गेटमा लफडा र अनेक उकुर्जी झिकेर प्रचण्ड निवास छिरेका माइला बालाई सहयोगीले भित्र लगे । सहयोगीले भने- खबर भएको छ, एकछिन समय लाग्छ, यहाँ बस्तै गरौँँ, भनेर सोफा तिर संकेत गरे । गाउँकै जस्तो होला भन्ठानेर बुढा सोफामा बसेका थिए, सोफा गिलगिल भएर ङ्याँच्याक्क थेचारिए ।
समालिँदै माइला बाले सोफामा बसेर यसो दायाँ, बायाँ, भुँइ भित्तो नियाले । भुँइमा मार्वल ठोकेको, टेवल, कुर्सी, किताब राखेको सोकेस सबै नियाले । उनले जिन्दगीमै त्यस्तो सोफा देखेकै थिएनन्, त्यति नरम र गिलो सोफामा उनी पहिलो पटक बसे थिए । सबै देखेर बुढा दंगदास थिए ।
प्रचण्डलाई के भन्ने, के नभन्ने, चिन्ने हुन् कि होइनन् ? यस्तै यस्तै अनेक कुरा मनमा हुँडलेर बसेका बुढाले प्रचण्डलाई सुट लगाएर माथिल्लो तलाबाट झर्दै गरेको देखे । देख्ने बित्तिकै माइला बाले जुरुक्क उठेर मुड्की कसेर प्रचण्ड कामरेड सलाम भने । बुढाले कमरेड नभनेर गाउँले भाकामा कामरेड दिए । प्रचण्डले पनि बुढाको जस्तो जोसिलो नभए नि मुठ्ठी कसेरै सलाम भने ।
प्रचण्डले बसौँ भनेर संकेत गरे । माइला बाले सोधे, कामरेड मलाई चिन्नु भो ? प्रचण्डले भने, हत् के कुरा गर्नु भा हो, मालदाई होइन भन्या ! माइला बाले पनि, हो त, जे होस् बिर्सिनु भको रैनछ भने । प्रचण्डले कसरी बिर्सनु त्यत्रो सिलिगुडी वार्ताको चाँजोपाँजो मिलाउने मान्छे तपाई, मलाई सिलिगुडीमा बासको व्यवस्थापन गर्ने मान्छे तपाईं होइन भन्या ! ७ सालमा पुष्पलाल जीहरुसँग क्रान्तिमा लाग्नु भो, २८ सालको झापा बिद्रोहमा लाग्नु भो, जनयुद्धमा लाग्नु भा यत्रो क्रान्किारी योद्धालाई बिर्सन्छु । बरु मालदाईले पो बिर्सनु भए जस्तो छ ।
प्रचण्डको प्रसंशाले पुलकित भएका माइला बाको अनुहारमा कान्ति छायो । प्रचण्डले भन्दै गए, तपाईले क्रान्तिमा साथ दिनु भयो, तर उपलब्धीको रक्षा गर्ने बेलामा कहिले वैद्य त, कहिले डाक्टर तिर लागेर अल्मलिनु भो, अब यता उति गर्ने होइन, तपाईं अलमलिएर भेट हुन यतिका वर्ष लाग्यो !
अघिसम्म फुरुङ् परेका माइला बा, वैद्य र डाक्टरका कुराले केही मलिन देखिए । तैपनि उनले मुख खोल्दैै भने, हैन हैन म प्रचण्ड कामरेड भन्दा टाढा छैन । प्रचण्डले पनि ठिक छ माल्दार्इं, सँगै बसौँ क्रान्तिको बाँकी कार्यभार पूरा गर्नु छ, देशमा समाजवाद ल्याउनु छ, जनताका धेरै आशा मिलेरै पूरा गर्नु पर्छ ।
प्रचण्डको कुरा सुनेर एकछिन चुप लागेका माइला बाले प्रचण्डलाई भने, हैन यही तालले समाजवाद आउँछ ? कमनिष्ट सरकारको ताल यस्तै हो ? बुढा कम्युनिष्ट नभनेर गाउँले भाषामा कमनिष्ट भन्छन् ।
मालदाई तपाईंले भनेको नि ठिकै हो, यस्तै तालले न समाजवाद आउँछ, न क्रान्ति पूरा हुन्छ । तर, के गर्ने अहिले मैले यसै गर्ने भन्ने अवस्थामा छैन, परिस्थिति त्यति अनुकल छैन, म बोली हाल्ने अवस्थमा पनि छैन, नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार भने जस्तै भाको छ, के गर्ने, खै के नमिले के नमिले जस्तो भा छ ।
अघिसम्म क्रान्ति र समाजवादको कुरा गर्ने प्रचण्ड बाइला बाका प्रश्नमा निराशा व्यक्त गरे । माइला बाले फेरि भने- मलाई सँगै बसौँ त भन्नुहुन्छ कामरेड तर पार्टी एकताको ताल हेर्दा अब कमनिष्ट पार्टी नै बन्ला त ? हैन बस्न, बनाउनु पर्छ, सबै मिलेर बलियो पार्टी बनाउन कोसिश गर्ने हो, सकिएन भने के नै गर्नु र !
