Logo

डा. केसीको अनसन कांग्रेसका लागि संजिवनी बूटी



निर्वाचनपछि नेपाली कांग्रेस मर्छित जस्तै बनेको थियो । दुई ठुला कम्युनिष्ट पार्टीको गठबन्धनबाट खुम्चिएको कांग्रेस पाँच वर्ष सत्ता बाहिर बस्नु पर्ने कुराले बढी चिन्तत भएको हो । निर्वाचनको कमजोर प्रचार र पार्टीमा भएको गुटवन्दी थलिएको कांग्रेसले निर्वाचनमा पहिलो नभएपनि दोस्रो शक्ति हुने अपेक्षा गरेको थियो । दोस्रो नै हुँदापनि सत्ता घुमिफिरी आफ्नो हातमा आउने अपेक्षा थियो । तर, बाम गठबन्धनले प्रस्ट बहुमत ल्याएपछि कांग्रेस आत्तिएको हो । बाम परिणामले कार्यकर्ता निरासा मात्र थिएनन्, पार्टी नेता कार्यकर्ताको नूर गिरेको थियो ।
निर्वाचनपछि निरास भएको कांग्रेसले पार्टी पराजयको कारण खोज्ने नाममा थप गुटबन्दीमा फस्यो । पार्टी सभापति शेरबहादुर देउवा पक्षले बाम एकताका कारण पार्टी पराजय भएको निस्कर्ष निकाल्यो भने रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले पार्टी भित्रको आन्तरिक गुटका कारण पराजय भोगेको निस्कर्ष निकाल्यो । पौडेल र सिटौला देउवालाई ठेगान लगाउन मोर्चाबन्दीमा उत्रिए ।
पौडेल र सिटौला पक्षका केहि नेताले देउवाले विश्राम लिनु पर्ने निस्कर्ष निकाले । तर, देउवा भने कुनै कुरामा पछि हटेनन् । कांग्रेस जिल्ला सभापतिहरुको चितवन भेलाले पनि पराजयका ठोस कारण पहिल्याउँदै कांग्रेसका भावी रणनीति तय गर्न असफल भयो ।
संघ र प्रदेसको निर्वाचनपछि कांग्रेस आफै भित्रको गुटबन्दीले समाप्त हुने धेरैको निस्कर्ष निकालेका थिए । यस अघिका अल्पमतका कम्यसनिष्ट सरकारले ल्याउने बजेट, नीति कार्यक्रम कांग्रेसका लागि सँधै ठाउको दुखाईको विषय हुन्थ्यो । बजेट मार्फत लोकप्रिय कार्यक्रम ल्याउने र जनमत आफ्नो पक्षमा पार्ने भयले कांग्रेस सँधै त्रसित हुन्थ्यो । कांग्रेस र कम्युनिष्टले ल्याउने बजेटमा केहि भिन्नता पाइन्यो ।
निर्वाचन अघि बाम गठबन्धनका तर्फबाट केपी शर्मा ओली प्रधानमन्त्री हुने पूर्व घोषित जस्तै थियो । ओलीको अघिल्लो कार्यकालमा सरकारको भूमिकाबाट मतदाता प्रभावित थिए । उनले भारतले लगाएको नाकाबन्दीको जुन ढंगले सामना गरे देशका अन्य समस्यामा पनि त्यसरी नै सामना गर्न सक्छन् भन्ने थियो मतदातालाई । तर, भइदियो उल्टो ।
निराशाजनक बजेट
ओलीले विज्ञका रुपमा अर्थमन्त्री बनाएका डा. युवराज खतिवडाको बजेटबाट नेपाली जनता मात्र होइन, सरकार र पार्टी नेता कार्यकर्तासमेत निराश भए । कांग्रेसले अनुमान गरे भन्दा भिन्न लोकप्रिय बजेट आएन । देउवा सरकारले चुनावपछि घोषणा गरेका लोकप्रिय कार्यक्रम ओली सरकारले कटौती गर्दापनि नागरिकले खासै प्रतिक्रिया व्यक्त गरेनन् । कांग्रेसले यसलाई राजनीतिक मुद्दा बनाउन खोज्यो तर पार लागेन । नागरिकले यसमा ध्यान नै दिएनन् ।
सरकारको कच्चा निर्णय
सरकारले प्रतिबन्ध लगाउनु पर्ने कुनै अवस्थै नभई माइती घर मण्डलामा प्रदर्शनमा रोक लगायो । यसमा नागरिक तहबाट बिरोध भयो । त्यसैलाई समाएर साझा पार्टी, नयाँ शक्ति जस्ता साना पार्टीको बिरोधले नागरिकको ध्यान तान्यो । तर, कांग्रेसको बिरोधले खासै अर्थ राखेन ।
सरकारले गएको भदौ १४ गते पछि देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने भनेर गरेको निर्णयमा भने कांग्रेसले होइन सर्वोच्च अदालतले नै धमाधम रोक लगायो । यसले सरकारलाई अर्को झट्का दियो । सरकारले पहिला नियुक्ति बदर गर्ने निर्णय गर्ने र त्यसपछि को को छन् भनेर लगत संकलन गर्ने कार्य गर्यो । राजनीतिक प्रकृतिका नियुक्तिको सूची तयार गरेर निर्णय बदर गरेको थियो भने सरकारका निर्णय भटाभट बदर हुने थिएन ।
अधिनायकवादको असफल नारा
नेपाली कांग्रेसले बाम गठबन्धनले निर्वाचनमा जिते अधिनायकवाद आउने पुरानो नारा अघि सार्यो । तर, मतदाताले कांग्रेसको त्यो वासी नारा पत्याएनन् । निर्वाचन लगत्तै पनि देउवा लगायतले अधिनायकवाद आइहाल्यो जस्तै गरेर हल्ला गरे । त्यसलाई पनि मानिसले खासै पत्याएनन् । तर डा. केसीको अनसनले काग्रेस राहत महसुस भएको छ ।

