Logo

ऐन अनुसार पारिश्रमिक दिन उद्योगी सहमतः चिया बगानको हड्ताल टुंगियो



झापा, ३० वैशाख । नेपाल चिया उत्पादक संघ र चिया मजदुर संघ संगठन बीच आज तीन बुँदे सहमति भएको छ । चिया मजदुरले श्रम ऐनले तोकेको ज्यालाको माग गर्दै ४४ दिनदेखि गरेको चिया बगान हड्ताल अन्त्य भएको छ ।

नेपाल चिया उत्पादक संघले श्रम ऐनमा निर्धारित पारिश्रमिक उपलब्ध गराउन सहमत भए पछि संघ र मजदुर बीच सहमति भएको हो । सरकारले श्रम ऐन अनुसार राजपत्रमा सूचना प्रकाशन गरी २०७५ साल साउन १ गतेबाट चिया क्षेत्रका श्रमिकको पारिश्रमिक वृद्धि गरेको थियो । तर, चिया उद्योगीले सरकारले निर्धारण गरेको परिश्रमिक उपलब्ध नगराए पछि श्रमिक आन्दोलित भएका हुन् ।

सहमति अनुसार श्रमिकले वृद्धि भएको २ सय ३१ रुपैयाँ दैनिक ज्याला र १ सय ५४ रुपैयाँ महंगी भक्ता पाउने भएका छन् । यसैगरी श्रम ऐन र नियमावली कार्यान्वयन गर्न दुबै पक्ष सहमत भएका छन् ।

श्रमिकको आन्दोलनका कारण चैत १७ गतेबाट बन्द भएका कारखाना र बगान वैशाख ३१ गतेदेखि संचालन गर्ने सहमति भएको छ । गिरी बन्धु टि स्टेटको कार्यालयमा हिजोदेखि भएको वार्ता आज तीन बुँदे सहमतिमा टुंगिएको हो ।

सहमतिमा चिया उत्पादक संघका तर्फबाट महासचिव शिवकुमार गुप्ता, सदस्य हरि गिरी, कुमार गिरी र सल्लाहकार छत्रबहादुर गिरी र चण्डि पराजुलीले हस्ताक्षर गरेका छन् ।

यसैगरी चिया मजदुर युनियनका तर्फबाट नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामांग, अखिल नेपाल चिया मजदुर संघकी कोषाध्यक्ष सिता सापकोटा, नेपाल कृषि तथा बगान श्रमिक संघका अध्यक्ष सहिकुमार राई, मजदुर नेता भुपाल सापकोटा, शन्तकुमार राई र यज्ञप्रताप अधिकारीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्