प्रचण्ड निराश हुँदै गए पछि माइला बा जोसिएर प्रचण्डलाई प्रश्न गर्न थाले । उनले यस्तो हुन्छ कमनिष्ट सरकार ? काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर भने जस्तै भा छ सरकारको ताल । समाजवाद ल्याउँ छु भन्या छ, कुराले समाजवाद आउँछ ? दुईटा पार्टी मिलेर के गर्नु ! सरकारको यही ताल हो भने, अर्को चुनाउमा तपईंहरु सोत्तर हुन बेर छैन । बुढाको आफ्नै शैली छ, चुनाव भन्दैनन् चुनाउ भन्छन् । बुढाका अनुहारमा चिन्ता र आक्रोश दुबै मिसिएको छ ।
प्रचण्डले माइला बाको जवाफ दिँदै भने-सरकारको ताल त मलाई पनि चित्त बुझेको छैन, तर मलाई चित्त बुझेन भन्ने अवस्था छैन, परिस्थिति बढो जटिल छ माल्दाई, के गर्ने के नगर्ने, के भन्ने के नभन्ने, कसलाई भन्ने ? खै के खै के भने जस्तै भा छ ।
प्रचण्डको कुरा सुनेर बुढा तातिँदै भने-हैन, तपईं पार्टी अदक्षे होइन ? बा को ल्याङ्गोइज पनि आफ्नै छ, अध्यक्ष नभनेर अदक्षे भन्छन् । हो नि पार्टी अध्यक्ष त, प्रचण्डले भने । तर के गर्ने अहिले नै अध्यक्षको पावर सो गर्ने बेला भा छैन ! मन परे नि नपरे नि सरकार ठिकै छ, राम्रै छ, सरकारले केही गर्छ भनेर जनतामा आश जगाउनै पर्या छ ।
राणा, पंचायत विरुद्ध लडियो, जनयुद्धमा गणतन्त्र भनियो, धर्म निरपेक्ष भनियो अहिले आएर धर्म प्रचारक बन्ने ? त्यो पनि ख्रिश्चियन धर्मको ? सरकार बनेसी माक्र्सवादको प्रचार गर्लान्, माक्र्सवादका स्कुल, क्याम्पस खोल्लान्, समाजवाद पढाउलान् भनेको त आफैँ पो धर्म प्रचारक भए । कमनिष्ट बिग्रे पछि नराम्ररी बिग्रन्छन् भन्थे हो कि क्या हो !
प्रचण्डले बचाउ गर्दै भने-मालदाईले भने जस्तो सबै कुरा सकियो भन्ने त होइन, तर चिज चाहिँ बिग्रने दिशातिर गएकै हो । ओलीजीले पनि गर्न नचाहेको पक्कै होइन होला, अलि अलि विदेशीले खेल्या छन्, मिडियालाई उछालेका छन् । अहिलेको वास्तविकता यस्तै यस्तै हो ।
माइला बाले प्रचण्डलाई भने-हैन तपईं त अदक्षे हो नि ! खड्ग ओलीलाई सम्झाउनु पर्यो । ओली भन्दा भण्डै दुई दशक जेठा माइला बा कहिल्यै केपी ओली भन्दैनन् । २८-२९ सालको झापा बिद्रोह पछि सँगै जेल बस्दा खड्ग ओली भन्ने बानी परेका माइला बा ।
माइला बाले प्रचण्डलाई प्रभानमन्त्रीलाई सरकार राम्रो चलान सल्लाह दिनु भने । तर, प्रचण्डले नै माइला बालाई भने-तपाईं त ओली जीसँग जेल, नेल भोगेको, पछि सँगै भूमिगत भएको मान्छे हो, एक पटक राम्रैरी सम्झाउनु भए हुन्थ्यो, तपाईंको कुरा पनि सुन्नु हुन्थ्यो कि ! म त भर्खर संगत गर्दैछु । अहिले नै धेरै सम्झाउन थाल्दा शंका उपशंका हुने, चिज अलिक बिग्रेला कि भनेर खुलेर सम्झाउन पनि सकिरा छुइनँ । यसमा मालदाईले नै भूमिका खेल्नु पर्यो । प्रचण्डको करा सुनेर माइला बा निकै फुरुङ भए । उनले भने-ल एक पटक भेट्ने चाँजो मिलाउनु पर्यो, अस्ति यहाँ आउन कम्ता सकस परेन । पुलिसले गेटमा आउन छेके, अनेक तालतिकड्म लाएर भित्र छिर्नु पर्यो ।
बुढाको कुरो सुनेर प्रचण्डले भने-होइन मालदाई केही समस्या हुँदैन, म भेट गर्ने प्रबन्ध मिलाउँला, बरु तपाईँ कहिले जाने हो ? माइला बा पनि फुरुङ भएर भोलि नै जाने भन्छन् । ल ठिक छ ओलीजीलाई भेट्नुस् अनि फेरि कुरा गरौँला, प्रचण्डले कुराको वीट मार्दै भने ।
माइला बाले पनि हुन्छ हुन्छ भन्दै बिदा माग्ने तरखर गर्दै भने(त्यसो भा अहिले म जान्छु । ल त हुन्छ भन्दै प्रचण्डले माइला बासँग कसिलो हाल मिलाए । प्रचण्ड माथिल्लो तलामा उक्लिए, माइला बा प्रधानमन्त्री केपी ओली निवास बालुवाटार जान प्रचण्ड निवासबाट बाहिरिए ।
यो पनि पढ्नुहोस्ः