Logo

विश्व बाम एकताः एमाले-माओवादी सिक्नु पर्ने कुरा 



नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एकाताको नजिक पुगेका छन् । कुनै दुर्घटना आइपरेन भने एमाले र माओवादी बिच पार्टी एकता लगभग निश्चित प्राय छ । यस्तो अवस्थामा पार्टी एकता कति सार्थक हुन्छ । विचार, सिद्धान्त र सांगठानिक ढाँचाको निर्माण कुन आधारमा हुन्छ भन्ने जस्ता पेचिला प्रश्न छन् । एकता ठूलो र सानो पार्टी बिचपनि हुन सक्छ । ठूलो पार्टीमा सानो पार्टी समाहित पनि हुनसक्छ । तर, एमाले र माओवादी बिच एकता हुने हो वा समाहित वा बिलय हुने भन्ने प्रश्न हो । पार्टी एकता भावनात्कम रुपमा हुन सकेन भने त्यसले पुन विभाजनका रेखा कोर्न सक्छ ।
एमाले र माओवादी बिच एकता गर्दा विश्वमा कम्युनिष्ट पार्टी बिच एकता र मोर्चा निर्माणको बिषय कसरी अघि बढेको छ । विश्व कम्युनिष्ट आन्दोलनको पार्टी एकता र मोर्चाको बिषय नेपालको सन्दर्भसँग मेल नखानसक्छ । तर, अन्य मुलुकमा बिकसित घट्नाक्रमबाट नेपालका कम्युनिष्ट पार्टीले सिक्न सक्छन् ।


