काठमाडौं १६ भदौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
२३ साउन देखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगित भएको थियो । शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति जटाएको थियो ।
दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै आजै सकिने नेताहरूले जनाएका छन् । थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्ताव उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ ।
यस्तै, अर्का महामन्त्री शर्माले पेस गरेको एक्जिट पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउनेगरी निर्णय गर्ने तयारी छ ।
१५औं महाधिवेशनको कार्यतालिका अर्को बैठकले निर्णय लिने र संविधान संशोधन मस्यौदा समिति बनाउने शीर्ष नेताहरुबीच सहमति बनेको बताएको छ । केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ ।