Logo
  चैत्र १५, २०८० बिहीबार

डाक्टर केसीको अनसन आन्दोलन कि हठ ?



डाक्टर गोविन्द केसी नेपालको स्वस्थ्य क्षेत्रको सुधारका लागि संघर्ष गर्ने नायक जस्तै बनेका छन् । केसीभन्दा अघि स्वास्थ्य क्षेत्रको सुधारका लागि कसैले पनि यति धेरै दवाव र आवाज उठाएका थिएनन् । डा. केसीको अनसनले प्रदर्शन हुँदै आन्दोलनकै रुप लिएको छ । डा. केसीले चलाएको अभियानले सरकारलाई बलियो दवाव दिएको छ । सरकार चिकित्सा क्षेत्रका संघ–संस्थासँग होइन, डा. केसीसँग त्रसित छ । तर पनि स्वास्थ्य सुधारमा परिवर्तन हुन सकेको छैन ।
डा. केसीको अनसन र आन्दोलनप्रति कमैमात्रले सार्वजनिक विमति राख्ने गरेका छन् । बोल्न चाहेर पनि मौन छन् । डा. केसीको आन्दोलनको रुप, रंग, तौरतरिका, उद्देश्य सर्वसाधारणका लागि खासै सरोकारको विषय बनेको छैन । तर, उनी जनताका लागि भनेर १५ औं पटक अनसनरत छन् । १४ औं पटकसम्म सम्झौताबाट टुङ्गिएको अनसनले खासै उपलब्धि नभए पनि अनसन बस्न छाडेका छैनन् ।
डा. केसीको अनशन र सम्झौताले ल्याएको सुधार भनेको चिकित्सासम्बन्धी अध्यादेश जारी हुनु हो । चिकित्सा शिक्षा आयोग गठन, एक सय ५० विद्यार्थी भर्ना लिन पाउने मेडिकल कलेजलाई एक सय मात्र लिन पाउने गरी सीमित गरिनु, चिकित्सा शिक्षाको शुल्क निर्धारण, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम अघि बढेको अवस्था नै मुख्य उपलव्धि हुन् । पाँच वर्षदेखि केसीले गरेको अनशन र आन्दोलनको सुधार यति नै हो । तर, पछिल्ला दिनमा डा. केसीले जुन ढंगले अनसन र आन्दोलन गर्दैछन्, त्यसले सुधार होइन, चिकित्सा क्षेत्रमा अराजकता निम्त्याउने सम्भावना बढेको छ ।
डा. केसीको अनसन, उनका समर्थकले गर्ने प्रदर्शन, तिनको माग र उद्देश्यका बारेमा अब नागरिक समाज, चिकित्सा क्षेत्र, सरकार, राजनीतिक दल, मिडियाले समीक्षा गर्नै पर्दछ । केसीको अनसन माग हो कि हठ ? उनले उठाएका मुद्दा जायज छन् कि छैनन् ? छन् भने कुन–कुन मुद्दा जायज हुन् ? अन्यथा एकजना व्यक्तिको जिद्दी र हठमा स्वास्थ्य क्षेत्रलाई बन्धक बनाउनु हुँदैन ।
चिकित्सा क्षेत्रबाट आलोचना
स्वास्थ्य क्षेत्रका विज्ञ नै डा. केसीको मागप्रति सहमत हुन सकेका छैनन् । धेरै चिकित्सक मौन छन् । ख्यातिप्राप्त चिकित्सकबाटै उनको आलोचना हुन सुरु भएको छ ।
डाक्टर सुन्दरमणि दीक्षित नेपालको चिकित्सा क्षेत्रमा ख्यातिप्राप्त नाम हो । दीक्षित स्वास्थ्य क्षेत्रमा मात्र होइन, नेपालको राजनीतिक परिवर्तनका एक वाहक पनि हुन् । दीक्षित बीर अस्पतालको जागिर छाडेर २०४६ सालको जनआन्दोलन होमिएका थिए । नागरिक समाजका अगुवा रहेका दीक्षितले डाक्टर गोविन्द केसीको भूमिकाप्रति गम्भीर असहमति सार्वजनिक रुपमै लगाएका छन् । डा. दीक्षित भन्छन् ः

म पनि एक चिकित्सक हुँ । मेरो पेशाप्रति म जिम्मेवार हुनुपर्छ । विरामीको सेवा गर्ने मेरो दायित्व हो । त्यसैगरी डा. गोबिन्द पनि चिकित्सक हुन् र उनको पनि विरामीप्रति उत्तरदायित्व छ । सरकारी तलब खाएपछि उनको दायित्व पढाउने, अप्रेशन गर्ने, संस्थाको ईज्जत माथि उठाउने, नयाँ नयाँ अनुसन्धान गरेर विद्यार्थीलाई अब्बल बनाउने उनको दायित्व हो । तर, उनी विगत ५ वर्षदेखि के गर्दैछन् त भन्दा आन्दोलन गर्ने, अनसन बस्ने र विद्यार्थीहरुलाई पनि आन्दोलन गर्न सिकाउने काम गरिरहेका छन् । सरकारी तलब खाएर अहिले सम्म उनले कति रिसर्च गरे ?, कति विरामीको अप्रेशन गरे ? विद्यार्थीलाई राम्रो डाक्टर बनाउने कि मण्डलामा गएर आन्दोलन गर्न सिकाउने ?
दीक्षितले सार्वजनिक कार्यक्रममा डाक्टर केसीप्रति यस्तो गम्भीर आरोप र प्रश्न तेस्र्याएका छन् । राजनीतिक वृत्तबाट डा. केसीमाथि यस्तोे आरोप लगाइएको भए राजनीतिक पार्टी र नेतृत्वको ठूलो आलोचना हुन्थ्यो, सामाजिक सञ्जालमा सरकारका विरुद्ध खेदो खनिन्थ्यो । तर, दीक्षित नेपालमा उचाई प्राप्त गरेका चिकित्सक मात्र होइनन्, परिवर्तनको पक्षमा बलियोसँग उभिएका व्यक्ति पनि हुन् । राजनीति र परिवर्तनप्रति गहिरो चेत भएका व्यक्ति हुन् । चिकित्सा क्षेत्रका व्यक्ति दीक्षितले लगाएको आरोप र प्रश्नको जवाफ डा. केसीले दिन्छन् कि दिंदैनन् ?
डा. भगवान कोइराला नेपालको स्वास्थ्य क्षेत्रको सुधारमा केही योगदान दिन सक्ने क्षमता भएका व्यक्ति हुन् । शहीद गंगलाला राष्ट्रिय हृदय रोग केन्द्रको सफलतामा डा. कोइरालाको मुख्य भूमिका छ । गंगालालको सफलताका लागि उनले नाराजुलुस लगाएनन् । न त अनसन नै बसे । उनले सुधार गर्न चाहेको कुरामा सरकारले राम्रै सहयोग ग¥यो ।
सरकारले डा. कोइरालाको क्षमताको प्रयोग गर्ने उद्देश्यले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकमा नियुक्त ग¥यो । तर नियुक्ति पाएको १ सय ८ दिनमै उनलाई राजीनामा दिन बाध्य पारियो । आफूलाई हटाइएकोमा डा. कोइरालाले हड्ताल गर्ने, काम छाडेर जुलुस निकाल्ने, आकस्मिक कक्षसमेत बन्द गर्ने कार्य गरेनन् । डा. कोइरालाले अस्पतालमा हड्ताल गर्ने कार्यको सार्वजनिक रुपमै आलोचना गर्ने गरेका छन् । अन्य थुप्रै ख्यातिप्राप्त डाक्टरहरुले केसीको माग र हठप्रति सार्वजनिक रुपमै असहमति राख्दै आएका छन् ।
डा. केसीको अनसन त्याग कि हठ ?
