कैलाली, ८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ सबै केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीमा शुक्रबार आयोजित आमसभामा अध्यक्ष लिङ्देनले देश बनाउने अभियानमा सबै लाग्नुपर्ने भन्दै नेपाल कृषिप्रधान मुलुक भएकाले कृषिमा आधुनिकीकरण गरी आर्थिक समृद्धि हासिल गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
विकासका थुप्रै सम्भावना हुँदाहुँदै देशको विकास हुन नसकेको बताउँदै अध्यक्ष लिङ्देनले बिजुली बिक्री गरेर आम्दानी गर्न सकिने बताउनुभयो। विकसित हुँदै गरेको सूचना प्रविधिको अधिकतम प्रयोग गरी कृषि, उद्योग, वाणिज्यलगायत क्षेत्रमा फड्को मार्न सकिने उहाको धारणा थियो ।
पर्यटकीय गन्तव्यको प्रवर्द्धन गदै पर्यटनका माध्यमबाट मुलुकको विकास गर्न सकिने अध्यक्ष लिङ्देनले बताउनुभयो । उहाले भन्नुभयो, ‘नेपाल बौद्ध र हिन्दू धर्मको उद्गमथलो भएकाले धार्मिक पर्यटनका माध्यमबाट यहाँको विकास गर्न, नागरिकको जीवनस्तर उकास्न सकिन्छ । यसका लागि नीति र योजना आवश्यक पर्छ ।’