डा. केसीको अनसनले पुलकित कांग्रेस
नेपाली कांग्रेसका लागि सरकारका निर्णय र कार्यले त्यति आलोचना व्यहोर्नु परेको थिएन । जति डा. केसीको अनसनमा आलोचना खेप्नु परेको छ । पार्टी एकताको समयमा ओली र प्रचण्डलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईले सार्सी चामलको भात खुवाएको बिषय एकाएक चर्चित भयो । कांग्रेसका कार्यकर्ताले ओली सरकारलाई उँडाउन मार्सी अभियान चलाए । यसबाट कांग्रेसीजनले भरपुर फाइदा उठाए ।
डा. केसी कर्णालीको जुम्लामा २० दिनदेखि अनसनरत छन् । केसीको यो १५ औँ अनसन हो । उनको अनसनले देश तातेको छ । मिडिया, नागरिक समाज, मेडिकल क्षेत्र विभाजित छ । नागरिक तहको ठुलो समर्थन डा. केसीको पक्षमा छ । डा.केसीको अनसनले सरकार अलोकप्रिय हुँदै गएको छ । मेडिकल माफियालाई सरकारले संरक्षण गरेको आरोप लागेको छ ।
सरकार डा. केसकिा अघि निरिह जस्तै बनेको छ । डा. केसीको अनसन कांग्रेसका लागि संजिवनी बूटी सावित भएको छ । आफैँ भित्र चरम गुटबन्दीमा फसेर निराश भएको कांग्रेसमा एकाएक रक्त संचार भएको छ । सरकार अलोकप्रिय भएकोमा कांग्रेसका नेतादेखि कार्यकर्तासम्म उत्साहित छन् । उनीहरुले यहि बेला कांग्रेसलाई बलियो बनाउनु पर्ने निस्कर्ष निकाल्न थालेका छन् ।
कांग्रेसका राजनीति मुद्दालाई नागरिकले समर्थन नगरेका बेला नागरिकले समर्थन गरेको मुद्दा डा. गोविन्द केसीको अनसन कांग्रेसले बोकेको छ । सरकार विरुद्ध जनमत सिर्जना गर्न कांग्रेसलाई केसीको अनसन मसला बनेको हो । कांग्रेसले सरकार ढाल्न नसकेपनि केसी प्रकरणमा जनताको ध्यान खिच्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्