काठमाडौं, १५ असोज । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार बुधबार कोशी र वाग्मती प्रदेशका एकरदुई स्थानमा पुनः भारी वर्षा हुने सम्भावना रहेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेपछि बौरिँदै गरेको वाग्मती र कोशी प्रदेशमा बुधबार पुनः भारी वर्षाको सम्भावना देखिएको हो ।
मौसम पूर्वानुमान महाशाखाले कोशी र वाग्मतीको कुन स्थानमा भारी वर्षा हुन सक्छ भन्नेबारे भने आफ्नो तीनदिने मौसम बुलेटिनमा केही खुलाएको छैन । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार गजुरेलले बुधबार दिउँसो र राति कोशी र वाग्मतीका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बताउनुभयो ।
‘मंगलबार पनि मौसममा आंशिक मात्रै बदली रहने देखिन्छ । बुधबार देशभर आंशिक बदली भए पनि कोशी र वाग्मतीका केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ,’ उहाले भन्नुभयो । गजुरेलका अनुसार अहिले पनि नेपालमा स्थानीय मनसुनी वायुको प्रभाव कायम रहेको छ भने भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । जसकारण मंगलबार साधारणदेखि आंशिक बदली भई मुख्यतः मौसम सफा रहने तर केही ठाउँहरूमा भने हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।
बुधबार भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतः मौसम सफा रहनेछ भने कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, कोशी र वाग्मतीका केही स्थानमा भने भारी वर्षा हुन सक्ने देखिन्छ । विभागले हरेक दिन बिहान र बेलुका तीन दिनसम्म मौसम पूर्वानुमान गर्ने गरेको छ ।
‘