Logo

ओली सरकार पूरै असफल भएको शेखरको दाबी, गभर्नर नियुक्ती ढिलाईबारे उठाए प्रश्न



नवलपुर , २० वैशाख । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेता तथा सांसद डा. शेखर कोइरालाले कांग्रेससम्मिलित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दाबी गर्नुभएको छ ।

सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको र भ्रष्टाचार पनि नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उहाले सरकार असफल भएको बताउनुभएको हो । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज (शनिबार) कावासोतीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाले यस्तोदाबी गर्नुभएको हो ।

कोइरालाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदै गर्दा गरिएको ७ बुँदे सहमतिपनि कार्यान्वयन नभएकोमा प्रश्न उठाउनुभयो । उहाले भन्नुभयो,‘दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्दा संविधान संशोधन, सुशासन, भ्रष्टाचारमुक्त लगायतका ७ बुँदे सहमति गरिएको थियो । त्यसमा सरकार पूरै असफल भएको छ ।’

उहाले सरकारलाई सही दिशामा डोर्याउने जिम्मा प्रधानमन्त्री भएको नाताले एमालेले लिनुपर्नेमा जोड दिनुभयो । उहाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्न ढिलाई भएको विषयलाई लिएर यस्तो पाराले सरकारले सुशासन दिन नसक्ने भन्दै प्रश्न उठाउनु भएको छ । सो क्रममा उहाले कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्ने र सार्न नहुने मत राख्नुभयो । पछिल्लो समय नेता कोइरालाले सरकारको आलोचना गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्