Logo

व्यस्त बजार बिर्तामोडमा छैन सार्बजनिक शौचालय



रविन भट्टराई
बिर्तामोड, २६ फागुन । बिर्तामोडमा दैनिक हजारौ सवारी ओहोर दोहोर गर्छन् । मेची पहाडी जिल्लाका बजारहरुमा जाने सामान यहाँबाटनै जाने हुँदा किनमेल गर्न आउनेहरुको भिड जता ततै लाग्छ । भवन निर्माणका लागि कुनै स्थान खाली छैन । तर तीब्र सहरीकरण भएको झापाको व्यस्त बिर्तामोड नगरपालिकामा एउटा पनि सार्वजनिक शौचालन नहुँदा बजार किनमेल गर्न आउने र यात्रा गर्नेहरुले सास्ती भोग्नु परेको छ ।

यहाँ पुग्ने कसैलाई दिसापिसाब लागिहाले समस्या हुन्छ । दिसापिसाबले च्यापे सडकछेउ लाज नमानी जानुको विकल्प छैन । बिर्तामोड नगरपालिका हुनुपुर्व देखिनै शौचालय बनाउन धेरैपटक आवाज उठे पनि सम्बद्ध निकाय गम्भीर नभएको स्थानियको आरोप रहेको छ । “दिसापिसाब लागे पसलमा आएकाहरुले शौचालय सोध्छन्, घरकै देखाईदियो, यात्रु र अन्य किनमेलका लागि अधिका अधिकाँस त सडक छेउ जानुको बिकल्प छैन,” बिर्तामोडको सनिस्चरे रोडमा पसल गर्दै आएकि स्थानिय शान्तिकला श्रेष्ठले भनिन् ।

पसल सञ्चालकलाई पनि घर धनिले घरमानै भएको शौचालन जान कडाई गर्दा अधिकाँस पसलेले किनमेलका लागि आउनेलाई शैचालय नभएको बताउने गरेका छन् । बिर्तामोडसँगै नगरपालिका घोषित भएका कन्काई र अर्जुनधारा नगरपालिकामा भने व्यवस्थित शौचालय छन् तर बिर्तामोडमा एउटा पनि सार्वजनिक शौचालय छैन ।

“अर्जुनधारा नगरपालिकामा त दुई वटा छन् सार्वजनिक शौचालय छन्, स्थानीयलाई र किनमेल गर्न सो स्थानमा पुगेकालाई पनि सहज छ बिर्तामोडमा त बजार जानु पुर्वनै दिसापिसाव गरेर जानुपर्छ भन्न पनि लाजमर्दो छ,” बिर्तामोड महानन्द चोकका स्थानीय अनिस मियाँ भन्छन् ।

बिर्तामोड बजार जजिकै रहेको अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा एउट तत्कालीन गाविसले करिब १२ लाख खर्चेर शौचालय बनाएको थियो भने अर्को बसपार्क समितिले बसपार्कमा बनाएको हो । बिर्तामोडमा वर्षेनि ठुला ठुला व्यापारिक भवन बनिन्छन् तर सार्वजनिक शौचालय बन्दैन ।

भर्खरै बनेका नयाँ व्यापारिक भवनमध्ये केहीमा त शौचालय छन् । तर, पुराना कुनै पनि व्यापारिक भवनमा शौचालय नहुँदा उपभोक्ता तथा व्यापारीले त्यही भवनको छतलाई शौचालयका रुपमा प्रयोग गर्दै आएको पनि पाईएको छ । “किनमेलका लागि जाने पिसाव लागिहाले वरपर खोज्ने र नपाएपछि छतमानै गएर पिसाब फेर्ने गरेको पाईयो, धेरै ठुला मार्केटको छतको हालत यस्तै छ” बिर्तामोड चोकका व्यापारी तारा प्रसाई बताउँछन् ।

