पोखरा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्न पहल गर्ने जनाएका छन् । जिल्ला अदालत कास्कीमा आरोपीलाई कुरा राख्ने समय दिएपछि अदालतको इजालासमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, विगतमा गृहमन्त्री हुँदा पनि मैले कुनै शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन,’ न्यायाधीश समक्ष लामिछानेले प्रतिबद्धता जनाएका हुन् ।
लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाई अदालत लगिएको थियो । उनीहरूको थुनछेकदेखि जवाफी बहस सबै सकिएकाले मुद्दामा आजै आदेश आउने सम्भावना देखिएपछि सबै ७ आरोपीलाई जिल्ला अदालत कास्की लगिएको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बयान हिजो साँझ सकिएको थियो । बिहीबार सबै आरोपीलाई कुरा राख्न समय दिइएको थियो ।