काठमाडौं, ८ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग फेस गर्न नसकेको प्रतिक्रिया दिनुभएको छ ।
साम्पाङ मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार पुग्नुभएको थियो । उहाले खानेपानी मन्त्री र अर्थमन्त्रीलाई भेटेर धरानको पानीको समस्या र बजेट सुनिश्चितता गर्न आग्रह गर्नुभएको थियो।
लगत्तै प्रधानमन्त्री ओलीलाई भेटेर पत्र बुझाउन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्नुभएको थियो ।
तर, उहाले प्रधानमन्त्रीसँग भेट्न पाउनुभएन । प्रधानमन्त्रीसँग भेट्न नपाएका साम्पाङले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई ।’
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार साम्पाङसँग आज भेटघाटको कार्यक्रम नै तय भएको थिएन ।
खानेपानीको समस्या सुनाउन भन्दै उहा सोमबार रित्तो गाग्रो बोकेर काठमाडौँ आउनुभएको थियो । मंगलबार सिंहदरवारमा पनि उहा रित्तो गाग्रोसहित पुग्नुभएको थियो । यद्यपि प्रहरीले गाग्रो खोसेको थियो ।