काठमाडौं, १२ असोज । विरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिको सामना तथा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवं संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन भएका छन् ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा भएको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्ट’को बैठकले वर्षाबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्ने तथा उद्धार एवं राहतलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।
गृहमन्त्री लेखकले अवरुद्ध सडक यथाशीघ्र खुलाउनेतर्फ विशेष ध्यान दिन निर्देशन दिनुभयो । “विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएका छन्”, उहाँले भन्नुभयो ।
काठमाडौँ उपत्यकामा आज नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले सात सय ५० जनाभन्दा बढीको उद्धार गरेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।
उहाँले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरु बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज् बनउने काम भइरहेको बताउनु भयो ।
उहाँले सबै नागरिकले शतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गर्नुभयो । उहाँले उद्धार, राहत र घाईतेको उपचारमा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले पुनःस्थापित र पुनः निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो ।
उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरु बगेको भन्दै हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको जानकारी गराउनु भयो । उहाँले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताउनु भयो