Logo
  चैत्र १५, २०८० बिहीबार

कनकाई नगरपालिका दिगो सरसफाइको यात्रामा



झापा, १२ फागुन । झापाको कनकाई नगरपालिका वातावरण तथा सरसफाइ कार्यविधि जारी गरी दिगो सरसफाइको योजना तय गर्ने पहिलो स्थानीय तह बनेको छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ अनुसार कार्यविधि तयार गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।
नगरपालिकाको सभाले कनकाई नगरलाई सुन्दर नगरको रुपमा परिचित गराउन फोहरमैला व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यान्वयन गरिने निर्णय गरेको थियो । सोही निर्णयअनुरुप कार्यविधि तयार गरी २०७४ माघ २७ गतेको नगर कार्यपालिकाको बैठकले सरसफाइ कार्यविधि जारी गरेको हो ।
घर, कार्यालय, उद्योग तथा संघसंस्थाबाट निस्कने फोहरलाई वर्गीकरण गरी चार किसिमको डस्टबिनमा राख्नुपर्ने र मिसाएर फाल्न नपाइने कार्यविधिमा उल्लेख गरिएको छ । कुहिने फोहरलाई हरियो डस्टबिनमा, पुनः प्रयोग हुने फोहरलाई निलो डस्टबिनमा, सिसाजन्य फोहरलाई पहेंलो डस्टबिनमा तथा अस्पतालजन्य फोहरलाई रातो डस्टबिनमा राख्नुपर्ने समेत कार्यविधिमा उल्लेख छ ।
नगरपालिकाले वर्गीकरण गरिएका फोहरहरुलाई फरक फरक दिन वा फरक फरक समयमा संकलन गर्ने र व्यवस्थापन गर्ने योजना नगरपालिकाले बनाएको छ । कुहिने फोहर व्यवस्थापनका लागि कम्पोष्ट च्याम्बर निर्माण गर्ने, नकुहिने र ल्याण्डफिल साइट फोहरका लागि स्थानान्तरण केन्द्रहुँदै स्यानिटरी ल्याण्डफिल साइटमा पठाइने योजना समेत बनाइएको छ ।
“अहिले दुई विघा जमिनमा तत्कालका लागि फोहर संकलन तथा स्थानान्तरण केन्द्र राख्ने योजनाअनुरुप जमिनमा तारबार लगाउने काम भैरहेको छ”, नगर प्रमुख पोखरेलको भनाइ छ, “अर्को वर्ष छिमेकी शिवसताक्षी र बिर्तामोड नगरपालिकासँगको सहकार्यमा स्थायी ल्याण्डफिल साइट निर्माणको काम थालनी हुन्छ ।”
झापाको पूर्वी प्रवेशद्वार काकरभिट्टा रहेको मेचीनगरदेखि पश्चिम दमक नगरपालिकासम्म सबै नगरपालिका एकापसमा जोडिएका छन् । यसैगरी, राजमार्ग सडक खण्डमा पर्ने बिर्तामोडसँग अर्जुनधारा नगरपालिका र सदरमुकाम रहेको भद्रपुर नगरपालिकासँग पनि जोडिएको छ । “सबै नगरपालिका एकापसमा जोडिएकोले संयुक्त रुपमा ल्याण्डफिल साइट बनाउनुपर्छ, एक्काएक्लै बनाएरमात्र हुँदैन”, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीको भनाइ छ ।
कनकाई नगरपालिकाका प्रमुख पोखरेल समेत यो भनाइसँग सहमत छन् । “दिसाजन्य लेदो प्रशोधनका लागि मेचीनगर नगरपालिकासँग समन्वय हुन्छ”, पोखरेलको भनाइ छ । कुहिने फोहरबाट बायोग्यास र जैविक मल बनाउनका लागि दुई वटा प्लाण्ट तुरुन्त राख्ने योजना समेत नगरपालिकाले बनाएको छ । “तत्कालका लागि कम्तिमा १० कट्ठा जमिन लिएर दुई वटा बायोग्यास प्लाण्ट र जैविक मल उत्पादन गर्ने योजना बनाएका छौं”, पोखरेलको भनाइ छ, “जग्गाको टुंगो लागेपछि यसै वर्ष योजना सुरु हुन्छ ।”
सेप्टिक ट्यांकको दिसालाई ट्यांकरहरुले जंगल क्षेत्रमा जथाभावी फाल्ने गरेकोमा सो कार्यलाई समेत नगरपालिकाले रोक लगाएको छ । “अहिले ट्यांकरहरुले दिसाजन्य लेदोलाई आफ्नै जग्गामा गहिरो खाडल खनी व्यवस्थापन गर्ने गरेका छन्”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र कार्कीले बताए ।
प्हिलो खुल्ला दिसामुक्त नगर
कनकाई नगरपालिका प्रजातन्त्र दिवसको अवसर पारेर यही फाल्गुण ७ गते खुल्ला दिसामुक्त घोषणा भएको छ । ९ हजार २ सय ७३ घरधुरी रहेको कनकाई नगरपालिकामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा बिराट सामुदायिक अध्ययन केन्द्रले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेको हो । खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्नुअघि नगरपालिकामा ७ हजार ७ सय ७७ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा बाँकी १ हजार ४ सय ९६ घरधुरीमा शौचालय निर्माण गरिएको थियो ।
कनकाई नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुने झापाको पहिलो नगरपालिका हो । ८ नगरपालिका र ७ गाउँपालिका रहेको झापामा अहिलेसम्म २ गाउँपालिकामात्र खुल्ला दिसामुक्त घोषणा भएका छन् ।

खुल्ला दिसामुक्त कार्यान्वयनमा कडाइ
खुल्ला दिसामुक्त घोषणा भएका स्थानहरुमा समेत खुल्लामा दिसा देखिने र नयाँ निर्माण गर्ने घर टहराहरुमा चर्पी नबनाउने कार्यलाई निरुत्साहित गर्नका लागि प्रत्येक टोल विकास संस्थाले निगरानी समितिको समेत कार्य गर्नेगरी योजना बनाइएको छ । “प्रत्येक टोलमा एकै किसिमका घर, एकै किसिमको रंग र एकै किसिमका विरुवा रोप्ने योजना छ”, नगर प्रमुख पोखरेलले भने, “खुल्लामा दिसा गरेको भेटिएमा सम्बन्धित टोलले नै कारवाही गर्न समेत सक्छन् ।”
कार्यविधिको दफाप ४८ मा नियमलाई पटक पटक उल्लंघन गर्ने व्यक्ति, संस्था, निकाय वा फर्मलाई कालो सूचीमा राख्नेसम्मको व्यवस्था गरिएको छ भने खुल्ला ठाउँमा दिसा गर्नेलाई पहिलो पटक पाँच सय रुपैयाँ र पटकेको हकमा १ हजार रुपैयाँ जरिवाना गर्न सक्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्