Logo
  बैशाख ७, २०८१ शुक्रबार

भारत भ्रमणले सबै भ्रम टुटेका छन्ः प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणबाट फर्केपछि पनि उनको भ्रमणबारे विविध कोणबाट चर्चा९परिचर्चा भइरहेको छ। भारत भ्रमणबाट फर्केको भोलिपल्ट सोमबार ओलीले दिएको अन्तर्वार्ताः

भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ ?
मैले भारत भ्रमणमा जानुअघि संसद्लाई सम्बोधन गर्दै भनेको थिएँ, ‘हाम्रो वैदेशिक मामिला वा सम्बन्धको प्रस्थानबिन्दु मित्रता हुनेछ । हामी हाम्रो भौगोलिक अखण्डता, स्वाभिमानको सम्मान र पारस्परिक लाभका आधारमा छिमेकीहरुसँगको मित्रतालाई अघि बढाउन चाहन्छौ ।’ यो भ्रमणले दुई देशबीचका असमझदारीका पक्षलाई वा असमझदारी उत्पन्न गराउन खोज्नेहरुलाई जबाफ दिएको छ।

यो भ्रमण असमझदारीका सम्भावनाहरुलाई पनि समाप्त गर्नेगरी समझदारी विकास गर्न सफल भएको छ । पारस्परिक विश्वास वृद्धि गर्न सफल भएको छ । वामपन्थी नेतृत्वको सरकारका कारण लोकतन्त्र खतरामा छ भन्ने आरोप थियो । छिमेकीहरुको कार्ड खेल्न खोज्छ नेपालले भन्ने आरोप पनि थियो । हामीले जुन सन्तुलित सम्बन्ध र तटस्थताको नीति अपनाएका छौं, त्यो उपयुक्त छैन भन्ने खालको भ्रम पनि थियो । ती सबै भ्रम टुटेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र मैले संयुक्त प्रेस सम्मेलन गर्दा त्यो प्रस्ट भएको छ । हामीले त भनीआएकै थियौं मोदीजीबाट पनि जुन अभिव्यक्ति आएको छ । त्यसले नै देखाएको छ, अबको भारतीय बुझाइ, अबको नेपालसँगको भारतको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषय स्पष्ट भएको छ भन्ने ठान्दछु।

तपाईंले भन्ने गर्नुभएको एक्काइसौं शताब्दीको नेपाल—भारत सम्बन्धको आधार के हो ?
यस भ्रमणका क्रममा मैले एक्काइसौं शताब्दीमा हामी हाम्रा छिमेकीहरुसँग, भारतसँग र बाँकी दुनियाँसँग कसरी सम्बन्ध राख्न चाहन्छौं भन्ने प्रस्ट बताएँ । उहाँहरुले त्यसलाई नेतृत्व तहदेखि नै सकारकात्मक ढंगले ग्रहण गर्नुभयो, स्वागत गर्नुभयो । त्यसै कारण हाम्रो भ्रमण कुनै बनावटी र देखावटी कुराहरुमा हैन, यथार्थमा उपलब्धिपूर्ण ढंगले अगाडि बढ्यो भन्ने कुरा यहाँहरुले अनुभव गर्नुभयो भन्ने मलाई लागेको छ।

यसपटक नेपालको लोकतान्त्रिक प्रक्रिया जसरी अगाडि बढ्यो, प्रणाली जसरी सुदृढ भयो र जनताको अभिमत जसरी आयो म त्यसलाई बोकेर भारत भ्रमणमा निस्किएको थिएँ। त्यसलाई भारतले स्वागत गर्‍यो । भारतमा रहँदा हरेक अवसरमा मैले नेपाली जनताको अभिव्यक्ति र भावनाको प्रतिनिधित्व गरें । यसक्रममा केही नयाँ कुराहरु आएका छन् । काठमाडौं–रक्सौल रेल वेका कुरा आएको छ । नदीहरुबाट हामीले आवागमन र यातायातको प्रबन्ध सकेसम्म छिटै मिलाउने कुरा आएको छ।

त्यसमा तपाईंहरुले प्रत्यक्ष पनि मोदीजीको आफ्नै अभिव्यक्ति सुन्नु भएको छ । कृषिप्रधान हाम्रो देशमा ६६ प्रतिशत नेपाली कृषिमा आधारित छौं । तर कृषिको योगदान कम छ । कृषिलाई आधुनिकीकरण गर्ने सम्बन्धमा पनि महत्वपूर्ण छलफल, सहमति र समझदारी भएका छन् । तिनलाई व्यावहारिक रुपमा कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा कुरा अगाडि बढेका छन् । अब पुराना कतिपय कुराहरु जस्तै– सीमा सम्बन्धीविवाद अथवा डुबान समस्याका सम्बन्धमा हामीले गम्भीरताका साथ कुरा उठाएका छौं ।

डुबान समस्याको प्रसंग संयुक्त वक्तव्यमा पनि आएकै छ । सकेसम्म छिटो डुबान अन्त्य गर्ने गरी कसरी हामी समाधान गर्न सक्छौं भन्नेतिर । त्यसै गरेर टनकपुर पञ्चेश्वर परियोजनाका सम्बन्धमा, टनकपुरमा १.३ किलोमिटर बाटो नबनेको, काम नभएको जस्ता कुराहरुमा हामीले ध्यान आकर्षित गरेका छौं । र, उहाँहरुले छिटै काम अगाडि बढाउने भनेर म दिल्लीमा हुँदाहुँदै तलतिर निर्देशन जारी गरिसक्नुभएको छ।

कतिवटा कुरा देखाउनका लागि अथवा उठायौं भन्नका लागि हैन, हामी समस्याहरु समाधान गर्न चाहन्छौं । ती समस्या संवादका माध्यमबाट समाधान गर्न चाहन्छौं । संवाद विभिन्न पक्षमा हुन सक्छन् । एक ढंगले भन्दा सम्बन्धका विभिन्न पक्ष हुन्छन्, जहाँँ छलफल र निष्कर्ष आवश्यक छ । ती ठाउँहरुमा, ती सन्दर्भहरुमा हामीले कुरा गरेका छौं । सीमापार अपराध र मानव बेचबिखनलगायतका विषयमा पनि कुरा गरेका छौं ।

तपाईंको भारत भ्रमण सफल भयो भनेर सम्पूर्ण नेपालीलाई कसरी आश्वस्त पार्नुहुन्छ ?
म सबै नेपालीलाई आश्वस्त पार्न चाहन्छु । तमाम कुराहरु उठेका छन् । सकारात्मक थालनी भएको छ । जुन कुराहरु लिखत रुपमा आएका छ्न, त्यसलाई हामीले त्यसै गरी अगाडि बढाएका छौं । जुन कुरा लिखित रुपमा आउन बाँकी छ, त्यसलाई उछाल्ने हैन समाधान गर्नेतिर गम्भीर वार्तामा लागेका छौं।

अबको बाटो गम्भीर वार्तातिरको हुनुपर्छ । हामी सकारात्मक ढंगले अगाडि बढाउँछौं । बिगार्न हुँदैन अब सम्बन्धहरुलाई । त्यस कारण सकारात्मक ढंगले पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध अगाडि बढ्नुपर्छ र बढ्छ।,आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्