काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू पक्राउ पर्न तयार रहेको बताउनुभएको छ ।
आज फेसबुक लाइभ गर्नुहुँदै लामिछानेले आफूलाई दशैमा सुनसानको मौका छोपेर पक्राउ गर्न सकिनेमा आशंका व्यक्त गर्नुहुँदै आफू तयारी अवस्थामा रहेको बताउनु भएको हो ।
आफूलाई छलछाम गरेर पक्राउ गर्न खोजिए त्यो भने स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’
उहाँले छानबिन समितिले गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा गरेको कारवाही सिफारिस आफूलाई मान्य भएको बताउनुहँदै समितिले सहकारी ठगीबाट भने आफूलाई सफाइ दिएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।’