Logo

अस्तव्यस्त बन्दै बिर्तामोड



झापा, १५ फागुन । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका अस्तव्यस्त बन्दै गएको छ ।
बसाइँ सराइको दर उच्च रहेको बिर्तामोडमा विकास निर्माणका काम अलपत्र भएकाले अस्तव्यस्त बनेको हो । यहाँको सडकलाई फराकिलो बनाउन केही समयअघि नगरपालिका र सडक डिभिजन कार्यालयले बिर्तामोड–भद्रपुर सडकखण्डका भौतिक संरचना हटाएका थिए । त्यस्तै पूर्व–पश्चिम राजमार्गको अतिक्रमित संरचना हटाउनाका साथै सडक किनारका रुख ढालेपछि अहिले बिर्तामोडलाई धुलोले छोपेको छ ।
सवारी साधनको चाप बढेसँगै त्यसलाई व्यवस्थापन गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत अन्धुवा खोलाको दायाँ–बायाँ पक्की पुल निर्माण शुरु गरिए पनि ठेकेदारले बीचैमा काम छाड्दा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै आएका जनप्रतिनिधिले विकास निर्माणलाई प्राथमिकता दिने आश देखाएपनि अहिलो सबै काम अलपत्र हुँदा जनता निराश बन्दै गएका छन् । उनीहरुले जनप्रतिनिधिले विकासको कामलाई अगाडि नबढाउँदा बिर्तामोडमा धुलोजन्य रोगको जोखिम बढेको, दुर्घटनाको जोखिम उच्च भएको तथा वर्षायाममा बिर्तामोड डुब्ने सम्भावना प्रबल रहेको भन्दै यसको जिम्मेवारी जनप्रतिनिधिले लिनुपर्नेमा जोड दिएका छन् ।
बिर्तामोड नगरपालिका–१का ईश्वर खनालले धुलोका कारण आँखाका बिरामी बढ्दै गएको गुनासो गर्दै हावा चल्ने समय भएकाले पैदलयात्रीलाई समेत धुलोका कारण हिँडडुल गर्न समस्या भएको बताए । सडक विस्तार हुने भयो भनेर उत्साहित स्थानीय बासिन्दाले अहिले जनप्रतिनिधिप्रति आक्रोशत व्यक्त गर्न थालेका छन् ।
सडकको भूभाग ८२ फिट ‘क्लियर’ गर्ने भन्दै नगरपालिकाले खाली गरेको फुटपाथमा पुनः व्यवसाय सञ्चालन हुन थालेपछि पैदलयात्रीलाई समस्या भएको स्थानीय राजकुमार राईले बताए । उनले भने, “सडकका किनारमा व्यापारी, सडकमा सवारीको जाम, पैदलयात्रीले कहाँबाट हिँड्नु ?”


यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले पुल निर्माणको जिम्मा लिएको ठेकेदारले ढाँटेको आरोप लगाए । उनले भने, “पुल निर्माणको जिम्मा लिएर बीचैमा काम छाड्दा दुर्घटनाको जोखिम बढेको छ ।”
यसैबीच बिर्तामोड–भद्रपुर सडकखण्ड ठेक्का लगाउने प्रक्रिया शुरु भएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । भौतिक संरचना नहटाएसम्म सडक ठेक्का नलिने भएपछि ठेक्का लाग्नुअघि नै संरचना हटाउनुपर्ने बाध्यताका कारण अहिले धुलो उडेको उनको भनाइ थियो । ठेक्का प्रक्रिया शुरु भएपछि बाटो विस्तारका साथै कालोपत्र गर्ने काम शुरु हुने भन्दै केही समय धैर्य गरिदिन उनले बिर्तामोडवासीलाई आग्रह गरे ।
वर्षायाम शुरु हुनुअगावै काम शुरुका लागि ठेक्का लगाउने उद्देश्यले काम भइरहेको छ नगर प्रमुख शिवाकोटीले भने । बिर्तामोडमा भएका भौतिक संरचना तथा निर्माणाधीन संरचनाको अनुगमन गर्ने भन्दै अन्धुवा खोलामा निर्माण शुरु गरिएको पुलको काम तत्काल थाल्न ठेकेदारलाई निर्देशन दिएको उनले बताए ।
व्यापारिक दृष्टिकोणले अत्यन्त व्यस्त शहरका रुपमा रहेको बिर्तामोडमा सार्वजनिक शौचालयसमेत नहुँदा सर्वसाधारणलाई शौच गर्नसमेत समस्या पर्ने गरेको छ । नगरपालिकाले बिर्तामोड क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नेतर्फ ध्यान नदिएको आरोप स्थानीय वासीले लगाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले नगरपालिकालाई हस्तान्तरण गरेको घुम्ती शौचालयलाई व्यवस्थित गर्नेमा समेत नगरपालिकाले चासो नदिएको उनीहरूको भनाइ छ ।
तीन दिनभित्र अन्धुवा खोलामा निर्माण शुरु गरिएको पुलको काम थाल्ने बताएका ठेकेदारले पुनः मंगलबारसम्मको भाका अघि सारेका छन् ।
ठेकेदार गणेश भट्टराईले सोमबारभित्र दिल्लीबाट सामान लिएर काँकडभिट्टा आउने र मंगलबारबाट काम शुरु गर्ने बताए । पुल निर्माणको विषयमा गम्भीर नदेखिएका ठेकेदारले सडक किनारमा राखिएको माटोलगायतका संरचनाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्