Logo
  बैशाख ७, २०८१ शुक्रबार

पहाड रित्तिंदै, तराई भरिंदै



झापा, बैशाख २७ । पाँच वर्ष अघि तेह्रथुम आठराईका बिरेन लिम्बुले झापाको अर्जुनधारा नगरपालीका ६ मा किनेको दश धुर जग्गा अहिले छुट्याउन सकेनन् । जग्गा किन्दा वरिपरि घर देखिदैन थियो ।

साथिभाईको लैहिलैमा लागेर ५ लाखमा दश धुर जग्गा किनेका लिम्बुलाई लगानी डुब्यो भन्ने लागेको थियो सो समयमा । जग्गा किनेर बैदेसिक रोजगारीका लागि कतार गएका लिम्बु फर्किएर आउँदा छक्क परे । आफ्नो घर वरिपरि ठुलठुला घर बनिसकेछन् । प्रतिधुर एक लाखमा जग्गा पाउन पनि अहिले मुस्किल परीसकेछ । उनको घर वरिपरी सबै पहाडबाट झरेर घर बनाएका स्थानिय छन् ।

पहाडमा पनि ताप्लेजुङ, पाँचथर र तेह्रथुमका सबैभन्दा बढि नागरिक र ईलाम, धनकुटाका केहिले घर बनाएर बसेका छन् । त्यसमा पनि बैदेशिक रोजगारीमा गएर आउने र घर बनाउनेको संख्या बढि रहेको अर्जुनधारा नगरपालीका ६ विहानी टोलका पुर्णकुमार थापा बताउँछन् । ‘बिदेशबाट पैसा कमाएर ल्याएपछि पारिवारिक सुख–सुविधा र बालबच्चाको पठनपाठनका लागि पहाडबाट धेरै झरेका छन्, दुई वर्षको अबधिमा विहानी टोलमा मात्रै २५ वटा भन्दा बढि घर बने ।’ थापाले भने ।

पहाडमा जग्गा किनबेच कम हुँदा बैदेशिक रोजगारीबाट कमाएको पैसाले जग्गा किन्नेको संख्या यो क्षेत्रमा बढि छ । ‘पहिले पहाडमा अलैंचीको भाउ उच्च थियो, यस्तै रहला भनेर कसैले त्यताको जग्गा पनि बेचेनन्, ताप्लेजुङबाट झापा बसाई सरेका नेत्र भट्टराईले भने – अहिले अलैंचीको भाउ घटेपछि विदेशमा कमाएको पैसाले यता जग्गा किन्नु प¥यो ।’

यो क्षेत्रबाट बिर्तामोड बजार र अर्जनधारा बजार समेत नजिकै पर्ने भएकाले बिर्तामोड आसपासका क्षेत्रमा पनि बस्ति बाक्लिन थालेको वडा महिला सदस्य लक्ष्मी महताराको भनाई छ । ‘बजारमा व्यवसाय गर्ने र कार्यालय जाने कर्मचारी यो क्षेत्रमा बढि छन्, दुई वर्षको अबधिमा पहाडबाट तराई झर्नेको संख्या ह्वातै बढेको छ ।’ उनले भनिन् ।

अहिले झापाको बिर्तामोड सहित, अर्जुनधारा, कनकाई, भद्रपुर, चद्रगडी, दमक, झिझिले क्षेत्र पहाडबाट बसाई सरेर आउनेको रोजाईको स्थान बन्न थालेको छ । वृद्ध बाबु–आमाले बसाइँ सर्न आनाकानी गरेपछि गाउँको घरजग्गा अलपत्र छाडेर तराई झर्ने पनि धेरै छन् । ‘पुर्खाले जोडेको जमिन बेच्न हुँदैन भनेर नबेचि झापा झरीयो, पहाडमा सबै पाखेरेखो बाँकिनै छ ।’ ताप्लेजुङ थेचम्बुबाट बिर्तामोड बसाई सरेका भिम खरेलले भने ।

‘पहिले युवा विदेसिएपछि गाउँ रित्तिन्छन्, त्यसपछि बसाई सरेपछि त पहाडका गाउँनै उजाड लाग्दा भएका छन् । यहाँ घर बनाएर तरकारी रोप्ने ठाउँ समेत किन्न पाईदैन,’ पाँचथर रानिराटबाट बिर्तामोड बसाई आएका हिरीसंखर भण्डारीले भने । उनका अनुसार पहाडका गाउँमा त अब मर्दापर्दा काम गर्ने मान्छे समेत पाइन छाड्यो भन्दै गाउँ छाड्ने झनै बढेका छन् ।

‘पहाडमा रोजगारी पनि छैन, न त पहिले जति खेती नै हुन्छ, लाउन त परै जाओस् खान पनि धौ धौ प¥यो,’ पाँचथर जिल्लाको नाङ्गी गाविसबाट बिर्तामोड बसाइ आएका रबिलाल बराल विकले भने, ’यस्तै समस्याहरूका कारण पहाडबाट उठिबास भएर यतातिर आयौं ।’ पहाडमा भएजतिको जमिनले खान लाउन सधै समस्या हुने गरेको र अर्काको खेत जोतेर पनि जीविकोपार्जन गर्न समस्या भइरहेकाले उताबाट यता आएको उनको भनाइ छ ।

समय अनुकुल अवसरको खोजी र सुविधा उपभोग गर्न झापाको बिर्तामोडमा बसाई सरिआउनेको संख्या बढेको बिर्तामोड नगरपालिकाका मेयर धुर्ब सिवाकोटी बताउँछन् । ‘हामि सँगै वर्षै पिछेको तथ्याङ्क त छैन, यो वर्ष देखि तथ्याङ्क पनि राख्छौ, तर यसो हेर्दा बसाई आउनेको संख्या त वर्षेनी दोब्बरले बढेको छ ।’ मेयर सिवाकोटीले भने ।

यहाँका स्थायी बासिन्दासँग घरजग्गा किन्ने र नयाँ घर निर्माण गर्ने क्रम पनि तीव्र रहेको बिर्तामोड नगरपालिकाले जनाएको छ । एक वर्ष अघि सम्म ८० हजार जनसंख्या रहेको बिर्तामोडमा अहिले १ लाख १० हजार हाराहारीमा पुगेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत मेघराज बास्तोलाले बताए ।

बिर्तामोड क्षेत्रमानै हरेक वर्ष दुई सय नयाँ घर निर्माण हुने गरेको नगरपालीकोको तथ्याङ्कमा उल्लोख गरीएको छ । यो स्थानबाट बाहिर बसाई सरी जानेको संख्या भने अत्यन्तै न्यून रहेको प्रमुख प्रसासकिय अधिकृत बास्तोलाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्