काठमाडौँ, ९ चैत । अमेरिकामा ग्रिनकार्ड बनाएर बसोबास गरिरहेका ६ जना भुटानी शरणार्थीहरू पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
केही भुटानी शरणार्थी समुदायका नेता र निर्वाचित अधिकारीहरूले पनि भुटानी शरणार्थी पक्राउ परेका पुष्टि गरेका छन्।
उनीहरूका अनुसार मार्चको पहिलो दुई हप्तामा पेन्सिलभेनियामा बसोबास गर्ने छ जना भुटानी ग्रिनकार्ड ‘होल्डर’हरू पक्राउ परेका हुन्।
डाउफिन काउन्टीबाट पाँच पुरुष र अर्का एक जना कम्बरल्याण्ड काउन्टीबाट पक्राउ परेका बताइएको छ। उनीहरूका परिवारका सदस्यहरूले उनीहरूलाई ‘आइसीई’ नियन्त्रणमा लिएको हो। तर केका लागि पक्राउ गरिएको हो भन्ने खुलाइएको छैन।
डाउफिन काउन्टीका आयुक्त जस्टिन डगलसले परिवार र अन्य निर्वाचित अधिकारीहरूसँग उनीहरूका विषयमा जानकारी लिने काम भइरहेको बताएका छन्।
प्राप्त विवरणहरू पक्राउ परेका केही पुरुष भने आपराधिक घटनामा संलग्न रहेका आशंका गरिएको छ।
आइसीईका एजेन्टहरूले भुटानी शरणार्थी अशोक गुरुङलाई मार्च ९ मा उनको ह्यारिसबर्ग घरबाट पक्राउ गरेका हुन्। अशोक गुरुङले यस अघि पनि जर्जियामा तीन वर्ष जेल सजाय भोगेका थिए।
पक्राउ परेका अन्य दुई जना पुरुषहरूमाथि सार्वजनिक रूपमा मादक पदार्थ सेवन गरेको आरोप फेला पारेको छ भने अर्का एक जनालाई टेक्सासको हिरासत केन्द्रमा स्थानान्तरण गरिएको समाचारहरूमा जनाइएको छ।
पक्राउ परेकाहरूका आफन्तले उनीहरूलाई अमेरिकी सरकारले भुटाननै फर्काइदेला भन्ने चिन्ता परेको बताएका छन्।