चीनमा, चिनिया कम्युनिष्ट पार्टीले सत्ताको नेतृत्व गरिरहेको छ । तर चीनमा अन्य आठ पार्टीको अस्तित्व पनि रहेकै छ । तिनमध्ये अधिकांस त कम्युनिष्ट पार्टी नै हुन् । क्युवाले आफुलाइ ‘एक राज्य एक पार्टी’को अवधारणा संविधानमै अंगिकार गरेको छ । तर क्युवाको राजनीतिमा पनि आधा दर्जन अरु बढी पार्टीहरु अस्तित्वमा छन् । चिनले वा क्युवाको सत्ताधारी कम्युनिष्ट पार्टीले चाहँदा ति सबै पार्टीलाइ आफुमा समाहित गर्ने वा विसर्जन, विलय गराउन सक्थ्यो । लेटिन अमेरीकी देश भेनेजुएलामा पनि मोर्चाबन्दीलाइ नै प्राथमिकता दिइएको पाइन्छ । ह्यूगो चाभेजको जनगणतान्त्रिक आन्दोलनलाइ समर्थन गर्नेहरुको ब्लकले भेनेजुएला संयुक्त समाजवादी पार्टीको गठबन्धनमा भाग लिन्छन, भेनेजुएला कम्युनिष्ट पार्टीसहित केहि पार्टी यो मोर्चाबन्दीमा छन् । अर्को दक्षीणपन्थीहरुको ब्लक गठबन्धन छ । यी दूइ गठबन्धनको प्रतिष्पर्धामा बामहरु खरो उत्रदैं शासन सत्तामा छन् ।
लेटिन अमेरीकामा मात्र हैन, दक्षिण अफ्रिकाको अप्रिकन नेशनल कंग्रेस (एएनसी) मोडेलको पनि चर्चा गर्न सकिन्छ । एएनसीको यो मोडेलमा साउथ अफ्रिकन कम्युनिष्ट पार्टी, साउथ अफ्रिकन ट्रेड यूनियन जस्ता शक्तिशाली पार्टीहरुले गठबन्धन बनाएका छन् । यो मोडेल अन्तर्गत यी पार्टीहरु आफै चुनावमा भाग लिदैनन् । एएनसीकै तर्फबाट निर्वाचनमा सहभागि हुन्छन् । एएनसीको नेतृत्व हुन्छ । गठबन्धनमा गएका प्रतिनिधले आफ्नो मागमुद्धा लिएर गएका हुन्छन् । स्थानीय भाषामा यो गठबन्धनलाइ ‘टिर्पाटाइट’ गठबन्धन भनिन्छ । गठबन्धनमा मागमुद्धा सम्बोधन नभए एएनसीबाट बाहिरिन पनि स्वतन्त्र रहन्छन् ।
भारतमा यूपिए र एनडिए ः
भारतको राष्ट्रिय राजनीतिमा संयुक्त प्रगतिशील गठबन्धन (यूपिए) र राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) नामका दूइ गठबन्धन क्रियाशिल छन् । पहिलो गठबन्धनको नेतृत्व भारतीय राष्ट्रिय कांग्रेस र दोस्रो गठबन्धनको नेतृत्व भारतीय जनता पार्टीले गरेको छ । यूपिएको स्थापना सन् २००४ मा भएको हो । एनडिए १९८८ मा स्थापना भयो । यूपिएमा भारतीय कम्युनिष्ट पार्टीसहित केहि बाम समाजवादी पार्टीहरु गरी १३ वटा पार्टीको संलग्नता छ । एनडिएमा भाजपासहित क्षेत्रीय पार्टीहरु गरी ८ वटा पार्टी संगठित छ ।
यी दूइ गठबन्धन मार्फत दलहरुले राष्ट्रिय राजनीतिमा पकड जमाइ रहेका छन् । पँुजीवादी, उदारवादी अर्थ राजनीतिको वकालत गरीरहने यी पार्टीहरुबीच कुनै किसिमको पार्टी एकीकरणको अभ्यास गठबन्धन भित्र चलेको चर्चासम्म पाइन्न । भाजपाको घोर दक्षीणपन्थी हिन्दुवादी गठबन्धन एनडिएमा शिव सेना पार्टीसम्मको एकीकरणको सवाल उठेको छैन् । यता प्रगतिशील नाम दिइएको धर्म निरपेक्षतावादी यूपिए गठबन्धन घटकबीच पार्टी एकीकरण गर्ने संकेतसम्म पनि पाइन्न । यसमानेमा गठबन्धनको सफलतम प्रयोग पार्टी एकीकरणको चुनौतीलाइ पार गर्ने अभ्यास पनि हुनसक्छ । यस्तो गठबन्धन भविष्यका लागि कम जोखिमयुक्त हुनसक्छ ।
भारतीय कम्युनिष्ट पार्टी र तिनका मोर्चा ः
भारतमा करिव दूइ सयको हाराहारीमा कम्युनिष्ट लोगो भएका पार्टीहरु छन् । भारतका पँुजीवादी सञ्चार माध्यमले भारतीय कम्युनिष्ट पार्टीलाइ विभिन्न वैचारिक आधारमा विभाजन गरेका छन् । प्रो लेफ्ट, साना बाम पार्टी, बाम संयुक्त मोर्चा, प्रो चाइनिज÷नक्सलवादी आन्दोलनसँग सम्बन्धित, प्रो कँग्रेस ÷यूपीए गठबन्धनसँग सम्बन्धित, प्रो विजेपी तथा अन्य । ति सञ्चार माध्यमहरुले भारतीय कम्युनिष्ट पार्टी (भाकपा) र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) लाइ प्रो लेफ्टको सूचिमा राखेका छन् । यसरीनै प्रो चाइनिज वा नक्सलवादी आन्दोलनसँग सबन्धितमा भारतीय कम्युनिष्ट पार्टी (माओवादी) सहित भाकपा (माले) एउटै नाम गरेका १४ घटकसहित २० वटा कम्युनिष्ट पार्टीलाइ यो सूचिमा दर्ज गरेका छन् । यस्तै प्रो. कँग्रेस÷यूपीए गठबन्धनसँग सम्बन्धित १३ वटा बाम कम्युनिष्ट पार्टी रहेको जनाएको छ । यस्तै अन्य कम्युनिष्ट पार्टीको उल्लेख्य संख्या रहेको छ । रमाइलो त के छ भने वीजेपी जस्तो दक्षीणपन्थी पार्टी अर्थात प्रो विजेपीमा क्रान्तिकारी माक्र्सवादी पार्टी (दार्जिलिङ बेस) र जनपथीय संरचना समिति रहेको छ । यी दूइ कम्युनिष्ट पार्टीको वीजेपी प्रतिको लगावमा कुन माक्र्सवादी सिद्धान्तले काम गरेको छ, अनुसन्धान गर्न लायक छ । भारतीय बामपन्थीहरुले समाजवादी आन्दोलनको बहसका लागि भारतीय समाजवादी केन्द्र, भारतीय माक्र्सवादी पार्टी (संयुक्त) र क्रान्तिकारी माक्र्सवादी पार्टी जस्ता बाम मोर्चा पनि बनाएका छन् ।


भारतमा साना ठूला गरेर सैयौं कम्युनिष्ट पार्टी भएपनि त्यहाँ पार्टी एकीकरणको सवाललाइ महत्व दिइएको देखिँदैन बरु बाम÷कम्युनिष्ट माझ मोर्चाबन्दीको व्यापक प्रयास भएको देखिन्छ ।
बाम मोर्चाको अभ्यास ः
भारतीय कम्युनिष्ट पार्टीबीच एकीकरणलाइ भन्दा मोर्चाबन्दीलाइ विशेष प्राथमिकता दिएको देखिन्छ । भारतीय कम्युनिष्ट पार्टी विभाजनसँगै बाम मोर्चाको प्रयास गरेको पाइन्छ । राजनैतिक रुपले प्रजातान्त्रिक समाजवादको प्राप्ति, लोककल्याणकारी राज्यको स्थापना, सिमित विदेशी लगानी तथा राज्य नियन्त्रित औधोगिक व्यवस्था जस्ता नीतिगत विषयलाइ सम्बोधन गर्न बाम मोर्चाको संगठीत रुप दिइएको थियो । सन् १९५७ देखिनै यस्ता मोर्चाहरु अस्तित्वमा आएका छन् । सन् १९५७ मा संयुक्त बाम मोर्चा बन्यो । त्यसै अन्तर्गत सोही वर्ष विधानसभामा भागलिन संयुक्त बाम निर्वाचन समिति गठन भएको थियो । सन् १९६७ मा पश्चिम बंगालमा अर्को संयुक्त बाम मोर्चा गठन भयो । यो गठबन्धनको मूख्य उद्वेश्य पश्चिम बंगालको निर्वाचनसंग सम्बन्धित थियो । यसै वर्ष अन्य निर्वाचनमा भाग लिन बंगालमा संयुक्त बाम जनमोर्चा (१९६७) गठन भयो ।
त्यसै बखत राजनैतिक गठबन्धनको रुपमा त्रिपुरामा बाम फ्रण्टको नाममा कम्युनिष्ट पार्टीले मोर्चावन्दी गरे । भारतका अन्य प्रान्तमा पनि बाम फ्रण्ट बन्यो । बाम प्रजातान्त्रिक फ्रण्ट (केरला), बाम प्रजातान्त्रिक फ्रण्ट (महाराष्ट्र) आदि बाम राजनैतिक गठबन्धन हुन ।