डा. केसीले सुरुसुरुमा अनसन बस्दा धेरैले भारतका महात्मा गान्धीसँग तुलना गरे । केसीको आन्दोलनलाई आमनागरिकदेखि मिडियासम्मले बलियो साथ दिए । केसीले १५ औं पटकसम्मको अनसन र आन्दोलन उपलब्धिविहीन भएको भने होइन । तर, त्यसले ठूलो उपलब्धि भने ल्याउन सकेन ।
डा. केसीलाई नागरिक र मिडियाबाट जुन सहयोग भयो । त्यसले उनलाई कताकता जिद्दी हुन प्रेरित गरे जस्तो देखिन्छ । आजका दिनसम्म आइपुग्दा डा. केसी सरकार, कानुन, अदालत, विधिविधानभन्दा आफूलाई माथि ठान्न थालेका छन् । सरकार र सत्ताको निर्देशन त उनले मान्नै पर्दैन । बरु उनको निर्देशन र आदेश सरकार र सत्ताले मान्नु पर्ने बालहठ डा. केसीको छ ।
केसी स्वास्थ्य क्षेत्र सुधारकै लागि लागे पनि (भलै केसीको मुद्दामा सबै सहमत छैनन्) उनका समर्थक सबै त्यही उद्देश्यले सडकमा आएका हुन् भनेर पत्याउन सकिन्न । डा. केसीले अनसन बसेर जीवन त्याग (आत्महत्या) गर्ने धम्की दिएका छन् । चिकित्सा पेसा अपनाएका व्यक्तिले यस्तो धम्की दिनु सोभनीय हुँदैन ।
डाक्टर जस्तो पेशामा समर्पित व्यक्तिले जीवन त्याग गर्ने हिंसात्मक बाटो लिनु कुनै अर्थमा उचित हुँदैन । गान्धीवादी आन्दोलन गर्नेले हिंसात्मक बाटोलाई प्रोत्साहित गर्नु हुँदैन । उनले शान्तिपूर्ण आन्दोलन गर्ने हो भने भोकै नबसीपनि आन्दोलन गरे हुन्छ । भोकै जीवन त्याग गर्नु हिंसा नै हो । १४ औं पटकसम्म नसुनेको सरकार र सत्ताले अब १५ औं पटकमा सुन्ने कुनै छाँट छैन । यसर्थ डा. केसी र उनका सहयोगीले आन्दोलनको स्वरुप बदल्नु सान्दर्भिक हुन्छ ।
जनमतको अपमान
डा. केसी र उनका समर्थकले गर्ने आन्दोलनले जनमतको सम्मान गर्न सकेको छैन । जीवन त्याग गर्ने धम्की दिएर नेपाली मानसिकतालाई ब्ल्याकमेलिङ् गरेर सरकारमाथि दवाव सिर्जना गर्ने कार्य जनमतको अपमान पनि हो । अहिले देशमा दुईतिहाई बहुमतको सरकार छ । तर, डा. केसीको अनसनले अवरोध र दवाव सिर्जना गरेको छ । सधैं आलोचनाको शिकार बन्ने नेताको भन्दा डाक्टर केसीको मुद्दा र अनसन ठीक हो भन्ने भ्रम छ । यस्तो भ्रमले सरकारको शिक्षा र स्वास्थ्य नीति कार्यान्वयनमा अवरोध सिर्जना गरेको छ ।
निर्वाचनको समयमा एमाले–माओवादीले घोषणा गरेको शिक्षा र स्वास्थ्य नीति लागु गर्न अवरोध गर्नु जनमतको अपमान हो ।
यतिबेला एनजीओ÷आईएनजीओकर्मीहरु सरकारका विरुद्ध डा. केसीलाई उछालिरहेका छन् । द्वन्द्वको खेतीमा आफ्नो फाइदा देख्ने एनजीओ÷आईएनजीओहरु सरकारविरुद्ध सक्रिय छन् । उनीहरु डा. केसीलाई सरकारविरुद्ध हतियारका रुपमा प्रयोग गरिरहेका छन् । यसतर्फ डा. केसी स्वयम् सचेत भएनन् भने उनले उठाएका जायज मुद्दा पनि ओझेलमा पर्नेछन् ।
प्रधानमन्त्रीको बोली
प्रधानमन्त्री केपी ओली आफ्ना विरोधीप्रति कडा आलोचना गर्न माहिर छन् । कांग्रेसलाई कटाक्ष गर्न प्रधामन्त्रीको हैसियत पनि विर्सन्छन् । तर, डा. गोविन्द केसीको आलोचना गर्न डराएका छन् । सत्ता र शक्तिको सधैं आलोचक भएर जनताको नजरमा महान् त्यागी र समर्पित हुने डा. केसीको फर्मुला नै गलत छ । आन्दोलन गर्ने अन्तिममा बिनाउपलब्धि सम्झौता गर्ने, फेरि आन्दोलन गर्ने फेरि सम्झौता गर्ने, डा. केसीको यो फर्मुला नै गलत छ ।
