारले चीनसँगको पारवहन सम्झौता गर्यो । त्यो सम्झौताले पनि नेपालको शीर उठाउने काम गरेको छ । कम्युनिस्टको सरकारको अहिलेसम्म बहुमत आएको छैन । हामीले जनताको चाहना अनुरुप काम गर्न सकेका छैनौ । त्यसकारण बहुमतको सरकारका लागि आम मतदाताले बाम गठबन्धनलाई मत दिनुहुनेछ । श्रमिक, सर्वहारा र सुकुम्बासीहरुको पार्टीको झण्डा हँसिया हतौडा हामी सिंहदरवारमा राख्न चाहन्छौँ । एकचोटी हामीलाई मतदान गर्नुहोस् । गर्न सकेनौ भने विकल्प खोज्नुहोस् । मनमोहन अधिकारीको पालामा मासिक १ सय रुपैयाँको दरले बृद्धभत्ता सुरु गरिएको थियो । अहिले २ हजार पुर्याइएको छ । हाम्रो सरकार बनेपछि त्यसलाई बढाएर ५ हजार पुर्याउँछौँ ।

तपाई कसलाई प्रतिस्पर्धी ठान्नुहुन्छ ?

  • मेरो प्रतिस्पर्धी नै छैनन् ।

चुनाव पछि बाम एकता हुन्छ भनेर विश्वास गर्ने आधार के छन् ?

  • पहिलो कुरा त नेपालमा छरिएर रहेका कम्युनिस्टहरु एक्ला एक्लै ५० वर्ष लडे । देशी विदेशी शक्तिहरुले हामीलाई फुटाए । अहिले नेपाली जनताको चाहना अनुसार असोज १७ गते कमरेड केपी ओली र कमरेड प्रचण्डले जुन ऐतिहासिक कदम चाल्नु भयो, अब हामी कम्युनिस्टहरु मिल्नुपर्छ भन्ने महसुस भयो । अनि बाम एकताको घोषणा भयो । टोल टोलदेखि बाम कार्यकर्ताहरु एकजुट भएका छन् । अब एकता हुनेमा दुइमत छैन । जो एकताको विरुद्धमा उभिन्छ, उ आफै पाखा लाग्छ । अब कम्युनिस्ट नेताहरुले एकताको उद्घोष गरिसकेका छन्, जनताले त्यसलाई अनुमोदन गरिसकेका छन् ।

अबको लडाइँ काङ्ग्रेससँग मात्र हो जस्तो देखियो नि त ?

  • यो राष्ट्रवादी र राष्ट्रघातीविचको लडाइँ हो । राष्ट्रवादी शक्तिको रुपमा हामी बामपन्थीहरु अगाडि बढेका छौ । काङ्ग्रेसको विषयमा कुरा गर्नु नै गल्ती हो । काङ्ग्रेसले कम्युनिस्ट सरकार आयो भने अधिनायकवाद हावी हुन्छ भनेर अनर्गल प्रचार गरिरहेको छ । लोकतन्त्र चाहिँ काङ्ग्रेसले मात्र ल्याउँछ भनेर असत्य कुरा गरिरहेको छ । तर नेपाली जनताले त्यो कुराको विश्वास गरेका छैनन् । हामी प्रजातन्त्र र संविधान कार्यान्वयन गर्नका लागि लड्यौँ । र, अब पनि लडिरहने छौँ । अब पाँच वर्ष होइन दुई वर्षमै कम्युनिस्ट सरकारले परिवर्तनको आभास गराउने छ ।

कम्युनिस्ट सरकार आए अधिनायकवाद हावी हुन्छ भन्ने विपक्षीको आरोप छ नि ?

  • यो त केटाकेटी कुरा हो । जो मान्छे प्रजातन्त्रका लागि लड्यो । २०२८ सालदेखि पञ्चायत विरुद्ध लड्यौँ, नेकपा माओवादीले जनयुद्ध लड्यो । अहिले एमाले राष्ट्रियताको पक्षमा उभिएको छ । यो सबै जनताले बुझेका छन् । त्यसैले यस्तो आरोप केटाकेटीले नै पत्याउँदैनन् । त्यो कुराको खण्डन गर्नु पर्ने आवश्यकता छैन । यो कुरा सुनेर जनता हाँस्ने मात्र छन् । २०१५ सालको चुनावमा कांग्रेसले बहुमत ल्यायो, कम्युनिस्ट शक्ति कमजोर थिए । कम्युनिस्ट शक्ति कमजोर हुँदा २०१७ सालमा लोकतन्त्र गुम्यो । कांग्रेसले लोकतन्त्र जोगाउन सकेन । अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै होइन र, ज्ञानेन्द्रलाई लोकतन्त्र जिम्मा लगाएको ? हामी कम्युनिस्टहरु बलियो भएको बेला मात्र लोकतन्त्र बलियो भएको इतिहास साक्षी छ । लोकतन्त्र जोगाउने, हुर्काउने र गरीव जनतालाई लोकतन्त्रको आभास दिलाउने जिम्मा अब बामपन्थी राष्ट्रबादी गठबन्धनले लिन्छ ।

तपाईको प्रदेशमा चुनावी परिणामको अङ्क गणितीय हिसाब कसरी गर्नु भएको छ ?

  • मेरो प्रदेशमा हामी साढे आठ हजार बढी मतले अगाडि छौँ । हिजो स्थानीय तहको चुनावमा जुन मत आएको छ, त्यसलाई आधार मान्नै पर्छ । हाम्रो जीत सुनिश्चित नै छ । मेरो प्रादेशिक इकाइमा मात्र होइन, पुरै झापा र देशैभर बाम गठबन्धनको लहर आएको छ । गठबन्धनले दुई तिहाई बहुमत ल्याउने पक्कापक्की छ ।

अन्त्यमा, आफ्नो क्षेत्रका मतदातालाई के आह्वान गर्नु हुन्छ ?

  • आम मतादातालाई के भन्न चाहन्छु भने पूर्वबाट सूर्यको किरण झुल्किसकेको छ । यो किरण देशैभर फैलिने छ । सूर्यविना कोही पनि बाँच्न सक्तैन । नेपाली जनताले पनि त्यही आश गरेका छन् । सिंहदरवारमा हँसिया हतौडाको झण्डा गाडिने भएकाले सूर्य चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्