काठमाण्डौ, ३ फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक नियुक्त गर्न आवेदन खुलाएको छ। क्यानले शनिबार एक सूचना जारी गर्दै योग्य प्रशिक्षकहरूलाई आवेदन दिन आह्वान गरेको हो।
मुख्य प्रशिक्षकले नेपालको राष्ट्रिय क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन तथा स्थिर प्रदर्शन हासिल गराउन रणनीतिक तथा प्रगतिशील प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ।
मुख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट संघले निश्चित योग्यता तोकेको छ। यसअनुसार आवेदन दिन चाहने व्यक्तिसँग ईसिबि वा सिए लेभल ३ वा सोभन्दा माथिको मान्यता प्राप्त प्रमाणपत्र हुनुपर्नेछ। साथै, व्यावसायिक क्रिकेटमा कम्तीमा पाँच वर्षको प्रशिक्षक अनुभव आवश्यक हुनेछ। उक्त अनुभव अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइ.सी.सी.) पूर्ण सदस्य, प्रथम श्रेणी टिम वा आइ.सी.सी. एसोसिएट सदस्य राष्ट्रको टिमसँगको हुनुपर्ने छ।
प्रशिक्षकलाई नेपालको क्रिकेट संस्कृति, एक दिवसीय खेलको चक्र तथा एसोसिएट सदस्य राष्ट्रहरूको विकास संरचनाको राम्रो ज्ञान र बुझाइ आवश्यक हुनेछ। प्रशिक्षकले टिमको प्रशिक्षण व्यवस्थापनसँगै खेलाडीहरूको दीर्घकालीन प्रतिभा पहिचान गर्ने तथा विकास योजनामा संलग्न हुनुपर्नेछ।
इच्छुक उम्मेदवारहरूले फेब्रुअरी २८, २०२५ भित्र आवेदन दिन सक्नेछन्।