यस्तो गलत फर्मुलाले स्वास्थ्य क्षेत्रमा सुधार आउँदैन । गलत एजेण्डा बोकेर हिंड्ने केसीप्रति सरकारले प्रस्ट धारणा खाख्नु पर्दछ । सरकारमा बस्नेहरु केसीले मन्त्री पदै खाइदेलान् कि भन्ने भयबाट ग्रसित छन् । केसीको भयले सरकारका मन्त्रीदेखि सत्ताधारी राजनीतिक दलका नेताको सातो उडेको छ । आफ्नो राजनीति सकिने हो कि भन्ने भयले धेरै नेताहरु केसीको विपक्षमा बोल्दैनन् । केसीको अनसन र आन्दोलन सामसुम पर्न पाए हुन्थ्यो भन्ने सरकारका मन्त्रीको सोच छ । केसीसँग एक प्रकारले सरकार पराजीत मानसिकतामा छ । मन्त्रीहरु केसी भयमा छन् । यस्तो मनोग्रन्थी भएपछि प्रधानमन्त्रीका खुट्टा केहि कामेका छन् । संसदमा नेकपाका नेता एवम् सांसद योगेश भट्टराईले केसीका मागका सम्बन्धमा शक्तिसाली संसदीय समिति निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।
यदि सरकार, सत्ता, सत्ताधारी दलले डा. केसीका कुन–कुन माग पूरा गर्न सकिने, कुन माग पूरा हुनै नसक्ने हो आमनागरिकमाझ सार्वजनिक गर्नु पर्दछ । त्यसमा सहमत हुने–नहुने केसी र उनका समर्थकको कुरा हो । असहमत पक्षले गर्ने शान्तिपूर्ण विरोध र प्रदर्शनलाई स्वाभाविक रुपमा लिन सक्नु पर्दछ । तर, असहमतिका नाममा राज्यको कानुन उल्लङ्घन गरे कारवाही गर्ने तत्परता देखाउनु पर्दछ । डा. दीक्षितले डा. केसीको विषयमा खुल्ला चुनौति दिन सक्ने तर यत्रो जनमत भएको सरकार ठोस निर्णय गर्ने नसक्ने ? सरकार अनिर्णयको बन्दी भएर लुरे हुनु पनि जनमतको अपमान हो ।
डा. केसी र कांग्रेस कनेक्शन
डा. गोविन्द केसी विद्यार्थी कालमा नेविसंघको केन्द्रीय सदस्य भएको विषयकै आधारमा उनी कांग्रेस हुन् भन्ने निश्कर्ष सान्दर्भिक हुँदैन । एउटा कालखण्डमा भएका उसका क्रियाकलापलाई कांग्रेस वा कुनै दलसँग जोड्नु उचित हुँदैन । प्रधानमन्त्री ओलीले डा. केसीलाई कांग्रेसबाट परिचालित भन्नुमा खासै दम छैन । सुशील कोइराला, देउवा प्रधामन्त्री हुँदा पनि उनी अनसनमै थिए । सबै प्रधानमन्त्री कार्यकालका उनी अनसनकारी हुन् । कांग्रेस सरकारमा हुँदा पनि कांग्रेसका युवा नेता गगन थापाले डा. केसीका मागको समर्थनमा बोलेका थिए । भलै थापा स्वास्थ्य मन्त्री हुँदा डा. केसीका माग पूरा भएनन् । सरकारमा हुँदा थापाले बोली फेरे, डा. केसीका माग पूरा गरेनन् ।
यतिबेला डा. केसी कर्णालीको जुम्लामा अनसनरत छन् । राजधानीमा मसला नपाएर प्रतिपक्ष कांग्रेस छटपटाएको अवस्थामा केसीको समर्थनमा कुनै कुरा बोल्नु अन्यथा हुँदैन । यो प्रतिपक्षको धर्म हो । प्रधानमन्त्रीले यसैलाई डा. केसी कांग्रेस हुन् भन्नु विषयान्तर गर्ने प्रयास मात्र हो । यस्तो आरोप लगाउनुभन्दा प्रधानमन्त्रीले डा. केसीले राखेका पूरा गर्न सकिने भए पूरा गर्ने र गर्न नसकिने माग पूरा गर्न सकिंदैन भन्न सक्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्