बिर्तामोडमा धनराज मिनी मार्केट, पोखरेल मार्केट, प्रसाई मार्केट, रत्न सुपर मार्केट आधादर्जन भन्दा बढि मार्केकमा शौचालयनै छैन । “एउटा मार्केटमा ५० भन्दा बढी सटरबाट मासिक लाखौँ रुपैयाँ भाडा असुल्ने मार्केट सञ्चालकले शौचालय भने बनाउन सकेनछन्, किनमेल आउन पनि यसकै कारण गाह्रो हुँदो रहेछ” बिर्तामोडमा किनमेलका लागि पाँचथर थर्पुबाट आएका कुमार लिम्बुले गुनासो गरे । दिसापिसावले सताईहाले अदुवा खोला र गल्लि तर्फ दौडनु पर्ने रहेछ लिम्बुले भने ।

सडक छेउका गल्लि र अदुवाखोलाको किनार दिसापिसावले भरिएको हुन्छ । केहि वर्ष अघि झापा उद्योग वाणिज्य संघ बिर्तामोडले आठ लाख रुपैयाँमा खरिद गरेको घुम्ती शौचालयको व्यवस्था गरे पनि घुम्ति शौचालय अदुवा खोला माथिको पुल छेउमा राखेको वर्षौ भयो तर राखेको स्थानबाट कहिँ घुमेको देखिदैन ।

बिर्तामोड नगरपालिकामा सार्वजनिक शौचालय नहुँदा स्थानीयले खेप्नुपरेको सास्तीलाई मध्यनजर गर्दै संघले केही शौचालय खरिद गरेको थियो । वाणिज्य संघ बिर्तामोडले बिभिन्न स्थानमा सार्दै सो शौचालय राख्ने बताए पनि अहिले सम्म सार्नमा न त वाणिज्य संघले चासो दिएको छ न त स्थानिय सरकारको रुपमा रहेको बिर्तामोड नगरपालीकालेनै । राखेको ठाउँबाट दिसापिसावको पाईप अदुवाखोलामा हालेपछि फल्ने पनि झण्झट नहुने हुँदा यहाँ राखेको हुन सक्ने स्थानिय बताउँछन् ।

अहिले सो शौचालयको पनि रेखदेख नहुँदा कमै मात्र प्रयोगमा आएको छ । “बिर्तामोडमा सार्वजनिक शौचालयको समस्या आजको मात्रै होइन्, यो समस्याको दीर्घकालीन समाधानका लागि प्रत्येक साना ठूला मार्केटमा व्यवस्थित ढङ्गले शौचालय बनाइनु पर्छ, घुम्ति शौचालय घुमाउनुपर्छ, मार्केटहरुमा शौचालय भए÷नभएको सम्बन्धित निकायबाट अनुगमन समेत हुनु पर्छ यसो गरे मात्र समस्याको समाधान हुन्छ,” बिर्तामोडका व्यवसायी मनोहर भट्टराई बताउँछन् ।

नगरपालिकाले बिर्तामोड क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नेतर्फ ध्यान नदिएको आरोप स्थानीय बासीले लगाएका छन् । यता बिर्तामोड नगरपालिकाका मेयर धुर्वकुमार सिवाकोटिले जग्गा अभावनै यसको मुख्य समस्या भएको बताए । उनले जग्गा पहिचान गर्ने काम भईरहेकाले पाउन साथ निर्माण गर्ने बताए ।

उता झापाका अन्य नगरपालिका भद्रपुर, दमक र मेचीनगरमा भने सार्वजनिक शौचालय छन् । तर व्यवस्थित नभएको स्थानियले गुनासो गरे । मेचीनगरको काँकडभिट्टा र धुलाबारीमा गरी तीन वटा सार्वजनिक शौचालय रहेका छन् । धुलाबारीमा लामो समयदेखि बन्द भएकोमा ’हाम्रो धुलाबारी राम्रो धुलाबारी’ नामको संस्थाले पहलमा पुनः सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्