बाम प्रण्टको सफलतम रुप पश्चिम बंगालमा देख्न सकिन्छ । पश्चिम बंगालमा सिपिएमको सफलता यहि फ्रण्टको माध्यमबाट भएको हो भन्नुमा अत्युक्ति नहोला । सन् १९७७ मा सिपिएमको अगुवाइमा पहिलो पटक ९ वटा पार्टी सम्मिलित बाम फ्रण्ट बन्यो । यो मोर्चामा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी), अल इण्डिया फरवार्ड ब्लक, भारतीय क्रान्तिकारी कम्युनिष्ट पार्टी, विप्लवी बंगाल कंग्रेस, भारतीय कम्युनिष्ट पार्टी, वर्कस पार्टी अफ इण्डिया, भारतीय बोल्सेविक पार्टी, माक्र्ससिस्ट फरवार्ड ब्लक र क्रान्तिकारी समाजवादी पार्टी सहभागि थिए ।
यहि मोर्चा बनेपछि सन् १९७७ देखि २०११ सम्म सिपिएमको नेतृत्वमा पश्चिम बंगाल सरकारमा एक छत्र मोर्चाको सरकार कायम भयो । ज्योति बसुदेखि बुद्धदेव भट्टाचार्यसम्मले बंगालमा मूख्यमन्त्रीको रुपमा बहुमतको एकमना शासन गरे ।

पहिलो बाम सरकार ः
प्रजातान्त्रिक निर्वाचनमाध्यमबाट स्थापित विश्वकै पहिलो कम्युनिष्ट सरकार केरला राज्यमा स्थापित भएको थियो । सन् १९५७ मा निर्वाचनमा सफलता प्राप्त गरेर इएमएस नम्बुदरीपादको नेतृत्वमा केरला सकार बन्यो । यसपछि पश्चिम बंगालमा लामो समयसम्म कम्युनिष्ट सरकार बन्यो । सन् २०११ को निर्वाचनमा बाम मोर्चा पराजित भयो । त्रिपुरा राज्यमा भने २० वर्षदेखि कम्युनिष्टहरुको सरकारको निरन्तरता छ । मानिक सरकार १९९८ देखि लगातार मूख्यमन्त्री रहि आएका छन् ।


धेरै नेपालीहरुलाइ भारतको संसदीय कम्युनिष्ट आन्दोलनको बारेमा जानकारी छैन् । पश्चिम बंगालमा सिपिएम (बाम फ्रण्ट) को पराजय पछि भारतमा कम्युनिष्टको सातो गएको भन्ने सोच्दछन् । या भारतीय प्रदेशहरुमध्ये केरला र त्रिपुरा राज्यमा अझैपनि कम्युनिष्टको लोकप्रियता ज्युँदै रहेको बुझ्न सकिन्छ ।
अन्त्यमा ः
भारत लगायत विश्वका अनेकौं देशहरुमा पुँजीवादी पार्टी हुन या समाजवादी तिनले गठबन्धनलाइ प्राथमिकता दिएका छन् । यो विषय हेक्का राख्नु पर्ने सूत्र पनि हुन सक्छ । नेपालमा दूइ ठूला नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीच हुन लागेको एकीकरणको सवाल पनि पेचिलो छ, हुन्छ । दूइ पार्टीको गठबन्धन पछि निर्वाचनमा आएको परिणामको अर्थ पार्टी एकीकरणसम्मको हो भन्ने सोह्रै आना हिसाव लगाउनु हुन्न । कांग्रेसको कुशासन र विचलन अनि विकल्पमा मत दिने अवस्था नहुँदा आएको यो मतादेश सम्ममात्र हुनसक्छ । अर्को विगतको पार्टी एकीकरणसँगसँगै पहिलो संविधानसभापछि माओवादी पार्टीको विभाजन, ०५४ सालमा भएको एमालेको विभाजनसहित ०१९ सालदेखि कम्युनिष्ट पार्टीको विभाजनको बजार नहेरी एकता मात्रको सुगा रटाइको अर्थ अप्ठेरोमा पर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्